May 7, 2024, Tuesday
२०८१ बैशाख २५, मंगलवार
पौष महिनाका टप १० गजल

पौष महिनाका टप १० गजल

पौष २५, सल्यान । नयाँ दृष्टिमा साहित्य बिशेशमा अवदेखी हरेक महिनाको अन्तिम शनिबार महिनाका टप १० गजल प्रकाशित हुनेछन । हामी सामाजिक संजाल र अन्य विभिन्न स्रोत बाट संकलन र सम्पादन गरेर टप १० गजल प्रकाशित गर्नेछौं । प्रस्तुत छ्न – नयाँ दृष्टिका साहित्य संयोजक डिल्ली राज केसीले संकलन र सम्पादन गरेका पौष महिनाका टप १० गजल ।

१.

तिमीले भन्यौ ” तँसँग के छ ? मेरो महल छ |”
सखी, तिम्रैलागि लेखेको गीत छ, गजल छ |

म आफूलाई सम्हाल्न सक्छु तिम्रो वियोगमा,
मेरो मन कसले सम्हाल्छ ? मन पागल छ |

तिमी र बादलमा एउटै फरक छ प्रिया ,
तिमी मन बदल्छौ, बादल आकार बदल्छ |

यो हिउँद, यो सिरेटो, यी रात कसरी काट्नु?
न काखमा तिमी छौ, न साथमा कम्बल छ |

बासुपुष्प अधिकारी
डण्डा, नवलपरासी (सुस्ता पुर्व)

२.

जिन्दगी विचार गरेर हेरियो केही रहेनछ।
महोदय दार बिनाको दियो केही रहेनछ।

अहो यसरी घोच्दोरहेछ कसैको धोकाले,
काँडा केही रहेनछ सियो केही रहेनछ।

सिक्का भनियो खल्तीमा हुँदा जसलाई
खल्ती नहुँदा टीला भनियो?केही रहेनछ।

आफै भित्र पो रहेछ एक सागर खुशीको,
आखिरी बढी या कमि यो केही रहेनछ।

केही रहेनछ शंका भन्दा कमजोर चिज,
यहाँ विश्वास भन्दा बलियो केही रहेनछ।

प्रदीप रोदन
गोरखा

३.

एकमा दुई जोडे पछाडि चार भो
सायद कोही फेरि पनि बिमार भो

दरबन्दी हुनु पर्ने करार भो
जे होस् उनलाई म संग प्यार भो

फेरि चुक्यो ऊ आफ्नै कारणले
फेरि दोष पाउने उसको निधार भो

फेरि पनि त प्यास बगरको मेटिएन
फेरि पनि नदीलाई बग्न हतार भो

दु:खको घनले बर्षौं हानेपछि
जिन्दगी पनि धारिलो हतियार भो

नृपेश उप्रेती
बेलायत

४.

कहिले अंशमा कहिले हरमा खण्डित बनाई रह्यो
मनमा बस्नेले शरीर र मन बिभाजित बनाई रह्यो

म मरेर जिउँदो रहन चाहन्न मृतक घोषणा गर
शवलाइ भेन्टीलेटरले धेरैबेर जिवित बनाई रह्यो

एकथोपा पानी पनि सम्हालिएन भूईमा खसेछ
पिडालुलाइ यहीँ घटनाले चिन्तित बनाई रह्यो

तिमी त घृणा गरेर लात्तीले हिर्काएर अघि बढ्यौ
मलाइ तिम्रो स्पर्शले धेरै बेर तरङ्गित बनाई रह्यो

रगतमा क्यान्सर रहेछ भन्ने थाह पाएकै दिनदेखी
मृत्युले छेउबाटै बारम्बार भयभित बनाई रह्यो

गिता स्मृति कठायत
डोटि

५.

घर नजिकै सिन्दुर पोते चुराको हाट बजार लाग्यो
अरुलाई रमाइलो लाग्यो बिधवालाई दिक्दार लाग्यो

हिजो जस्तै लाग्छ रगतमा पौडी खेलेर जन्माएको छोरो
कति ठूलो भएछ जान्छु समेत नभनी कतार लाग्यो

यो मृत्युले जितेको जिन्दगीले हारेको समय रहेछ सखी
एउटा जलि सकेको छैन अर्को चितामा लम्पसार लाग्यो

सोच आफ्नो आफ्नो भनेको यहि होला सायद
उस्ले पासो सोचेर दिएको मफलर मलाई उपहार लाग्यो

