March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
सल्यानका पि एन साइँलालाई हिमालय लोकस्टारको पहिलो गोल्डेन स्टार

सल्यानका पि एन साइँलालाई हिमालय लोकस्टारको पहिलो गोल्डेन स्टार

काठमाडौं । लोकगायनमा आधारित टेलिभिजन रियालिटी शो हिमालय लोकस्टारको प्रसारण सुरु भएको छ । मंगलबार बेलुका प्रसारण भएको शोको पहिलो एपिसोड रोचक र मर्मस्पर्शी रह्यो ।

अडिसन राउण्डको पहिलो एपिसोडमै प्रतिस्पर्धी पीएन साइँलाले गोल्डेन स्टार अवार्ड जिते । यससँगै उनी अन्तिम २० मा प्रवेश गरेका छन् । सारंगी सहित स्टेजमा उत्रिएका साइँलाले मर्मस्पर्शी लोकगायन प्रस्तुत गरे । उनको यो गायकीमा तीनै जजको आँखा समेत रसाए ।

ज्योति मगरले त टाइटल ट्रफीको हकदार भएको बताउँदै साइँलालाई अंगालो हालिन् र गोल्डेन स्टार ट्रफी हस्तान्तरण गरिन् । ‘हिमालय लोकस्टारलाई चाहिने तपाईं नै हो । तपाईं टाइटल ट्रफीको हकदार हुनुहुन्छ,’ ज्योतिले भनिन् ।
ट्रफी जितेपछि खुसीका आँसु झार्दै साइँलाले यो उपाधिलाई सदुपयोग गर्ने बताए । एक वर्षअघि पत्नी बितेपछि साइँलाले काठमाडौंमा दुई बालबच्चालाई स्याहार्दै आएका छन् ।

‘यो अवार्ड हेर्ने मान्छे आज छैन । यो उपाधिलाई सदुपयोग गर्नेछु,’ उनले भने । कार्यक्रम सञ्चालिका तथा पूर्वमिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ र जज मगरले पनि साइँलालाई जितको शुभकामना दिए ।

२०६० सालमा जनवादी कलाकार भएर प्रतिरोध र सामना सांस्कृतिक परिवारमा काम गरेका साइँला जनयुद्धमा समेत होमिएका थिए । सल्यानको कुमाख गाउँपालिका वडा नं। ३ त्रिवेणीमा जन्मिएका उनले जनवादी संगीतदेखि अहिलेसम्मको यात्रालाई दर्शकमाझ प्रस्तुत गरे ।

अडिसन राउण्डको पहिलो एपिसोडमा एक दर्जन प्रतिस्पर्धीले अडिसन दिए । अडिसन राउण्डमा मात्र ८० जनाले प्रतिस्पर्धा गर्दैछन् ।
लोकस्टारलाई फिल्म निर्देशक समेत रहेका सिमोस सुनुवारले निर्देशन गर्दैछन् । यो रियालिटी शो हिमालय टेलिभिजनमा प्रत्येक मंगलबार र बुधबार राति ८ बजे प्रसारण हुने गर्छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज