September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार
यी हुन, कार्यकक्षमै कार्यालय सहयोगीलाई मसाज गर्न लगाउने मेयर

यी हुन, कार्यकक्षमै कार्यालय सहयोगीलाई मसाज गर्न लगाउने मेयर

साउन २४, जनकपुरधाम । धनुषाको बिदेह नगरपालिकाका मेयर बेचन दासले आफ्नो कार्यकक्षमै खुट्टा मसाज गराइरहेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । उनले नगरपालिकाका कार्यालय सहयोगी करन दासबाट मसाज सेवा लिएका हुन् ।

तस्वीरमा मेयर दास आरामसँग खुट्टा तेस्र्याएर सोफामा सुतेका छन् भने युवकले उभिएर उनको खुट्टा थिचिरहेको देखिन्छ । कोठाको ढोका थुनेर मेयर दासले मालिस गराइरहेको फोटो कसैले झ्यालबाट खिचेर फेसबुकमा हालिदिएका थिए । दास नेकपा माओवादी केन्द्रबाट मेयरमा निर्वाचित भएका हुन् । पछिल्लो समय उनी नेकपा एमालेमा गएपछि माओवादी केन्द्रले उनलाई स्पष्टीकरण सोधेको थियो ।

विवादमा आएका मेयर दासले आफूलाई सञ्चो नभएको भाइ नाता पर्ने कार्यालय सहयोगीलाई मालिस गर्न लगाएको बताए । कोरोना भाइरसको भ्याक्सिन लिएपछि आफू बिरामी बनेको उनको भनाइ छ ।

‘कार्यालयमा साउन मसान्तमा धेरै भिड हुन्छ । त्यसैले सञ्चो नहुँदा नहुँदै सेवाग्राहीलाई मर्का पर्ला भनेर म एक घन्टाको लागि कार्यालय गएको थिएँ । तर जिउ दुखेर काम गर्न नसक्ने भएपछि मेरो भाइलाई बोलाएर मालिस गर्न लगाएको हुँ,’ उनले भने, ‘बिरामी भएपछि अरु कसलाई भन्ने, आफ्नै भाइलाई त हो नि ।’

मेयर दासका अनुसार कार्यालय सहयोगी करन उनका काकाका छोरा हुन् । भाइले अरु काम नपाएको र विदेश जान पनि नसकेकाले आफूले नगरपालिकामा काम लगाइदिएको उनले बताए ।

नेपाल प्रेस बाट ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज