April 17, 2026, Friday
२०८३ बैशाख ४, शुक्रबार
एमाले सचिवमा महेश बस्नेतको उम्मेदवारी घोषणा, यी हुन् १० आधार

एमाले सचिवमा महेश बस्नेतको उम्मेदवारी घोषणा, यी हुन् १० आधार

काठमाडौँ, ६ मंसिर । नेकपा (एमाले)को १०औँ महाधिवेशनमा एमालेका केन्द्रीय सदस्य एवं युवा नेता महेश बस्नेतले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आज मध्यपुरथिमिको सम्पर्क कार्यालयमा आफ्नो धारणा सार्वजनिक गर्दै सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । पार्टी र देशका लागि युवा पुस्ताको भूमिका बढाउन, एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेको रक्षा कवचको रुपमा मुलुकको युवा शक्तिलाई परिचालन गर्न आफूले सचिव पदमा उम्मदवारी दिने निर्णय गरेको उनले बताए ।

आफू युवा सङ्घको अध्यक्ष हुँदा होस् वा एमालेको केन्द्रीय सदस्य हुँदा पार्टीकै पक्षमा युवालाई एकताबद्ध बनाउन काम गरेको बताउँदै उनले आगामी दिनमा एमालेमा ऊर्जावान युवाको प्रवेश गराउन पनि उम्मेदवारी घोषणा गरेको बताए ।

उनले आफूले सचिव पदमा उम्मेदवारी दिने १० आधारसमेत प्रस्तुत गरेका छन् । सो आधारपत्रमा उनले आफू मन्त्रीनेकपा हुँदा गरेका कार्य र आगामी दिनमा पार्टी र देशलाई दिनसक्ने योगदानहरुका बारेमा उल्लेख गरेका छन् । यस्ता छन १० आधार ।

1.जनयुद्धका नाममा माओवादीले एमालेका ३ सय कार्यकर्ताको हत्या गरेको र पछि वाइसिएलका नाममा आतंक मच्चाएको बेला यूथ फोर्स बनाएर देशैभरी युवा परिचालन गरेर कार्यकर्ताको संरक्षण गरेको ।

2.माधव नेपालको असक्षम नेतृत्वले एमाले तेस्रो दलमा खुम्चिएका बेला देशैभरी युवा अभियान चलाएर एमाले कार्यकर्ताको मनोवल उकास्ने काम गरेको।

3.माधव नेपाल र झलनाथ खनालको नेतृत्वले पार्टीलाई विघटनको दिशातिर लगेको बेला केपी शर्मा ओलीलाई अध्यक्ष र प्रधानमन्त्री बनाएर एमालेलाई पहिलो पार्टी बनाउनु पर्छ भन्ने अभियानको नेतृत्व गरेको ।

4.पार्टी भित्र र बाहिर केपी ओलीलाई संस्थागत गुट बनाएर असफल बनाउन खोज्दा रक्षा कवचको रुपमा काम गरेको । सो गरे बापत अनेक झुट आरोप व्योहोरेर अपमानित हुनु परेको ।

5.संविधान निर्माणको चरणमा सुशील कोइराला प्रधानमन्त्री हुँदा १३ महिना उद्योग मन्त्तालय सम्हालेर जीर्ण उद्योग क्षेत्रमा नयाँ उत्साह ल्याएको ।

6.एमालेको संगठन कमजोर भएको भक्तपुर जिल्लामा २०७४को संघीय निर्वाचनमा काँग्रेसलाई ३६ हजार मत ल्याएर दोब्बर मतले पराजित गरेको । पटक पटक मन्त्री बनाउने तत्कालिन प्रधानमन्त्री के पी शर्मा ओलीको इच्छा कतिपय साथीहरुले पुरा गर्न नदिए पनि सदन भित्र सरकारको पक्षमा सशक्त भुमीका निर्वाह गरेको ।

7.भक्तपुरलाई विकास निर्माणको नमुना जिल्लाको रुपमा प्रष्तुत गरेको

8.राजनीतिको सम्भावित परिदृष्यलाई बुझेर नेकपा कालमा ‘नेकपा एमाले’ नामको दल दर्ता गरेर एमाले ब्राण्ड बचाएको ।

9.पुष ५ पछाडि सत्ता र शक्ति भित्र रहेका नेताहरु मौन बसेका बेला देशैभर युवा परिचलान गरेर अध्यक्ष केपी शर्मा ओलीको कदम सही भएको माहोल सृजना गरेको ।

10.पार्टी हितका लागि अध्यक्ष केपी शर्मा ओलीको निर्देशन जस्तोसुकै जोखिम मोलेर पनि पुरा गरेको ।