May 16, 2025, Friday
२०८२ जेष्ठ ४, शनिबार
परिक्षा बोर्डको लापरबाही : कक्षा १२ को प्रश्नपत्र र उत्तर कुञ्जिकामा त्रुटि नै त्रुटि

परिक्षा बोर्डको लापरबाही : कक्षा १२ को प्रश्नपत्र र उत्तर कुञ्जिकामा त्रुटि नै त्रुटि

मंसिर १८, सल्यान । यसबर्ष परिक्षा बोर्डले बनाएको कक्षा १२ को विज्ञान शिक्षण (९०४) को प्रश्न पत्र र उत्तर कुञ्जिकामा त्रुटि भएको पाईएको छ । बोर्डले बनाएको कक्षा १२ को शैक्षिक विज्ञानको प्रश्नपत्र र प्रश्नपत्र जाँच्ने उत्तरकुञ्जिका विच बिरोधाभाष देखिएको हो ।

बोर्डले तयार गरेको कक्षा १२ को विज्ञान शिक्षण (९०४) को प्रश्नपत्रको प्रश्न नं ३ मा (४ अंक भार दिएर) साधारण यन्त्रको शिक्षण सम्बन्धी प्रश्न रहेको तर उत्तर कुञ्जिकामा अम्लको बारेमा लेखेमा यति … नम्बर दिनु भनिएको छ ।

प्रश्नपत्रमा सोधिएको छ – ‘साधारण यन्त्रलाई परिभाषित गर्नुहोस । यसको धारणा शिक्षण गर्न कुन विधि बढि उपयोगी हुन्छ ? कारण दिनुहोस ।’ तर उक्त प्रश्नको बारेमा उत्तर कुञ्जिकामा – ‘ पानीको घोलमा हाईड्रोजन आयोन दिने पदार्थलाई अम्ल भनिन्छ भनि लेखेमा ०.५ अंक, टर्राे स्वाद भएका धातुका अक्साईडहरुलाई क्षार भनिन्छ भनि लेखेमा ०.५ अंक र कक्षा ८ मा अंल र क्षार शिक्षण गर्नको लागी कुनै उपयुक्त ३ क्रियाकलापहरु लेखेमा ३ अंक ।’ दिनु भनेर कुल ४ अंकको भार दिईएको छ ।

त्यस्तै प्रश्नपत्रको ४ नम्बरमा विद्यार्थीहरुलाई निरन्तर विद्यार्थी मुल्याङकन बारे प्रश्न सोधिएको छ तर उत्तर कुञ्जिकामा ब्यबहारिक उदेश्य, बिरुवा र जनावरको बर्गिकरण सम्बन्धी उत्तर लेखेमा भनेर निर्देशन गरिएको छ ।

प्रश्नमा भनिएकोछ – ‘निरन्तर विद्यार्थी मुल्याङ्कन भन्नाले के बुझ्नु हुन्छ ? कक्षा शिक्षणमा यस्को महत्व के छ ? कुनै दुई महत्वहरु लेख्नुहोस ।’ तर उत्तर कुञ्जिकामा भनिएको छ – ‘व्यबहारिक उदेश्य भन्नाले कुनै कक्षामा अध्ययन पश्चात विद्यार्थीले उक्त क्रियाकलाप बाट के कति उपलब्धि हाँसिल गर्न सक्छन भनि किटानीका साथ व्यवहारिकरुपमा लेखिएको उदेश्यहरु भनी लेखेमा– १ अंक, विरुवा र जनावरको वर्गिकरण भन्ने पाठसँग सम्बन्धीत कुनै ३ वटा व्यावहारिक उदेश्य लेखेमा – ३ अंक ।’

त्यस्तै प्रश्नपत्रको ५ र ६ नम्बरमा सोधिएको प्रश्न र उत्तरकुञ्जिकामा गरिएको निर्देशनमा पनि तालमेल नदेखिएको सरस्वति मावि बागचौर नगरपालिका ४ सल्यानका बिज्ञान शिक्षक दुर्गा बोहोराले बताए ।

बिगतमा बोर्ड आफैले परिक्षा लिने र उत्तर पुस्तिका जाँच्ने गरेको भएता पनि यसबर्ष नोवेल कोरोना भाइरस कोभिड–१९ का कारण परिक्षा संचालन र उत्तर पुस्तिका जाँच्ने जिम्मा सम्बन्धीत विद्यालयलाई नै प्रदान गरेको थियो भने बोर्डले प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका जाँच्नको लागी सम्बन्धीत विषय शिक्षकलाई उत्तर कुञ्जीका मार्फत मार्गनिर्देशन गरेको थियो ।

तर कक्षा १२ को विज्ञान शिक्षण (९०४) को प्रश्नपत्र र उत्तर कुञ्जिकामै बिरोधाभास देखिए पछि प्रश्नपत्र चेकगर्ने शिक्षकहरूलाई दुविधा उत्पन्न हुन सक्ने अनुमान गरिएको छ ।

कोभिड १९ का कारण कक्षा १२ को परिक्षा यो बर्ष विद्यार्थी आफुले पढेकै विद्यालयमा परीक्षा केन्द्र तोकिएको थियो भने सम्बन्धित विद्यालयको प्रधानाध्यापक परीक्षा केन्द्रको केन्द्राध्यक्ष रहने र सोहि विद्यालयको विषय शिक्षकले उत्तर पुस्तिका मुल्याङ्कन गर्ने व्यवस्था गरेको थियो ।

विश्वभर फैलिएको नोवेल कोरोना भाइरस कोभिड–१९ का कारण गत बैशाख ८ गतेदेखी हुने भनिएको कक्षा १२ को परीक्षा स्थगित भएको थियो । परिक्षा बोर्डले ‘माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) को विद्यार्थी मूल्यांकन, परीक्षा सञ्चालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणीकरणसम्बन्धी कार्यविधि, २०७७’ जारी गरेर मंसिर ९ गतेदेखि १६ गतेसम्म परिक्षा संचालन गरेको थियो ।

यो बर्ष परीक्षा बोर्डले ४० प्रतिशतको मात्रै परीक्षा सञ्चालन गरेको हो । ४० प्रतिशत अंक कक्षा ११ र २० प्रतिशत कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने बोर्डले बताएको थियो । यो बर्ष देशभरि ११ र १२ कक्षा पढाइ हुने ४ हजार १ सय ५ विद्यालयमा परीक्षा केन्द्र (होम सेन्टर) तोकिएको थियो ।