April 16, 2026, Thursday
२०८३ बैशाख ३, बिहीबार
४ जना युटुवर पक्राउ

४ जना युटुवर पक्राउ

असोज १३, दाङ । महिलाको चरित्रहत्या गर्ने दाङका एक सहित चारजना युटुबर पक्राउ परेका छन् । पक्राउ पर्नेहरु दैनिक खबर युट्युब च्यानलका सञ्चालक तुलसीपुर उप महानगरपालिका १७ दाङका प्रदीप भण्डारी, हरेक पलको खबर युट्युब च्यानलका सञ्चालक सूर्यगढी गाउँपालिका ३ नुवाकोटका शिशिर अधिकारी, सराइचुली मिडिया युट्युब च्यानलकी सञ्चालिका वेलवारी नगरपालिका ९ मेरङकी पिंकला कार्की र मोर्डन अनलानइन टिभी युट्युबको सञ्चालक मेलुङ गाउँपालिका ४ दोलखाका रोधन तामाङ रहेका छन् ।

महिलाको चरित्र हत्या हुने र उनि प्रति समाजमा घृणा तथा द्वेष फैलाउने सामग्री प्रशारण गरेको आरोपमा उनिहरुलाइ पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले जनाएको छ । एक पीडित महिलाको उजुरीका आधारमा साइबर ब्यूरोले काठमाडौंबाट चारै जना युट्युबरलाइ पक्राउ गरेको हो ।

उनीहरुले आफ्नै युट्युब च्यानल तथा अन्य युट्युब च्यानलहरूमा समेत कार्यक्रम उत्पादन तथा पुन उत्पादन गरी ललितपुरकी एक महिलाको चरित्र हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पीडित महिलासँग कुराकानीसमेत नगरी निजको श्रीमान तथा ससुरासँग एकतर्फीरुपमा कुरा गरी महिलाको चरित्र हत्या हुने सामाग्री प्रसारण गरिएको थियो । प्रसारित सामाग्रीमा महिलाको वास्तविक नाम तथा तस्विरसमेत प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

उक्त सामग्रीले महिलाको चरित्र हत्या भएको, इज्जत तथा प्रतिष्ठामा आँच पुराई महिलाप्रति घृणा वा द्वेषभाव पैदा गराएको कारण उनीहरुमाथि विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोका प्रवक्ता एसएसपी नविन्द अर्यालका अनुसार तस्विरसहितको भिडियो प्रसारण गरी महिलाको चरित्र हत्या गरेको, महिलाको इज्जतमा आँच पुर्याएको र पीडित महिलाप्रति घृणा पैदा हुने सामग्री प्रसारण गरेको भन्दै साइबर ब्यूरोले उनीहरुलाई पक्राउ गरेको हो ।