सँगै कलेज जाँदा- आउदा माया बस्यो, ३ बर्षपछि बिबाह गर्यौं – बुद्धि हमाल
मंसिर १३, सल्यान । अहिले मंसिर महिना चलिरहेको छ । यो महिनालाई नेपाली समाजमा बिबाहको महिना पनि भन्ने गरिन्छ । प्रायः बिहेका धेरै शुभ लगनहरू हुने भएकाले मंसिरमा अधिकांश जोडिहरू बिबाह बन्धनमा बाँधिने गरेका छन ।
मंसिर लाग्यो भने बिबाह गर्न योग्य भएका, उमेर पुगेका युवायुवतीहरू लाई “कहिले बिहे गर्ने ? यो मंसिर यत्तिकै जानू हुदैन है ।” भनेर बिहेका लागि सामाजिक दबाब पनि दिने चलन छ ।
यद्यपि हाम्रो समाजमा बिबाह बारे खासै खुलेर कुरा नगर्ने र यसलाई लज्जाको बिषय जस्तो ठान्ने गरिन्छ । पछिल्लो समय फोने, ईन्टरनेट तथा सामाजिक संजालको माध्यम को प्रभावले कम उमेरमा बिबाह गर्ने र उमेर पुगेपछि छुट्ने प्रसस्त घटनाहरू देखिने गरेका छ्न भने मायाप्रेम र बिबाह बारे थुप्रै भ्रम पनि रहेको पाइन्छ ।
यसै सन्दर्भमा मंसिर, प्रेम र बिबाहले जिवनमा पार्ने प्रभावबारे नयाँ दृष्टि डटकमले समाजका विभिन्न क्षेत्रमा सफलता हाँसिल गरेका ब्यक्तित्वहरू सँग कुरा गरेका छौँ । प्रस्तुत छ – युवा पत्रकार बुद्धि हमालसँग गरिएको रमाइलो कुराकानीको सार ।
• बुद्धि हमाल
विवाह गर्दा म २२ वर्षको थिएँ । मैले भागी विवाह गरेको हो । कतिपयले भागी विवाह नै गर्नु वेस हुन्छ भन्ने चर्चा गरेको सुनेको छु । Adventure, Romance, Understanding आदि अनुभव गर्नको लागि यो विवाह नै राम्रो हो र म पनि त्यही विवाह गर्ने भनेर कतिपय अविवाहित हरुले कुरा गरेको सुन्छु ।
यो राम्रो वा त्यो नराम्रो भन्नु त्यति सहज छैन । भागी विवाह र मागी विवाह दुवैका आ आफ्ना विशेषताहरु छन् । कस्तो विवाह गर्ने भन्ने कुरा चाहीँ भाग्य, परिवेश र उमेरले प्रभाव पार्छ भन्ने मेरो बुझाइ छ ।
जन्म, मृत्यु र विवाह कसैले चाहे अनुसार र सोचे अनुसार हुन सक्दैन । यो कुरा अनुसार विवाह पहिले नै निश्चित छ, यो भाग्यको कुरा ठहर्छ र कुनै बेला परिवेश नै त्यस्तै बन्न पनि सक्छ । र अर्को कुरा मेरो बुझाइमा उमेर परिपक्व भएपछि या भनौं २५ कटेपछि भागी विवाह एकदमै विरलै हुन्छ ।
बिबाह अघि ३ बर्ष प्रेम
मरो विवाह पूर्व हाम्रो प्रेम करिब ३ वर्ष चलेको थियो । कलेजका साथीहरुलाई पनि थाह थियो, तर एकदमै कमलाई । हामी दुवै जना सल्यान क्याम्पसमा अध्ययनरत थियौं । मेरो श्रीमती (मीना) म भन्दा ४ ब्याच जुनियर थिइन । कलेज विहान चल्थ्यो । विहान कलेज जाँदा र आउँदा एउटै बाटो र एउटै समय पर्ने भएकोले प्राय सँगसँगै जाने आउने हुन्थ्यो । त्यही संगतबाट नै प्रेम सुरु भयो ।
मीना (मेरो श्रीमती) सँगको प्रेम सम्वन्ध पश्चात नै मैले जीवनको राम्रो बाटो अँगालेको हो । नढाँटेर भन्दा उनी भन्दा पहिले पनि मेरा गर्लफ्रेन्डहरु नभएका होइनन् तर म ती सम्वन्धहरुमा कहिले पनि गम्भीर या स्थिर थिइन । मैले उनीहरु सँगको प्रेम सम्वन्धलाई सिरियसली लगिन ।
तर मेरो श्रीमती सँगको प्रेम सम्वन्ध गम्भीर थियो । आजीवन यो सम्वन्ध निभाउने मन भइसेको थियो । सम्वन्धमा गाम्भीर्यता र समर्पण भएकोेले पनि होला, त्यस पछि मैले नराम्रा बानीहरु छाड्दै गएँ । यसर्थ मलाई प्रेम सम्वन्धले पनि धेरै सकारात्मक प्रभाव पारेको निश्चित हो ।
श्रीमतीबाट आँट, हौसला र साथ पाएको छु
