May 24, 2025, Saturday
२०८२ जेष्ठ ११, शनिबार
सल्यान सहित ९ जिल्लाका ५० जनालाई गाँजा उत्पादन तथा प्रशोधनको लागि २ दिन तालिम

सल्यान सहित ९ जिल्लाका ५० जनालाई गाँजा उत्पादन तथा प्रशोधनको लागि २ दिन तालिम

माघ ११, सल्यान । दाङको तुलसीपुरमा पहिलो पटक गाँजा उत्पादन तथा प्रशोधन तालिम भएको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित भूँयार थानमा शुक्रबार र शनिबार दूई दिने तालिम सञ्चालन गरिएको हो।

तालिममा तुलसीपुरकी एक महिलासहित दाङ, सल्यान, रोल्पा, दैलेख, सुर्खेत, स्याङजा, रुकुम पश्चिम, गुल्मी, रुपन्देही जिल्लाका १८ वर्षदेखि ७० वर्षसम्मका ५० जना किसानको सहभागिता रहेको लुम्बिनी प्रदेशका गाँजा अभियानका संयोजक रविन्श डाँगीले जानकारी दिए।

तालिमको प्रशिक्षक तथा नेपाल गाँजा वैधानिक महाअभियानका अभियान्ता राजिव काफ्लेले गाँजामाथिको प्रतिबन्ध नेपालमा पनि खुला हुने लगभग निश्चित जस्तै भइसकेको हुँदा गाँजा खेतिको लागि किसान तयार छन् कि छैनन्? भनेर बुझ्न र गाँजा बारेको ज्ञान बाँड्न प्रशिक्षण आयोजना गरिएको बताए।

‘करिब ५० वर्षदेखि सरकारले गाँजामाथि प्रतिबन्ध लगाउँदै आइएको छ। गाँजाका बोटहरु मास्नकै लागि प्रहरी परिचालन गरिएको छ,’ अभियन्ता काफ्लेले भने, ‘त्यति लामो समयदेखि प्रतिबन्ध लगाइएको गाँजा खेतीको अवस्था के छ? र गाँजा खेति किन आवश्यक छ भनेर किसानलाई ज्ञान दिन तालिमको आयोजना गरिएको हो।’

केही महिना अगाडि मात्रै नेपालले गाँजालाई वैधानिकता दिने पक्षमा अष्ट्रियाको भियनामा आयोजित सम्मेलनमा मतदान गरेको थियो। जसले गर्दा पनि नेपालमा गाँजा वैधानिक हुनुपर्छ भन्नेहरु हौसिएका छन्।

त्यस्तै नेपालमा पनि २०७६ फागुनमा प्रतिनिधि सभामा गाँजालाई वैधानिकता दिने बारे प्रस्ताब पेश भएपछि त्यस विषयमा छलफल सुरु भएको थियो।

तर, पछिल्लो समय प्रतिनिधिसभा विघटन भएपछि त्यो बहसमा ब्रेक लाग्न पुगेको छ।

गाँजा अभियन्ता काफ्लेले गाँजा औषधीय गुण भएको जडिबुटी भन्ने कुरा विज्ञानलेसमेत पुष्टि गरेको हुँदा निश्चित मापदण्ड बनाएर गाँजामाथिको प्रतिबन्ध हटाउन जरूरी रहेको तर्क गरे।

उनले निश्चित उमेर निर्धारण गरेर गाँजको खुल्ला व्यापार गर्न जरूरी रहेको बताए।

अर्का अभियन्ता ऋगेन्द्र गिरीले गाँजा मदिरा जत्ति खराब बस्तु नभएको भन्दै मदिराको खुल्ला व्यापार हुने र गाँजामाथि प्रतिबन्ध लगाउनु गलत भएको तर्क गरे।

गाँजामाथिको प्रतिबन्ध हटाएमा लुकिछिपी हुने व्यापारको अन्त्य हुने र त्यसबाट देशले समेत राम्रो राजश्व संकलन गर्ने अभियन्ताको विश्वास छ। नेपालमा गाँजा खेतीको राम्रो सम्भावना रहेको भन्दै उनले यहाँ उत्पादित गाँजा भारतलगायत मुलुकमा बेचेर मनग्य आम्दानी लिन सकिने उनीहरुले दाबी गरे।

अभियान्ताले आइतबार उच्च अदालत तुलसीपुर अगाडि गाँजामाथिको प्रतिबन्ध हटाउन माग गर्दै मौन जुलुस पर्दशन गर्ने जानकारी दिएका छन्।

अभियान्ताले माघ १२ गते प्रधानमन्त्री दाङ आउँदा त्यहाँ पनि शान्तिपूर्ण रुपमा गाँजाको वैधानिकता सम्वन्धित प्लेकार्ड पर्दशन गर्ने भएका छन्।

सेतोपाटी बाट साभार

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज