१५० पल्सरको मुल्य घट्यो
फागुन ०२, काठमाडौं । बजाज मोटरसाइकलको सबै भेरियन्टको मूल्य बढ्दा यस पटक एउटा भेरियन्टको मूल्य घटेको छ । बजाजको आधिकारीक विक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले विक्री गर्दै आएको पल्सर १५० को मूल्य भने २ हजार रुपैयाँले घटाएको छ ।
नेपालमा विक्री हुने १५० सीसी सेग्मेन्टमा बजाज पल्सर १५० को हिस्सा करिब ५० प्रतिशत रहेको छ । यस्तोमा कम्पनीले यसको मूल्य घटाएर बजारमा आफ्नो पकड अझै बलियो बनाउन चाहेको देखिन्छ ।
‘अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि अनुसार नै यस वर्ष धेरै मूल्य बढाउनु पर्ने अवस्था आयो । यस्तोमा उत्पादक कम्पनीसँग नै पहल गरेर हामीले पल्सर १५० मा मूल्य घटाएका हौं’, कम्पनीको उच्च व्यवस्थापन स्रोतले भन्यो ।
स्रोतका अनुसार भारतबाट आयात गर्दा नै हरेक पटक मूल्य बढेर आउने समस्याका कारण नेपालमा पनि मूल्य समायोजन गर्नु परेको हो । अन्तर्राष्ट्रिय बजारमा स्टीलको मूल्य वृद्धिसँगै मोटरसाइकलको मूल्य अचाक्ली वृद्धि हुँदै आएको छ ।
यसअघि २ लाख ६५ हजार ९०० रुपैयाँमा विक्री हुँदै आएको पल्सर १५० अब नयाँ मूल्य अनुसार २ लाख ६३ हजार ९०० रुपैयाँ तोकेर विक्री वितरण सुरु भएको छ ।
यस्तो छ पल्सर १५०
सन् २००१ मा नेपाल आएको पल्सर १५० डिजाइनको कारण नै निकै चर्चामा रहन सफल भएको थियो । कम्पनीले हरेक वर्ष यसको डिजाइनमा केहि न केहि परिमार्जन गर्दै आइरहेको छ ।
विशेषत युवा लक्षित डिजाइनमा आएको पल्सर १५० मस्कुलर र स्पोर्टी लुक्सको कारण नै यसमा ग्राहकको आकर्षण बढेको हो । यसमा दिइएको स्टाइलिस हेडल्याम्प, मस्कुलर फ्यूल ट्याङ्कको कारण यसको लोकप्रियता बढ्दै गएको हो ।
यसमा रहेको सेमिडिजिटल इन्ट्रुमेन्ट कन्सोल, क्लीप अन ह्यान्डलबार, इन्जिन किल स्वीच, ट्यूवलेस टायर, डिसी हेडल्याम्प जस्ता फिचरलाई ग्राहकले धेरै रुचाएको पाइन्छ ।
पल्सरको सफलतासँग जोडिएको अर्को विषय यसमा रहेको डिटिएसआई इन्जिन हो । यसमा रहेको १४९ सीसी क्षमताको १५.१ पीएस पावर र १२.५ एनएम टर्क प्रदान गर्ने छ । यसमा ५ स्पीडको गियरबक्स दिइएको छ । कम सीसीमा धेरै पावर भएको मोडलमा पल्सर १५० पर्दै आएको छ ।
पल्सर १५० माइलेजको कारण पनि धेरैको रोजाइमा पर्दै आएको छ । यसमा रहेको डिटिएसआई टेक्नोलोजीले यसको माइलेजलाई निकै मजबुद बनाएको छ । पल्सर १५० ले ६५ किलोमिटर प्रतिलिटर माइलेज प्रदान गर्ने एआरएआईले प्रमाणित गरेको छ । स्रोत : मेरोअटो
प्रतिकृया दिनुहोस्