बिमला दहाल
धादिङ

६.
फेरि यस्तै भेट, यस्तै समय नहुन पनि सक्छ
परिचित हरुसंग परिचय नहुन पनि सक्छ

बरु मदिरालय खोल्न इजाजत छ टोलटोलमा
पायकपर्ने ठाउँमा बिधालय नहुन पनि सक्छ

पैसा बाहेक अरु केही नहुनेहरुले बुझ्नुहोला
किनेर पाइने चिज कतिपय नहुन पनि सक्छ

बहाना हजार छन् आज आउ मनसंग मन खोलौ
के थाहा भोलि बोल्नुपर्ने बिषय नहुन पनि सक्छ

अभि क्षेत्री
तुल्सीपुर दाङ

७.

यसरी नै बितिरहोस् सफर यत्ति मात्र हो ।
बनेर मर्न मन छ अमर यत्ति मात्र हो ।

यस बाहेक अरु के हुनु गलाउने कुराहरु ।
घमण्ड, रिस, डाह र डर यत्ति मात्र हो ।

जिन्दगी के हो सोध्यौ म मुसुक्क हासें ।
खासमा मैले दिने उत्तर यत्ति मात्र हो ।

पाएदेखि तिमीलाई सधै आँखामै राखुलाँ ।
मैले दिने भनेको सहर यत्ति मात्र हो ।

तिमीले गरेको प्रगति सुनी नसक्नु छ रे !
मेरो त श्वास फेरे भर्खर यत्ति मात्र हो ।

महेश कुमार भन्डारी
सल्यान

८.

हरेक बिहान उसैको तस्बिर पुजेर हिड्नु पर्छ,
जसको चिहान बाटो मुनि छ नाघेर हिड्नु पर्छ,

मनमा काँडा आँगनमा फूल रोप्नेहरु धेरै हुन्छन्
आफ्नै बा, आफ्नो हुँदैन सोचेर हिड्नु पर्छ,

म एक आँखा भएको अन्धो हुँ अरु के भनौ ?
नत्र किन ? उसको हात समातेर हिड्नु पर्छ,

मन सपनाको आँखा आँशुको कारखाना हो
रित्तिन मिल्दैन आँखाले आँसु राखेर हिड्नु पर्छ,

मनको भारी हुँदै होइन भरियाले बोके जस्तो
बिसाउन मिल्दैन संधै भरी बोकेर हिड्नु पर्छ,

सृष्टि सावित्रा
धरान

९.

भन मेरो यो जीवनको कथा कसलाई थाहा छ‌?
ईश्वर अनि तिमीमध्ये ज्यादा कसलाई थाहा छ‌?

बिक्रीमा राखिएको छ अचेल मान्छेको हृदय पनि
तर उधारै बेच्नुको चोट र पीडा कसलाई थाहा छ‌?

यहाँ चरालाई थुनेर राखेको त देखियो महाशय
कतै छ कि मन थुन्ने पिँजडा कसलाई थाहा छ?

हामी यो देश बनाउँछौं भन्दै हल्ला गर्दागर्दै अचेल
कसरी भयो यो देश नै अवला कसलाई थाहा छ?

हुन त बुझेर,नि नबुझेजस्तो गरेको छु आजभोलि
बा भन्नुहुन्छ तँ जति छोरा कसलाई थाहा छ‌?

पुष्प अधिकारी ‘अञ्जलि’
गजलगृह भरतपुर चितवन

१०.

हिम्मत नहार असफलता निस्तेज हुन्छ।
टिप टिप पानीले पनि ढुङ्गामा छेद हुन्छ।

म, मेरी आमाको कुन शब्दले बयान गरूँ
आमाले शिर छाम्दा बिमार बिसेक हुन्छ।

काँडालाई मन्दिरमा किन चढाइन्न प्रभु?
काँडाले पनि त फूलहरुको रेखदेख हुन्छ।

छाडि जानेले घडी, रुमाल दिएकी थिइन्
बजारमा के के चिजबिज किनबेच हुन्छ?

देश देश भन्ने नेताको आश लाग्न छाड्यो
खै कैले छिमेकी देश जस्तो मेरो देश हुन्छ?

बसन्त हरियाली
अछाम

आफ्ना रचनाहरू पठाउनको लागी नयाँ दृष्टिका साहित्य संयोजक डिल्ली राज केसीसँग सम्पर्क गर्नुहोस । सम्पर्क : ९८४५०७२८०० र ९८००६२२४९२ । इमेल : dillirajkc492@gmail.com

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज