February 22, 2024, Thursday
२०८० फाल्गुन १०, बिहीबार
दुई पटक म्याद थप्दा पनि बनेन शारदा नदीको पुल: पाँच  बर्षको अवधिमा ६० प्रतिशत  काम

दुई पटक म्याद थप्दा पनि बनेन शारदा नदीको पुल: पाँच बर्षको अवधिमा ६० प्रतिशत काम

९ चैत ,सल्यान ।

सल्यानको छत्रेस्वरी गाउँपालिकाको वडा नं ६ र ७ जोड्नलाई शारदा नदीमा निर्माण गर्न थालिएको पक्की पुल ५ वर्ष बित्दा समेत सम्पन्न हुन सकेको छैन ।

विभिन्न बहाना बनाउँदै ठेकेदार कम्पनीले गरेको लापरबाहीका कारण पुल बन्न नसकेको हो ।  

२०७४ असार २१ गतेदेखि सुरु भइ २०७६ असारमा सम्पन्न हुनु पर्नेमा योजना भएपनि अझै सम्पन्न हुन नसकेको हो।

एसबीए सूर्य जेभी कम्पनीले लिएको ठेक्का प्रक्रिया अनुसार ६० प्रतिशत मात्र काम भएको थियो।

  कम्पनीले अहिलेसम्म शारदाको वारिपारि दुई र बीचमा एक गरी तीन वटा पिल्लर मात्र ठड्याएको छ । पुलको काम समयमै सम्पन्न हुन नसक्दा छत्रेस्वरी गाउँपालिका वडा नं. ४, ६ र रोल्पाका स्थानीयले सास्ती भोग्दै आएका छन ।

अहिलेसम्म जम्मा ६० प्रतिशत काम गरेको पुलको लम्बाई ७० मिटर हुने इन्जिनियर रिकेस महर्जनले बताए।

उनका अनुसार ६ करोड ८० लाख ७२ हजार रुपैयाँमा ठेक्का दिइएको थियो । ‘पछिल्लो म्याद थपमा पुसको पहिलो साता पहिलो स्पानको ढलान सम्पन्न गरिसक्नु पर्ने थियो’ उनले भने ‘अहिले बल्ल ढलानको लागि सरिया बिछ्याउन थालिएको छ ।’ पहिलाको ठेकेदार कम्पनीले काम नगरे पनि अहिले पेटीमा सेरम निर्माण सेवाले काम गरिरहेको र ढिलासुस्ती गरेकै कारण ताकेता गरिरहेको उनको भनाइ छ ।

शारदा नदी र लंकिनी खोलामा सँगै पुल निर्माणको काम छुट्टाछुट्टै ठेकेदार कम्पनीले थालेका थिए । लंकिनी खोलामा दुई वर्षदेखि नै गाडी गुड्न थालिसके पनि शारदाको पुल अहिलेसम्म बन्न नसकेको छत्रेस्वरी गाउँपालिका वडा नं ६ का अध्यक्ष चुडामनी दसौदीले बताए ।

सडक डिभिजन कार्यालय दाङले ताकेता गरे पनि अहिले समेत काम कछुवा गतिमा छ । उनका अनुसार पक्की पुल बन्न नसक्दा छत्रेस्वरी गाउँपालिका ४ झिम्पे, दारिमज्युला लगायतका बस्ती राप्ती राजमार्गसँग सिधै जोडिन सकेको छैन ।

राजमार्गमा जोडिन हाल पुरानो कच्ची सडक भएर दुई सय मिटर दूरी पार गरी शंखमुल पुग्नु पर्छ । पुल निर्माणमा ठेकेदार कम्पनीले गरेको लापरबाहीका कारण छत्रेस्वरी गाउँपालिका ४ झिम्पेका स्थानीयलाई वर्षातको समयमा सास्ती हुने गरेको छ ।

पक्की पुल निर्माण गर्दा शारदा नदीमा गरिएको दोहनका कारण कुलो पुरिदा सिचाइ समेतमा समस्या भएको स्थानीयको भनाइ छ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज