May 23, 2025, Friday
२०८२ जेष्ठ ११, शनिबार
टुक्राटुक्रा पारेर बोरामा पोका पारेको शव फेला, घटनास्थलमा प्रहरी परिचालन

टुक्राटुक्रा पारेर बोरामा पोका पारेको शव फेला, घटनास्थलमा प्रहरी परिचालन

जेठ २५, काठमाडौँ । काठमाडौँको बौद्धस्थित टाउनप्लानिङमा एक जनाको शव फेला परेको छ। बोरामा पोको पारेको अवस्थामा शव फेला परेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए।

शव जलेको अवस्थामा रहेको छ। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता रमेश बस्नेतले जलेको अवस्थामा रहेकोले शव महिलाको हो कि पुरुषको हो भन्ने पनि खुल्न नसकेको बताए।

अहिले तालिमप्राप्त कुकुरसहित प्रहरी घटनास्थलमा छ। काठमाडौँको बौद्धस्थित टाउनप्लानिङमा बोरामा पोको पारिएको अवस्थामा फेला परेको शव अन्तै हत्या गरेर त्यहाँ फालिएको हुन सक्ने प्रहरीले जनाएको छ।

शव फेला परेको स्थानमा शरीरका केही भागहरु मात्रै पाइएका छन्। प्रहरीका अनुसार खुट्टा र घुँडाको केही भाग मात्रै जलेको अवस्थामा फेला परेका छन्।

शरीरको सिंगो अंश नभेटिएकोले अन्तै हत्या गरेर केही टुक्राहरु मात्रै यहाँ फालिएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

‘अन्तै घटना घटाएर यहाँ व्यवस्थापन गरेको जस्तो छ, बडीको सिंगो पार्टको अवशेष यहाँ देखिँदैन’, प्रहरी अधिकारीले भने।

उनका अनुसार करिब ३ हप्ता भन्दा पहिले नै हत्या भएको हुन सक्छ। पूरा अंश फेला नपरेको र भेटिएका शरीरका टुक्रा पनि जलेको अवस्थामा रहेकोले शव महिलाको हो कि पुरुषको हो भन्ने पनि खुल्न सकेको छैन।

प्रहरीले पोष्टमार्टम रिपोर्टपछि मृतकको पहिचानमा सहयोग पुग्ने विश्वास लिएको छ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज