सल्यानको दार्मामा सरकारीमा मर्ज भएको भनिएको निजि स्कूल पुनः संचालनमा आयो
मंसिर १७, सल्यान । २०७७ असारमा पहिलो र दोस्रो साता सल्यान लगाएत देशभरका बिभिन्न संचारमाध्यमहरुमा सल्यानको दार्मा गाउँपालिकामा नीजि विद्यालय सरकारी विद्यालयमा मर्ज भएको भन्ने समाचारहरु प्रकाशित भए । समाचार प्रकाशन पछि गाउँपालिकाको उक्त कदमको चौतर्फी प्रशंसा भयो ।
गाउँपालिकामा सञ्चालन हुँदै आएको दोभान एकडेमी बोडिङ स्कुल २०७७ सालको शैक्षिक सत्रदेखि श्री जनज्योति माध्यमिक विद्यालय फारुलाचौरमा गाभिएको दार्मा गाउँपालिकाका शिक्षा शाखाले जनाएको थियो ।
गाउँपालिका भित्र एकै प्रकारको शिक्षा प्रदान गर्ने उद्देश्यले संस्थागतलाई सामुदायिकमा गाभिएको दोभान एकडेमी बोडिङ स्कुलका प्रिन्सीपल होताराम डाँगीले बताएका थिए । गाउँपालिका र सरोकारवालाको समन्वयमा संस्थागत विद्यालयलाई सामुदायिकमा गाभिएको बताईएको थियो।
शैक्षिक गुणस्तर वृद्धि गरी गाउँपालिकाभित्रका सबै विद्यालयमा एक रुपताका साथ शिक्षा प्रदान गराउन कार्यविधि अगाडि सारिएको गाउँपालिकाका अध्यक्ष निम बहादुर केसीले बताए थिए ।
तर नीजि स्कुल सरकारीमा मर्ज भएको समाचार प्रकाशन तथा प्रशारण भएको करिव डेढ बर्ष पुग्दा पनि निजि स्कूल सरकारी स्कूलमा मर्ज भएको छैन । गाभियो भनिएको निजि विद्यालय अहिले पनि छुटटै संचालनमा रहेको छ । विद्यालय गाभ्ने गाउँपालिकाको उक्त योजना प्रचारमा मात्रै सिमित भएको छ ।
गाउँपालिकामा रहेको दोभान एकेडेमीलाई श्री जनज्योति माध्यमिक विद्यालय फारुलाचौरमा गाभ्ने छलफल भएको तर सहमति नभएको दोभान एकेडेमीका सञ्चालक समिति सदस्य कुशल चन्दले बताए । ‘ विद्यालय मर्ज गर्ने छलफल भएको हो तर मर्ज भएको हैन ।’ एकेडेमीका सञ्चालक समिति सदस्य चन्दले भने – ‘विद्यालय मर्ज भएको भन्ने समाचार गलत हो, स्कूल अहिले पनि संचालन भैरहेको छ ।’
त्यस्तै विद्यालय सरकारीमा मर्ज गर्ने छलफल भएता पनि गाउँपालिकाले निजि विद्यालयमा भएको लगानी फिर्ता दिने सम्बन्धमा अप्ठ्यारो भएपछि विद्यालय मर्ज गर्न नसकिएको संचालन समितिका अर्का सदस्य प्रेम केसीले बताए । विद्यायल मर्ज गर्ने प्रक्रियामा फाईलहरु गृहमन्त्रालय सम्म पुगेपनि निजि विद्यायलमा भएको त्यति ठुलो लगानी कुन शिर्षकमा भुक्तानी दिने भन्नेबारे समस्या भएपछि मर्जको काम हुन नसकेको उनको भनाई छ ।
त्यस्तै निजि स्कूल संचालकहरुले लगानी पाउनु पर्ने दावि गरेको र गाउँपालिकाले त्यसरी पैसा दिन नमिल्ने भएपछि सञ्चालकहरुले पुनः निजि स्कूल संचालन गरेको दार्मा गाउँपालिकाका शिक्षा शाखा प्रमुख शेर प्रसाद ढकालले बताए ।
प्रतिकृया दिनुहोस्