October 2, 2023, Monday
२०८० आश्विन १६, मंगलवार
श्रममन्त्री किसान श्रेष्ठले दिए मधेसी समुदायप्रति लक्षित गरेर आपत्तिजनक अभिव्यक्ती

श्रममन्त्री किसान श्रेष्ठले दिए मधेसी समुदायप्रति लक्षित गरेर आपत्तिजनक अभिव्यक्ती

कार्तिक २५, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) विवादमा तानिएका छन् । उनले गृहजिल्ला तनहुँमा सोमबार आयोजित कार्यक्रममा आपत्तिजनक अभिव्यक्ति दिएपछि चौतर्फी विरोध भैरहेको छ ।

मन्त्री श्रेष्ठले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्दै मधेसी समुदायप्रति लक्ष्य गरेर आपत्तिजनक अभिव्यक्ति दिएपछि उनको चौतर्फी विरोध भैरहेको छ । बहालवाला मन्त्रीले विवादास्पद अभिव्यक्ति दिएको भन्दै सामाजिक संजालमा पनि उनको विरोध चर्किएको छ ।

‘दुईतिहाइको सरकार छाडेर देशै टुक्य्राउ भन्ने मधेसीहरूलाई १२र१४ जना मन्त्री बनायो,’ उनको भनाइ थियो । ओलीले मन्त्रीमा श्रीमान् श्रीमतीलाई आलोपालो अवसर दिएको र मन्त्रीलाई खरिदार, मुखियाजस्तो सरुवा गरेको टिप्पणीसमेत मन्त्री श्रेष्ठले गरेका थिए ।

श्रेष्ठ एकीकृत समाजवादीबाट मन्त्री भएका हुन् । मन्त्रीको अभिव्यक्तिबारे बुझेर पार्टीले कदम चाल्ने महासचिव वेदुराम भुसालले बताए । ‘उहाँले के भन्नुभएको छ, त्यो त मलाई शब्दशः थाहा छैन तर केपी ओलीले उपप्रधानमन्त्री बनाउनुभएका राजेन्द्र महतोले यो देशबाट स्वराज, मुक्ति आन्दोलन चलाउँछु भन्नुभएको थियो, त्यसैलाई संकेत गर्नुभएको होला,’ उनले थपे, ‘उहाँले के बोल्नुभएको हो र कस्तो आशय छ, त्यो सोध्नुपर्ला ।’

मन्त्री श्रेष्ठको अभिव्यक्ति नश्लीय र आपत्तिजनक भएको भन्दै आलोचना सुरु भएको छ । सामाजिक सञ्जालमा श्रेष्ठको उक्त अभिव्यक्तिको चर्को विरोध भइरहेको छ ।

तर बहालवाला मन्त्रीले विवादास्पद अभिव्यक्ति दिएको यो पहिलोपटक होइन । विगतमा पदीय मर्यादाविपरीत हुने अभिव्यक्ति दिएको भन्दै कतिपयले मन्त्री पद नै गुमाएका छन् । बंगलादेशमा चिकित्सा शिक्षा पढ्ने छात्राबारे दिएको अभिव्यक्तिका कारण २०७६ मा तत्कालीन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले राजीनामा दिनुपरेको थियो ।

२०६८ मा तत्कालीन रक्षामन्त्री शरतसिंह भण्डारीले ‘तराईका २२ जिल्लाका जनताले छुट्टिने निर्णय गरे संविधान, कानुनले रोक्न सक्दैन’ भन्ने अभिव्यक्ति दिएपछि तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले पदमुक्त गरेका थिए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज