सांसद विमला वली लुम्बिनी प्रदेश सरकारको मन्त्री बन्दै
साउन २८, काठ्माण्डौ । लुम्बिनीको सरकार हेरफेरका क्रममा सबैभन्दा चर्चामा आएको नाम हो विमला वली। २०७६ मंसिरमा भएको उपनिर्वाचनमा उनी दाङ क्षेत्र नम्बर ३ (ख) बाट विजयी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन्।
२०७५ माघ २४ गते घोराही-लमही सडकखण्डमा सवारी दुर्घटनामा परेका उनका पति उत्तर वलीको २०७५ फागुन १० गते उपचारका क्रममा काठमाडौंमा निधन भएको थियो। उत्तरकुमारको निधन भएपछि उपनिर्वाचनका लागि तत्कालीन नेकपाले उनकी विधवा पत्नी विमलालाई मैदानमा उठाएको थियो।
विमलाले ५ हजार १०४ मतान्तरले कांग्रेसका उम्मेदवारलाई हराएकी थिइन्। उनले २४ हजार २८६ मत ल्याएर नेपाली कांग्रेसका केशवराज आचार्यलाई हराएकी थिइन्। नेपाली कांग्रेसका उम्मेदवार आचार्यले १९ हजार १८२ मत ल्याए।
नेकपा एमाले र माओवादी मिलेर बनेको नेकपाको जोडबल र पतिको निधनपछि संवेदनाको मत पाएर उनी विजयी भएकी थिइन्। तर २०७७ फागुन २३ गते नेकपा खारेजीमा परेर एमाले र माओवादी ब्यूँतिएपछि उनीसँग दल छान्ने मौका थियो।
त्यसक्रममा उनले सुरुमा आफू माओवादी केन्द्रमा जाने भनेकी थिइन्। कांग्रेस र माओवादीले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव हाल्दा उनी निर्णायक थिइन्।
तर उनैले रातारात आफूलाई परिवर्तन गराएर एमालेको कित्तामा उभ्याइन्। मुख्यमन्त्री पोखरेललाई हटाउने कुरामा निर्णायक खेलाडी बनेकी उनी संसदीय राजनीतिलाई नै प्रश्न उठ्ने गरी यताउता गरिरहिन्।
कहिले एमाले त कहिले माओवादीतिर लागिरहेकी उनी पछिल्लो पटक साउन १५ मा दाङबाट मुख्यमन्त्री पोखरेलको बुटवल निवास आएर एमालेमै रहेको भन्दै साउन १६ मा विज्ञप्ति नै निकालिन्।
तर, बार्गेनिङका क्रममा एमालेबाट भन्दा फाइदा माओवादीबाट हुने बुझेपछि उनले मुख्यमन्त्री निवासबाटै आफूलाई परिवर्तन गरेर माओवादी कित्तामा पुगिन्। साउन २१ मा माओवादी दलको कार्यालयमा पुगेर उनले आफूलाई मुख्यमन्त्री निवासमा बन्धक मात्रै बनाएको बताइनन् भागेर आएको समेत उल्लेख गरिन्।
त्यसपछि माओवादीतर्फ प्रतिवद्धता जनाएकी उनी नयाँ सरकारमा दाबी गरेका दलका सांसदसँगै मंगलबारयता कपिलवस्तु र बुटवलको रिसोर्टमा बसेकी छन्।
शंकर पोखरेल नेतृत्वको सरकार ढाल्न निर्णायक बनेकी उनैलाई नयाँ मुख्यमन्त्री कुलप्रसाद केसीले मन्त्री बनाउने भएका छन्। माओवादी केन्द्रबाट मन्त्री बन्ने सूचीमा उनको नाम रहेको एकजना सांसदले बताएका छन्।
केसीले आजै अपरान्ह ४ बजे मुख्यमन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ लिएका छन।
सर्वोच्चले नेकपा खारेज गरेपछि उनले गत चैत अन्त्यमा नेकपा माओवादी केन्द्र रोजेकी थिइन्। तर, उनले फेरि साउन १६ गते फेरि एमाले रोजेको समाचार बाहिरियो ।
तर आफूलाई मुख्यमन्त्री निवासमा बन्धक बनाइएको भन्दै उनी साउन २० गते माओवादीको सम्पर्कमा पुगेकी थिइन।
त्यसपछि साउन २१ मा मुख्यमन्त्री पोखरेलमाथि गम्भीर आरोप लगाएकी उनी नयाँ सरकारमा मन्त्री बन्ने भएकी हुन्। तर कुन मन्त्रालय भन्ने निश्चित भैसकेको छैन ।
प्रतिकृया दिनुहोस्