May 26, 2026, Tuesday
२०८३ जेष्ठ १३, बुधबार
प्रहरीको बर्दी लगाएर सल्यानमा तरकारी व्यापारी लुट्ने रोल्पाका एक व्यक्ति पक्राउ

प्रहरीको बर्दी लगाएर सल्यानमा तरकारी व्यापारी लुट्ने रोल्पाका एक व्यक्ति पक्राउ

कार्तिक १०, सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानले तरकारी किन्न आएका व्यापारीबाट तीन लाख रुपैयाँ लुटपाट गरी फरार मध्येका एक जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीको बर्दी लगाई सोमबार कपुरकोट गाउँपालिका – १ कालापातलको जङ्गलमा गाडी रोकी कपुरकोटमा तरकारी किन्न आएका सेराज हलुवाईको तीन लाख लुटपाट भएको थियो ।

लुटपाट गरी फरार भएका मध्ये रोल्पा सुनछहरी गाउँपालिका –७ का ३० वर्षीय तिलक वि.क.लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

लुहाम र कपुरकोटबाट खटिएको प्रहरीले विकलाई रोल्पा रुन्टिगडी गाउँपालिका –८ गर्पा खोलाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए । विकलाई सल्यान जिल्ला अदालतबाट १५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको उनको भनाई रहेको छ । लुटपाटमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकायको बर्दीको दुरुपयोग गरी यस्ता विभिन्न आपराधिक क्रियाकलाप बढेकोले बर्दीको दुरुपयोग भएमा जानकारी भएमा प्रहरी कार्यालयमा सूचना दिन समेत पौडेलले बताए ।