गृहमन्त्री नियुक्त भएपछि खगराज अधिकारीले दिए अनौठो प्रतिक्रिया, को हुन खगराज ?
जेठ २७ , काठमाडौं । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले अनौठो प्रतिक्रिया दिएका छन । मन्त्री नियुक्त भएपछि प्रतिक्रिया दिदै उनले आफूले कामको विषयमा योजना बनाउन नभ्याएको बताएका छन् । बिहीबार पदभार ग्रहणपछि पत्रकारसँग कुरा गर्दै उनले अन्तिम समयमा मात्र मन्त्री पद टुंगो लागेकाले योजना बनाउन नभ्याएको बताए ।
‘३ बजेसम्म मन्त्री हुने थाहा थिएन । त्यसैले मसँग प्रिप्लान छैन’ उनले भने ‘तर गृह मन्त्रालय २४ घण्टा काम गर्ने मन्त्रालय हो । जनतालाई राहत दिन ढिला गर्नु हुँदैन । गृहबाट हुने काममा अब फाइल घुमाउने छुट छैन ।’
उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री हुँदाजस्तै काम गर्ने बताए । ‘अब त्यही गतिमा जानुपर्छ, कामबाटै परिणाम ल्याऔं ,काममै जाऔं’ उनले भने । मन्त्री अधिकारीले छिमेकी देशको विरुद्धमा नेपालको भूमि प्रयोग हुन नदिने पनि बताए ।
पोखरा महानगरपालिका ३१ स्थायी घर भएका अधिकारी एमालेका निवर्तमान सांसद हुन् । २०१८ चैत १३ मा जन्मेका उनका श्रीमती र एक छोरी छन् । अधिकारीको शैक्षिक योग्यता स्नातकोत्तर हो ।
२०२९ सालदेखि अनेरास्ववियुबाट राजनीतिक थालेका अधिकारी एमालेका पुराना नेता मानिन्छन् । २०३२ सालबाट कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका उनी २०४६ देखि २०५२ सालसम्म नेकपा मालेको कास्की जिल्ला सचिव थिए । २०६५ सालदेखि नेकपा एमालेको गण्डकी अञ्चल सचिव र अञ्चल इञ्चार्ज भए ।
एमालेको अनुशासन कमिटीको केन्द्रीय सदस्य एवं केन्द्रीय सल्लाहकार परिषदको उपाध्यक्षसम्म भएका अधिकारी २०७५ जेठपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय सदस्य र गण्डकी प्रदेशको सहइञ्चार्ज बने ।
२०५१ को मध्यावधि निर्वाचनबाट प्रतिनिधिसभा सदस्य बनेको अधिकारी तीनपटक सांसद बनेका व्यक्ति हुन् । २०५६ मा कास्कीबाट निर्वाचित उनी २०७४ मा कास्की १ बाट निर्वाचित भए । पार्टी एकीकरण पूर्व संसदमा तत्कालीन एमालेको प्रमुख सचेतकको भूमिका निर्वाह गरेका अधिकारी २०७० सालमा स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका थिए ।
प्रतिकृया दिनुहोस्