विमानस्थलमा बम राखेको छु भन्दै फोन गर्ने व्यक्ति को हुन् ?
बैशाख २१, काठमाडौँ ।
वुधबार बिहान ९ः४० बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट फोन आयो ।
विमानस्थलको अफिसको एक्सचेन्ज नम्बरमा दुई पटक फोन आयो । टर्मिनल ड्युटी अफिसरले फोन उठाए । फोन उठाउने विक्तिकै ‘सलाम वालेकुम । तपाईंको डोमेस्टिक टर्मिनल क्षेत्रको सात ठाउँमा बम राखिएको छ । दुई घण्टाभित्र विस्फोट हुन्छ ।’
पुनः केही समयपछि फोन आयो । यसपटक पनि विमनस्थलको टर्मिनलमा ७ ठाउँ बम राखेको र २ घण्टामा विस्फोट हुने सूचना दिइयो ।
आन्तरिक उडानतर्फका ड्युटी अफिसरले तत्कालै नागरिक उड्डयन प्राधिकरणको कार्यालयका अधिकारीलाई जानकारी गराए । त्यसपछि तुरुन्तै तीन सुरक्षा निकायको समन्वयमा सम्पूर्ण यात्रुहरुलाई बाहिर निकालियो र सर्च अपरेसन चलाइयो ।
विदेशकै नम्बरबाट आएको फोनमा बोल्ने व्यक्ति भने नेपाली बोलेका विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।
उनका अनुसार डोमेस्टिक टर्मिनलको सम्पूर्ण क्षेत्रमा सर्च अप्रेशन चलाइयो ।
कहीँ कतै पनि बम वा कुनै शंकास्पद वस्तु फेला नपरेको पुष्टि भएको विमानस्थलले जानकारी गराएपछि उडान सुरु हुन थाल्यो ।
करिब एक घण्टा निकै तनावपूर्ण स्थिति रहेको विमानस्थलका नियमित उडानहरु त्यसपछि सुरु भए ।
विमानस्थल सुरक्षा प्रहरी प्रमुख एसएसपी भीम ढकालले थ्रेटकलबारे अनुसन्धान थालिएको बताए । फोन आएकोबारे र गर्ने मान्छेबारे अनुसन्धान गरिरहेको ढकालले बताए ।
‘बम थ्रेट आएपछि यसलाई मजाकको रूपमा नलिई साच्चिकै बम नै राखिएको हो भनेर हामीले त्यहीअनुसार काम गर्छौ,’ प्रवक्ता सिटौलाले भने, ‘किनकि त्यो थ्रेट साँच्चै हो कि झुटा हो भन्ने कुरा त हामीलाई थाहा हुँदैन । त्यसैले हामीले साँच्चै नै बमै हो भनेर काम गर्नुपर्छ ।’
लेखकको सम्वन्धमा