संसद विघटन पछि सिर्जित राजनीतिक परिस्थिति बारे यस्तो छ नेपाली सेनाको बिश्लेशन
जेठ २३, काठमाडौं । संसद विघटनपछि सिर्जित परिस्थितिले सुरक्षा चुनौती ल्याउन सक्ने नेपाली सेनाले विश्लेषण गरेको छ ।
कार्यकालको एक हजार वर्ष पूरा भएको अवसरमा पत्रकारहरुसँग बोल्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले पछिल्लो राजनीतिक परिस्थितिले सुरक्षा चुनौती ल्याउन सक्नेमा सेना सजग र सतर्क हुनुपर्ने बताए ।
‘परिस्थितिहरुको संवैधानिक प्रक्रियाबाटै समाधान खोज्नुपर्छ’, थापाले भनेका छन् । उनले सेनाले पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालेको पनि बताए ।
थापाले नेपाली सेना आफ्नो संवैधानिक दायित्वबाट बाहिर नजाने पनि बताएका छन् । उनले भने, ‘हरेक संकटमा सेनाको दायित्व र जिम्मेवारी संविधानले प्रष्ट गरेको छ ।’ सोही अवसरमा थापाले सेनामा नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु गरेको पनि जानकारी दिए ।
कार्यकाल सकिन तीन महीना बाँकी रहँदै उनले नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु गरेका हुन् । अन्तिम एक महीना विदामा बस्ने परम्परा अनुरुप त्यसअगावै नेतृत्व हस्तान्तरणलाई निष्ठापूर्वक र विस्तृतरुपमा गरिने थापाले बताए । सेनामा रथी प्रभुराम शर्मा थापाको उत्तराधिकारी बन्ने लाइनमा छन् ।
त्यस्तै उक्त भेटघाटमा प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाल कम्युनिष्ट पार्टी विप्लव समूह भविष्यमा फेरि द्वन्द्वको बाटोतिर नजाने सेनाको विश्वास रहेको बताएका छन् । थापाले सरकार र विप्लव समूहबीच भएको वार्ताले मूर्तरुप लिने पनि विश्वास व्यक्त गरे ।
‘सरकारले वार्ताको वातावरण सिर्जना गरेपछि अहिले समूहले राजनीतिक धारमा आउने सम्भावना देखाएको छ,’ थापाले भने, ‘विश्वास गरौं, यसले मूर्तरुप लिनेछ र नेपाली समाजलाई भविष्यमा द्वन्द्वको श्रृंखलामा अगाडि लैजानका लागि अगाडि बढ्ने छैन ।’
थापाले नेपाली जनताको चाहना र मुलुकको आवश्यकता पनि द्वन्द्व नभएको बताएका छन् । ‘त्यसकारणले कुनै पक्ष समाजमा गएर द्वन्द्व सिर्जना गर्छ, विखण्डन सिर्जना गर्छ भने त्यसलाई सेना, सम्पूर्ण सुरक्षा निकाय र राष्ट्रले पराजित गर्नेछ,’ उनले थपे, ‘राष्ट्रका सबै निकाय ‘होल अफ द नेसन’ अप्रोचमा गए ती प्रवृत्तिलाई स्वतः सामना गर्न सकिन्छ ।’
पूर्खाले नेपाल जोगाएको इतिहासलाई स्मरण गराउँदै उनले भविष्यमा पनि सेनाले सबै निकायको साथ लिएर राष्ट्रको रक्षा गर्ने बताए ।
प्रतिकृया दिनुहोस्