पदभार ग्रहण गरेकै दिन गण्डकीका नवनियुक्त प्रदेश प्रमुख पौडेल तानिइन विवादमा
वैशाख २२, पोखरा । गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सीता पौडेल पदभार ग्रहण गरेकै दिन विवादमा तानिएकी छन् । पदभार ग्रहण गरेलगत्तै पदीय मर्यादा विपरित अभिव्यक्ति दिएपछि उनी आलोचित भएकी हुन् ।
बुधबार सहिदचोकस्थित प्रदेश प्रमुखको कार्यालयमा पौडेलले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै सभामुखले राजीनामा दिनुपर्ने अभिव्यक्ति दिएपछि उनि आलोचित बनेकी हुन् । सभामुखको सोही भूमिकाप्रति आपत्ति जनाउँदै नवनियुक्त प्रदेश प्रमुख पौडेलले ‘उक्त’ अभिव्यक्ति दिएकी हुन् ।

‘गण्डकी प्रदेश सभा अवरुद्ध गराउने काम त सत्ता पक्षले गरेको होइन । यो अवरुद्ध गराउने काम त प्रतिपक्षीले नै ग¥यो । सत्ता पक्ष त यसलाई नियमित गरौं भन्ने पक्षमै छ नि ! सरकारलाई थाहा नदिएर कसैलाई थाहा नदिइ के त्यस्तो घडी प¥यो कि सभामुखले अनिश्चितका लागि सूचना जारी गरेर लथालिंग पार्ने काम त सभामुखले गर्नुभयो ?’ सञ्चारकर्मीसँग कुरा गर्दै उनले भनेकी छन् ।
प्रदेश सभामा विचाराधीन अविश्वास प्रस्तावसमेत निश्क्रिय भइसकेको ठोकुवा गर्दै प्रदेश प्रमुख पौडेलले अगाडि भनेकी छन्, ‘सभामुखको राजीनामा माग्ने घडी त आइसक्यो त । कम्तीमा पनि मिलाउनु प¥यो, अहिलेलाई बैठक स्थगित गरौं भनेर सल्लाह गरेको भए यो परिस्थिति आउने थिएन होला नि । त्यही भएर सभामुखमा धेरै समस्या थियो, त्यो के हो, सहजीकरण गर्ने, फुकाउनेमा मेरो भूमिका रहन्छ ।’
नवनियुक्त प्रदेश प्रमुखको अभिव्यक्ति सार्वजनिक भएपछि अहिले चर्को आलोचना भइरहेको छ । सत्ता इतरका दलले प्रदेश प्रमुखले संवैधानिक पद धारण गरेर अंवैधानिक अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाइरहेका छन् । नवनियुक्त प्रदेश प्रमुखको अभिव्यक्तिप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले कार्यकर्ताभन्दा तल्लोस्तरमा पुगेर प्रदेश प्रमुखले अभिव्यक्ति दिएको प्रतिक्रिया दिए ।

त्यस्तै नवनियुक्त प्रदेश प्रमुखको अभिव्यक्ति सार्वजनिक भएलगत्तै माओवादी केन्द्रका सांसद दीपक कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘माननीय ज्यू ! सबैले आ–आफ्नो मर्यादामा बस्न जान्नुपर्छ । सभामुख पद तपाईंले जस्तै गरी बक्सिस प्राप्त गरेको पद होइन । आफ्नो पदको गरिमा कायम राख्नुहोला ! तपाईं सेरेमोनियल पदमा आसिन हुनुहुन्छ ।’
कोइरालाले सभामुखको राजीनामा माग्ने वा नमाग्ने अधिकार प्रदेश प्रमुखको नभएको प्रतिक्रिया दिए । उनले भने, ‘उहाँको अभिव्यक्ति मर्यादाविपरित छ । सभामुख ज्यूको राजीनामा दिनुपर्ने, नपर्ने । अविश्वास प्रस्ताव चाँडै सुल्झिनुपर्ने वा नपर्ने भन्ने उहाँको सरोकारको कुरा होइन ।’
बैशाख १५ गते गण्डकीमा अविश्वास प्रस्ताव उपर मतदान गर्ने कार्यसूची थियो । तर, मतदानकै दिन जनमोर्चाका सांसद खिमविक्रम शाही एकाएक ‘गायब’ भएका थिए । आफ्नो पार्टीका सांसद सम्पर्कविहीन भएको भन्दै प्रमुख सचेतकसमेत रहेकी सांसद पियारी थापाले प्रदेश सभा सचिवालयमा ‘सांसद खोजी गरी पाऊँ’ भन्दै निवेदन दिएकी थिइन् । सोही निवेदनका आधारमा सभामुख नेत्रनाथ अधिकारीले सदन अनिश्चित कालका लागि स्थगन गरेका थिए । त्यसपछि प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्ताव विचाराधीन छ ।

त्यही सन्दर्भमा गण्डकी प्रदेशकी नवनियुक्त प्रदेश प्रमुख सीता पौडेलले पदभार गरेकै दिन (आज) संचारकर्मिहरू सँग प्रतिक्रिया दिदै सभामुख नेत्रनाथ अधिकारीको राजीनामा माग्नुपर्ने समय आएको बताएकी हुन ।
प्रदेशसभाले निरन्तरता पाउन नसक्नुको कारण सभामुख भएकाले सबै जिम्मेवारी उनैले लिनुपर्ने उनको भनाइ थियो । ‘कम्तीमा पनि मिलाउनुपर्यो । अहिलेलाई बैठक स्थगित गरौँ भनेर सल्लाह गरेको भए यो परिस्थिति आउने थिएन होला नि,’ पौडेलले बुधबार पदभारपछि पत्रकारहरूसँग भनेकि थिइन, ‘सभामुखको राजीनामा माग्ने घडी त आइसक्यो त । जिम्मेवारी सबै सभामुखले लिनुपर्छ । कसरी निकास दिने हो, त्यो सभामुखले नै ल्याउनुपर्यो ।’
सभामुखले कसैलाई जानकारी नदिई संसद् स्थगित गर्नुको कारणबारे पनि उनले प्रश्न गरेकि थिइन । ‘सरकारलाई थाहा नदिईकन के त्यस्तो घडी पर्यो कि सभामुखले अनिश्चितकालका लागि सूचना जारी गरेर लथालिङ्ग पार्ने काम गर्नुभयो ?,’ उनले सभामुखको कदमबारे प्रश्न गरिन् ।

एमाले नेतृ प्रदेश प्रमुख पौडेलले सत्तारुढ दलकै भाषा बोलेकी भन्दै सबैतिर आलोचना भैरहेको छ । सभामुखले ठूलो दलसँग छलफल नै नगरी बैठक स्थगित गरेको भन्दै एमालेका सांसदले राजीनामा माग्दै आएका छन् । सभामुख अधिकारीले भने निर्णायक सांसद ‘हराउनु’ संवेदनशील भएकाले आफूले उक्त कदम चालेको प्रतिक्रिया दिएका छन् ।








प्रतिकृया दिनुहोस्