१० वर्षपछि फेरि विश्वकपमा नेपाल
नेपाल टी २० विश्वकप २०२४ मा चयन भएको छ । घरेलु मैदानमा पाएको अवसरको सदुपयोग गर्दै नेपाल १० वर्षपछि नेपाल टी २० विश्वकप क्रिकेटमा चयन भएको हो । शुक्रबार मूलपानी मैदानमा भएको एसिया छनोटको सेमिफाइनल खेलमा यूएईलाई पराजित गर्दा नेपाल प्रतियोगिताको उपाधि नजिक मात्र पुगेन अमेरिका र वेस्टइन्डिजमा हुने विश्वकपका लागि छनोट भएको हो । नेपाल ८ विकेटले विजयी भएकाे हाे ।
यसअघि नेपालले पहिलोपटक २०१४ मा बंगलादेशमा भएको विश्वकप खेलेको थियो । जहाँ हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो । त्यसपछि फेरि विश्वकपमा पुग्न नेपालले १० वर्ष कुर्नुपरेको हो ।
१३५ रनको लक्ष्य पछ्याएको नेपालका लागि आसिफ शेखले ६४ रनको योगदान दिए भने तीन नम्बरमा ब्याटिङ गरेका गुल्सन झाले २२ रन बनाए । कप्तान राेहित पाैडेलले ३४ रन बनाए ।
मूलपानीमा टस जितेर नेपालले यूएईलाई पहिला ब्याटिङको निम्तो दिएको थियो । यूएईले ९ विकेटको क्षतिमा १३४ रन बनायो । उसलाई सस्तैमा रोक्न नेपालका लागि कुशल मल्लले ३ विकेट लिए भने सन्दीप लामिछानेले २ विकेट लिए । रोहित पौडेल र सोमपाल कामीको नाममा एक एक विकेट रह्यो ।
नेपालका लागि दोस्रोपटक विश्वकप खेल्ने खेलाडी एक मात्र सोमपाल कामी बन्ने भएका छन् । नेपालले बंगलादेशमा २०१४ मा विश्वकप खेल्दा सोमपाल कामी नेपालका प्रमुख बलर थिए । उनी अहिले पनि नेपालका प्रमुख बलर हुन् ।
#खेलकुद राष्ट्रिय
लेखकको सम्वन्धमा