त्यसपछि आयो विवाहको कुरा, विवाहले पनि मेरो लागि लाई एकदमै राम्रो वातावरण निर्माण गर्यो । सुकरातको एउटा भनाई छ – “विवाह चाहीँ अनिवार्य गर, श्रीमती असल परे गृहस्थ रहनेछौ र खराब परे दार्शनिक ।” म खुशी छु की, मेरो श्रीमती मेरो कमजोरी कहिल्यै पनि बनिनन् ।
एउटा श्रीमतीबाट पाउनु पर्ने आँट, हौसला र साथ मैले यथेष्ट पाएको छु । यो साथ, हिम्मतको लागि म उनीलाई हार्दिक धन्यवाद दिन चाहान्छु । उनी प्रति आभारी छु ।
म राजनीनैतिक पाटोलाई स्थगित गरेर जागिरे जीवनमा गएको कतिपय शुभेच्छुक र साथीहरुलाई अलि मन परेको थिएन । यो सन्दर्भमा विवाहलाई बाधक भनेको पनि सुहाउँदैन । किनकी मैले जागिर गर्नुको कारण विवाह थिएन । परिवारको जेठो छोरा हुनु नै यसको एकमात्र कारण रहेको थियो ।
त्यसैले विवाह मेरो जीवनमा बाधक बनेको महसुस गरको छैन । वैवाहिक जीवन व्यवस्थित गर्न नसकेमा भने विवाहले जीवन सकिन पनि सक्छ ।
तसर्थ वैवाहिक जीवन कस्तो बनाउने भन्ने कुरा पनि श्रीमान श्रीमतीकै हातमा हुन्छ । मुर्ख श्रीमतीले श्रीमानलाई दास बनाउँछे र आफु दासी हुन्छे तर बुद्धिमान श्रीमतीले श्रीमानलाई राजा बनाउँछे र आफु रानी भएर बस्छे ।
अविवाहित मान्छेलाई समाजले कम विश्वाश गर्छ
विवाहित भएपछि निश्चित रुपमा जिम्मेवारी थप हुन्छ नै । जिम्मेवारी पुरा गर्ने कुरामा खर्च र समय कटौती पनि अनिवार्य हुन्छ । अविवाहित हुँदाको दैनिकी र विवाहित हुदाको दैनिकीमा परिवर्तन स्वत: हुन्छ ।
यसलाई तपाई स्वतन्त्रता कट्टी भएको भन्न पनि सक्नुहुनेछ, यसमा मेरो आपत्ति छैन । म त भन्छु, खाने बस्ने, सुत्ने कुनै टुंगो नभएको बन्जाडे (घुमन्ते) लाई विवाहले व्यवस्थित घेरामा नियमित गर्छ । विवाहले जिम्मेवारी बोध गराउँछ ।
अविवाहितहरु भन्दा विवाहित हरु नै बढी सामाजिक र व्यवहारिक पनि हुने गर्दछन् । विवाह पश्चात नाता, सम्वन्धहरु थपिंदै जाने र ती सम्वन्धहरुलाई सार्थक बनाउन वा निभाउनको लागि पनि बढी गम्भीर र समझदार बन्नु पर्ने बाध्यता नै हुने भएकोले पनि मान्छे सामाजिक हुँदै जान्छ ।
परिवारको कुनै निर्णय वा छलफलमा सहभागी नहुने मान्छे पनि विवाह पश्चात त्यस्ता छलफल र निर्णयमा सक्रिय हुँदै जान्छ । यसले मान्छेलाई परिपक्व पनि बनाउँछ । विवाहित र अविवाहितलाई समाजले गर्ने विश्वाश मा पनि भिन्नता छ । अविवाहित मान्छेलाई समाजले एकदमै कम विश्वाश गर्छ ।
२० देखि ३० वर्षमा विवाह गर्नु नै उत्तम
विवाह गर्ने उमेर कानुनले पनि तोकीसकेको छ । यो उमेर भन्दा पहिले विवाह गर्नु कानुनी रुपले पनि उचित भएन । विवाह गर्ने सम्वन्धमा मान्छेका आफ्ना योजना, सोच दृष्टिकोणहरु हुन सक्छन्। तर २० देखि ३० वर्षमा विवाह गर्नु नै उत्तम हुन्छ भन्ने मलाई लाग्छ ।
कुनै पनि काम सही समयमा गरिएन भने बुढेसकालमा अप्ठ्यारो हुन सक्छ भन्ने मेरो धारणा रहेको छ ।
उपयुक्त समयमा उपयुक्त व्यक्ति सँग विवाह भयो र वैवाहिक जीवनलाई सही व्यवस्थापन गर्न सकियो भने विवाह बन्धन र बाधक नभएर सफलता र प्रगतिको आधारशीला सावित हुन्छ ।
र यो पनि पढ्नुहोस :
बिबाहले मलाई ब्यवस्थित बनायो : गणेशमान सिंह
ज्योतिष शास्त्र अनुसार विवाह गर्दा कस्ता कुरामा ध्यान पुर्याउनुपर्छ ?







प्रतिकृया दिनुहोस्