माधव नेपालसँग वार्ता गर्न ओलीले पठाए दुई दुत
वैशाख २६, काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीका दूतका रुपमा अर्थमन्त्री बिष्णु पौडेल र अर्का नेता सुवासकुमार नेम्वाङ वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गर्न सिंहदरबार पुगेका छन्।
सिंहदरबारमा आफूपक्षीय सांसदहरु छलफलमै रहेका बेला नेता नेपाल नेताद्वय पौडेल र नेम्वाङलाई भेट्न सिंहदरबार पुगेका हुन्। सोमबार दिउँसो आफू पक्षीय नेताहरुसँगको भेट एकै छिनलाई रोकेर नेता नेता पौडेल र नेम्वाङलाई संसद सचिवालयको दुई नम्बर भवनमा भेट गर्न पुगेका छन्।
बालुवाटारबाट निस्केर अर्थमन्त्री पौडेल र नेता नेम्वाङ केही बेर अर्थमन्त्रालयमा बसेर छलफल गरेपछि नेता नेपाललाई भेट्न पुगेका हुन्। वैशाख २७ गतेका लागि निर्धारित संसदको विशेष अधिवेशनअगाडि ओली र नेपाल पक्षबीच सहमतिको खोजी तीव्र भइरहे पनि अहिलेसम्म कुनै मध्यम विन्दु भेटिइसकेको छैन।
नेकपा एमाले विभाजनको उत्कर्षमा पुगेकै बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तर्फबाट वार्ता गर्न अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई खटाएका हुन् ।
ओलीको आधिकारिक प्रतिनिधि बनेर दुवै नेता अहिले सिंहदरबार पुगेका छन् । नेपाल पक्षका प्रत्यक्ष निर्वाचित सांसदले राजीनामाको लागि हस्ताक्षर गरेर बुझाइसकेको बेला ओलीले नेपालसँग वार्ताका लागि आफूनिकट नेतालाई पठाएको स्रोतले जनाएको छ ।
यसलाई ओलीको तर्फबाट नेपाल पक्षलाई पार्टीमा राख्न अन्तिम प्रयास भनिएको छ । पौडेल र नेम्वाङ यसअघि माधव नेपाल पक्षका दोस्रो तहका नेतासँग लगातार संवादमा थिए ।







प्रतिकृया दिनुहोस्