September 17, 2024, Tuesday
२०८१ आश्विन १, मंगलवार
प्रधानमन्त्री देउवाले आजै विस्वासको मत लिने भएपछि यस्तो छ – माधव समुहको तयारी

प्रधानमन्त्री देउवाले आजै विस्वासको मत लिने भएपछि यस्तो छ – माधव समुहको तयारी

साउन ०३, काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले आजै विश्वासको मत लिने गरी संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता भएको छ । पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिएर देउवाले सरकारको आयु सुनिश्चित गर्न खोजेका हुन् ।

कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले आजै विश्वासको मत लिन सचिवालयमा प्रस्ताव दर्ता गराएको जानकारी दिइन् ।

सभामुख अग्निप्रसाद सापकाेटाले कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बोलाएका छन् । देउवालाई विश्वासका मतका लागि प्रतिनिधिसभामा तत्काल कायम रहेको २ सय ७१ सांसदमध्ये १ सय ३६ जनाको समर्थन चाहिन्छ ।

कांग्रेस र माओवादीसँग १ सय १० सांसद छन् । जसपाको उपेन्द्र यादव पक्षका १२ जनाले देउवाको पक्षमा हस्ताक्षर गरेका थिए । अहिले यो संख्या बढेर १७ पुगेको यादव पक्षले जनाएको छ । त्यसो हुँदा प्रस्तावको पक्षमा १२७ सांसद हुन्छन् ।

राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल गठबन्धनमै छन् । त्यो अवस्थामा एमालेको माधव नेपाल पक्षका ८ जना सांसदले विश्वासको मत दिए देउवाको सरकार जोगिन्छ । एमाले एकता प्रक्रिया सफल भएमा माधव पक्षको भोट नआउने भएकाले पनि प्रधानमन्त्रीले चलाखी गरेको हुनसक्ने अनुमान गरिएको छ ।

माधव नेपाल पक्षका २३ जना सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए । सर्वोच्च अदालतले प्रतिनिधि सभालाई पुनःस्थापना गरेपछि पहिलो बैठक आज अपरान्ह ४ बजे बस्दैछ ।

माधव समुह पहिला संसद जोगाएरमात्र एमाले जोगाउने पक्षमा रहेको बुझिएको छ । देउवाले आजै विस्वासको मत लिनेभनेपछी नेकपा एमालेको विघटित वार्ता टोलीका नेताहरु पार्टी एकता जोगाउन आग्रह गर्दै वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर जाँदैछन् ।

शनिवार साँझ अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका दुवै पक्षका वार्ताकार नेताहरु आज वरिष्ठ नेता नेपालको निवास कोटेश्वर जाँदैछन् ।

केही नेता नेपाल निवासमा पुृगिसकेका छन् । कार्यदलले जुटाएको १० बुँदे सहमति अनुसार पार्टी एकतामा उभिन नेपाललाई आग्रह गरिने वार्ता टोलीका एक सदस्यले बताए ।

आजै प्रधानमन्त्री शेरवहादुर देउवाले विश्वासको मत लिने तयारी रहेकाले नेपाललाई संस्थागत निर्णयका आधारमा मात्र अघि बढ्न आग्रह गरिने उनले बताए ।

माधव नेपालले देउवालाई विश्वासको मत दिने बताइसकेका छन् । नेपाल समूहमा १० बुँदे सहमतिमै पनि असहमति छ । नेपालले निर्णय प्रक्रियामा हस्ताक्षरसहितको दोस्रो अध्यक्ष दाबी गरेका छन् ।

वार्ता टोलीका नेताहरु सुवास नेम्वाङ, भीम रावल, बिष्णु पौडेल लगायत नेपालसँग छलफल गर्न कोटेश्वर पुग्दैछन् । नेपालले अब संसद जोगाउने प्रक्रिया टुंगिएपछिमात्र एमाले एकताको प्रक्रिया थाल्ने निकटस्थहरुसँग बताएका छन् ।

संसद सचिवालय स्रोतका अनुसार आजको बैठक दुई चरणमा बस्नेछ । पहिलो चरणको कार्यसूची सम्पन्न भएपछि दोस्रो चरणमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने गरी तयारी गरिएको छ ।

सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

देउवाले प्रधानमन्त्रीमा नियुक्त भएको हप्तादिन भित्रै विस्वासको मत लिने तयारी गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज