January 16, 2025, Thursday
२०८१ माघ ३, बिहीबार
पहिलोपटक अन्तरिक्षयान सूर्यको सर्वाधिक नजिक पुगेको वैज्ञानिकको भनाइ

पहिलोपटक अन्तरिक्षयान सूर्यको सर्वाधिक नजिक पुगेको वैज्ञानिकको भनाइ

काठमाडौं,

अमेरिकी अन्तरिक्ष निकाय नासाले आफ्नो एउटा अन्तरिक्षयान सूर्यको सबैभन्दा नजिक पुगेर इतिहास रचेको जनाएको छ ।

केही दिनदेखि सञ्चारसम्पर्कबाट विच्छेद भएको ’पार्कर सोलर प्रोब’बाट बिहीवार मध्यरातअघि वैज्ञानिकहरूले एउटा सङ्केत पाएका छन । नासाले उक्त ’प्रोब’ “सुरक्षित“ रहेको र सौर्य सतहबाट ६१ लाख किलोमिटरनजिक पुगेपछि पनि सामान्य रूपमा सञ्चालन भएको बताएको छ ।

उच्च ताप र चरम विकिरणको सामना गर्दै सूर्यको नजिक पुगेको उक्त यानका कारण सूर्यले कसरी काम गर्छ भन्ने हाम्रो बुझाइलाई थप सशक्त बनाउने बताइएको छ ।

नासा उक्त अन्तरिक्षयानलाई सूर्यको सर्वाधिक नजिक पठाएर नयाँ कीर्तिमान बनाउने अभियानमा रहेको थियो । नासाको योजनाअनुसार ’पार्कर सोलर प्रोब’ सूर्यको बाह्य मण्डलमा प्रवेश गरेको बताइएको छ। त्यस क्रममा उक्त यानले अत्यधिक तापक्रम र विकिरण सामना गरेको थियो ।

त्यो उडानका क्रममा उक्त यान केही दिन सञ्चारसम्पर्कबाट छुट्टिने कार्य पूर्वयोजना अनुरूप नै भएको हो । वैज्ञानिकहरू उक्त यान सकुशल रहे वा नरहेको पत्ता लगाउन सङ्केतको प्रतीक्षामा थिए। त्यस्तो सङ्केत प्राप्त भएपछि उक्त यान सुरक्षित रहेको पुष्टि भएको हो ।

नासा वेबसाइटमा जनाइए अनुसार ६,९२,००० किलोमिटर प्रतिघण्टाको गतिमा चलिरहेको अन्तरिक्षयानले ९८० डिग्री सेल्सियससम्मको तापक्रम सहेको छ ।

सूर्यको एकदमै नजिकबाट गरिएको यो अध्ययनले “वैज्ञानिकहरूलाई त्यस क्षेत्रको सामग्री कसरी लाखौँ डिग्री सेल्सिअसमा तातो हुन्छ र सौर्य आँधीको उत्पत्तिबारे“ पत्ता लगाउन मद्दत गर्ने नासाको भनाइ छ।

त्यस्तै “कसरी ऊर्जायुक्त कणहरू झन्डै प्रकाशको गतिमा कसरी द्रुत हुन्छन् भन्ने पत्ता लगाउन“ पनि सहयोग पुग्ने ठानिएको छ ।

“सयौँ वर्षदेखि मानिसहरूले सूर्यबारे अध्ययन गर्दै आएका छन्। तर नपुगेसम्म कुनै ठाउँ कस्तो छ भन्ने महसुस गर्न सकिँदैन,“ नासाको विज्ञान विभागकी प्रमुख निकोला फक्सले यसअघी बीबीसी न्यूजसँग भनेकी थिइन । उनका अनुसार सूर्यको निश्चित भाग कस्तो छ भनेर थाहा पाउनका लागि पनि त्यहाँ त्यस्तो उडान गर्नै पर्ने हुन्छ । सौर्यमण्डलको मध्यभागतिर जाने गरी पार्कर सोलर प्रोब सन् २०१८ मा प्रक्षेपण गरिएको थियो ।

यो प्रोब २१ पटक सूर्यनजिक पुगिसकेको छ। तर क्रिस्मसको अघिल्लो दिन मङ्गलवार अझ निकटको बिन्दु पुगेर यसले पुराना कीर्तिमानहरू भङ्ग गर्ने वैज्ञानिकहरूको आकलन छ ।

निकटतम बिन्दुमा पुग्दा यो प्रोब सूर्यको सतहभन्दा ३८ लाख माइल (६२ लाख किलोमिटर)को दूरीमा हुने छ । त्यो दूरी तपाईँलाई निकै धेरै लाग्न सक्छ । तर निकोला फक्स त्यसलाई तुलनात्मक दृष्टिकोणबाट हेर्नुपर्ने ठान्छिन्। “हामी सूर्यभन्दा ९.३ करोड माइल टाढा छौँ। यदि सूर्य र पृथ्वीलाई एक मिटरको दूरीमा राख्ने हो भने ’पार्कर सोलर प्रोब’ सूर्यभन्दा चार सेन्टिमिटर टाढा हुन्छ। त्यसैले त्यो निकै नजिक हो,“ उनले भनिन्।

उक्त प्रोबले १,४०० डिग्री सेल्सिअससम्मको तापक्रम र विकिरण झेलेको छ। त्यस्तो अवस्थामा त्यसभित्र रहेका विद्युतीय उपकरणहरू गल्न सक्थे । उक्त प्रोबलाई जोगाउन ११.५ सेन्टिमिटर बाक्लो ’कार्बन–कम्पोजिट’बाट निर्मित कवच बनाइएको छ। सूर्यको वाह्य मण्डलमा तीव्र गतिमा प्रवेश गर्ने र निस्किने रणनीतिमा यो यान छ ।

यो प्रोब मानवनिर्मित अन्य यान वा वस्तुभन्दा तीव्र गतिमा उड्छ। यसको गति ४.३ लाख माइल प्रतिघण्टा छ। त्यो वेगमा यात्रा गर्ने हो भने ३० सेकन्डभन्दा कम समयमा लन्डनबाट न्यूयोर्क पुगिन्छ।

श्रोत: बीबीसी