August 25, 2026, Tuesday
२०८३ भाद्र ९, मंगलवार
सही हो सुर्य थापा ज्यू, हामी ‘असन्तुलित’ नै छौ

सही हो सुर्य थापा ज्यू, हामी ‘असन्तुलित’ नै छौ

घनश्याम अस्तिव
प्युठान

सुर्य थापा ज्यू, एउटा अन्तर्वातामा तपाईले ‘एकपाखे’ या यस्तै ‘पाखे’ खै के भन्दिनु भयो, सामाजिक सञ्जाल खुब तातेको छ । मलाई यी शब्दहरुमा त्यति चाँसो छैन । तपाईले ‘एक’ फ्ँयाकेर ‘पाखे’ भन्दिए पनि मलाई आपत्ति छैन । हामी छौ नै त्यस्तै, बस्छौ नै पाखाहरुमा । बरु अलिकन चाँसो मलाई तपाईले संगै बोलेको शब्द ‘असन्तुलित’संग हो । र, हामी साँच्चिकै ‘असन्तुलित’ नै छौ ।

लोकतन्त्रको प्राप्तिपछि लागेको थियो, देश साँच्चै समृद्धिको यात्रामा लाग्दैछ । दुईपटक संविधानसभाको चुनाव भएपछि ७२ असोजमा संविधानको घोषणा भयो । ०६२–६३ देखि ७२ सम्मको यो दशकमा नेपाली जनताले राज्यबाट प्राप्त गरेको एउटा त्यहि ‘किताब’ न हो । किताबमा लेखिएका शब्दहरुले त हामी सबैलाई गिज्याइरहेकै छन् । र, हामीले यसो भन्ठान्यौ, यो दशक संविधान निर्माणको दशक भयो, अरु हुनुपर्ने धेरै कुराहरुको निर्माण भएन पनि ।

संविधान निर्माण पश्चात त केही हुन्छ लागेकै हो । तर लाग्दालाग्दै आधा दशक बित्यो । अब अर्को आधा दशक पनि लाग्दालाग्दै बित्नेछ । म निश्चिन्त छु । आजको मितिसम्म कहीं केही नयाँ हुने सुरुआत कहींकतै देखिदैन ।

छोराको ह’त्याराको कारवाहीको माग गर्दै अनशन बसेर ६ बर्ष अघि ज्यान गुमाएका अधिकारीको लासले हामीलाई गिज्याइरहेको छ । हामी मौन छौ । डा. गोविन्द के.सी. स्वास्थ्य क्षेत्रको सुधारका खातिर भन्दै बारबार अनशन बसिरहेछन् । सरकार पागलको संज्ञा दिंदै लात हानिरहेछ । हामी मौन छौ ।

निर्मला पन्तको घटनाको साक्षी यो युगले हामीलाई बनायो, तर सरकारले सुन्ने गरि हामीले आवाजको झापडले हिर्काउन सकेनौ । किसानको पसिना भन्दा बढी आँसु झर्यो आँखाहरुबाट, हामी केबल हेर्न मात्रै सक्यौ । करोडौैंकरोड भ्रष्टचारका मुद्दाहरु सार्वजनिक भैरहँदा हामी मौन छौ । महामारी र महाआतंकको बीचमा सरकारले जोक सुनाइरह्यो, हामी मज्जाले हाँसेर बस्यौ ।

राज्यका सम्पूर्ण संयन्त्रहरुमा राज्यका अंगहरुका मालिकका भाइ, भतिजा, ज्वाँइ, बहिनी, सम्धी र सालाहरुको राज चलिरहँदा पनि हामी मौन छौ । गरिबी, भोक र अभावले जनतालाई कोर्रा लगाइरहेछ, सरकार मुश्कुराइरहेको टुलुटुलु हेरिरहेका छौ हामी ।

यस्तो ज्यादती चलिरहँदा पनि मौन बस्न त मानसिक सन्तुलन गुमाएकाहरुले मात्रै सक्छन्, एक चेतनशील मान्छेले सक्दैन । देशमा एउटै मान्छे जसले केही गर्यो, कुलमान । कुलमानको पुनःनियुक्तिको माग राख्दै हामीहरु सडकमा गइदिने ?

सत्य कुराको समर्थन गरेर सरकारलाई लज्जित बनाउने दुस्साहस गर्यौ हामीहरुले । हामीहरु पागल हौं । हेर्नु न थापा ज्यू, तपाई त सरकारको प्रेस सल्लाहकार, तपाईँको आवाज त सरकारको आवाज हो । स्वंय तपाई यति छाडा भइरहँदा हामी चाँही मौन बसिरहेछौ । अनि हामी ‘असन्तुलित’ नभएर अरु को हुन सक्छ?