June 23, 2025, Monday
२०८२ असार ९, सोमबार
दाङका किसानको दुखेसो -भारतको गोभी भित्रियो, हाम्रो कुहियो

दाङका किसानको दुखेसो -भारतको गोभी भित्रियो, हाम्रो कुहियो


१३ चैत, दाङ ।

दाङको घोराही उपमहानगरपालिका-६ गुरगइका प्रेमबहादुर चौधरीले दश कट्ठा जमिनमा व्यावसायिक काउली (गोभी) खेती गर्दै आएका छन् । उनले ६ कठ्ठा जमिनमा लगाएको काउली बेच्नलाई तयार छन्, तर बजार पाएका छैनन।

‘६ कठ्ठा जमिनमा उब्ज्याएको गोभी बिक्रीका लागि तयार भइसके’ उनले भने, ‘तर बजार पाएको छैन ।’ उत्पादन भएको काउलीले बजारमा राम्रो मूल्य नपाएको उनले बताए ।

भारतबाट सस्तोमा काउली आउँदा आफूहरूलाई बिक्री गर्न समस्या भइरहेको उनले सुनाए । ‘व्यवसायीले साह्रै कम मूल्यमा खरिद गर्न खोज्छन्’ उनले भने, ‘मूल्य नै नउठ्ने गरी बिक्री गर्दा समस्या भयो ।’

उनले प्रतिकिलो पाँच रूपैयाँमा बेच्दा आफ्नो लगानी नै नउठ्ने बताए । काउलीको बिउ हुर्काउँदादेखि तयार पार्दासम्म ५० हजार रूपैयाँसम्म खर्च भएकाले कम मूल्यमा बेच्दा लगानी नै नउठ्ने उनको भनाइ छ । ‘कम मूल्यमा बिक्री गर्दा मेहनत नै नउठ्ने भयो’ उनले भने, ‘घाटा खाएर बिक्री गर्नुभन्दा बरु गाई-भैंसीलाई खुवाउँछु ।’

उत्पादन भएको काउली एक साताभित्र बिक्री नभए बारिमै खेर जाने उनी बताउँछन् । यस वर्ष जिल्लामा राम्रो उत्पादन भए पनि बाहिरबाट काउली भित्रिंदा बिक्री गर्न धौ-धौ भएको उनले बताए ।

    (source: onlinekhabar.com)