September 19, 2024, Thursday
२०८१ आश्विन ३, बिहीबार
मर्मखोला तटबन्ध विवाद : गैरउपभोक्ता र वृद्धवृद्धाको समिति बनाएर ठेकेदारले गरे ६० लाखको काम

मर्मखोला तटबन्ध विवाद : गैरउपभोक्ता र वृद्धवृद्धाको समिति बनाएर ठेकेदारले गरे ६० लाखको काम

असार २३, सल्यान । कुमाख गाउँपालिकाको मर्मखोला अन्तरगत शान्तीबजार देखि स्यानिपिप्ली सम्म खोला कटान नियन्त्रण तथा तटबन्ध निर्माण आयोजनामा अनियमितता भएको खुलासा भएको छ ।

तटबन्ध निर्माणको लागि बनेको उपभोक्ता समितिमा नै गैरउपभोक्ता तथा ठेकेदारको बुहारी पदाधिकारी रहेको, भेलामा उपस्थित नभएको नक्कली हस्ताक्षर गरेर सदस्यमा राखेको र समितिमा अरु ३ जना ६० वर्ष माथिका वृद्धवृद्धा राखेर ठेकेदारले काम गरेको भन्दै खानेपानी, सिचाई तथा उर्जा विकास कार्यालय सल्यानमा परेको उजुरी कार्यालयले दर्ता नगरेपछि घटना बाहिर आएको हो ।

कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७७-०७८ को बजेट अनुसार खानेपानी, सिचाई तथा उर्जा विकास कार्यालय सल्यान बाट कार्यन्वयन भएको उक्त आयोजनाको उपभोक्ता समिति गठनमा सुरु देखि नै विवाद देखिएको थियो । उक्त तटबन्ध आयोजना निर्माणको लागि सुरुमै ३ वटा छुट्टाछुट्टै उपभोक्ता समिति गठन भएको थिए ।

बजेट प्राप्त भएपछि २०७७ साउन ३१ गते गाउँपालिका उपाध्यक्ष डिल्लीराज जैसी, वडा नं. २ का अध्यक्ष शेरबहादुर रावत र वडा नं. १ का सदस्य को रोहवरमा खडक आर्चाय अध्यक्ष रहेको पहिलो उपभोक्ता समिति बनेको थियो ।

त्यसैक्रममा ०७७ भदौमा सोही आयोजनाको लागि वडा नं १ का वडाध्यक्ष गोपाल बुढाथोकीको रोहवरमा ठकेन्द्र चन्द अध्यक्ष रहेको अर्काे दोस्रो उपभोक्ता समिति बनेको थियो ।

त्यस्तै त्यसको केही दिनपछि २०७७ भदौ २७ गते वडा नं ४ की महिला वडासदस्य हस्तकला आचार्यको रोहवरमा नारायन गिरी अध्यक्ष रहेको तेस्रो समिति बनेको थियो ।

उपभोक्ता समिति बनेपछि आयोजनाको काम अघि बढाउन संझौताको लागि वडा नं २ र गाउँपालिकाको सिपारिस ल्याएर आफु खानेपानी, सिचाई तथा उर्जा विकास कार्यालय सल्यानमा आएको तर कार्यालयले पछि गरौंला भनेर संझौता नगरेको पहिलो उपभोक्ता  समितिका अध्यक्ष आचार्यले बताए ।

ठकेन्द्र चन्द अध्यक्ष रहेको अर्काे दोस्रो उपभोक्ता समितिले पनि आयोजना संझौताको लागि वडा नं. १ बाट सिपारिस पाएको थियो भने गाउँपालिकाले सिपारिस दिएको थिएन । सो समितिले पनि संझौताको लागि खानेपानि सिचाई तथा उर्जा विकास कार्यालयमा कागजात पेश गरको थियो ।

त्यस्तै नारायन गिरी अध्यक्ष रहेको तेस्रो उपभोक्ता समितिलाई संझौताको लागि सुरुमा गाउँपालिका कार्यालयले मात्रै सिपारिस दिएको र वडा नं. ४ को कार्यालयले सिपारिस नदिएको भएता पनि फागुनमा आयोजना संझौता गर्ने वेला आएर व्याक डेडमा (पुरानो मिति) सिपारिस दिएको स्रोतले बतायो ।

वडाध्क्ष तिलविर बुढाथोकी ‘भेरी’ ले व्याक डेटमा सिपारिस दिएको हुनसक्ने कुरालाई पुष्टि गर्नसक्ने म्यासेन्जर च्याटको सामाग्री पनि नयाँ दृष्टिलाई प्राप्त भएको छ ।

ठेकेदारको समिति सँग सम्झौता :

यसरी ३ वटा समिति गठन भएर विवाद भएपनि खानेपानी, सिचाई तथा उर्जा विकास कार्यालय सल्यानले उक्त आयोजनाको कार्य सुचारु गर्न बनेका अन्य समितिहरु बिच आपसि सहमति बिना नै एकलौटी ढंगले नारायन गिरी अध्यक्ष रहेको समितिसँग आयोजनाको काम गर्ने सम्झौता गरेको पहिलो उपभोक्ता समितिका अध्यक्ष आचार्यले बताए ।

कार्यालयले सम्झौता गरेको उक्त उपभोक्ता समितिका अध्यक्ष नारायन गिरी निर्माण व्यवसायि ( ठेकेदार) केवल गिरीका सहोदर भान्जा,  उपभोक्ता नै नभएर कोषाध्यक्ष बनाइएकी भावना बुढाथोकी ठेकेदारकै बुहारी र सामाजिक सुरक्षा भत्ता खाने ६० वर्षा माथि उमेरकी सदस्य उत्तमिदेवी चन्द ठेकेदारकै दिदिसासु भएको आचार्यको भनाइ छ ।

यसरी एकाघरका परिवारको भेला बाट गैरउपभोक्ता, नक्कली हस्ताक्षर र ६० वर्ष माथिका वृद्धवृद्धा राखेर बनेको समितिको नाममा ठेकेदारले गुणस्तरहीन काम गरेकोले भुक्तानी रोक्नुपर्ने माग सहित आफुले दिएको उजुरी कार्यालयले दर्ता नगरेको र कार्यालय प्रमुख पदम देवकोटाले कुनै पनि हालतमा भुक्तानी नरोकिने बताएको पहिलो उपभोक्ता समितिका अध्यक्ष आचार्यले नयाँ दृष्टिलाई बताए ।

त्यस्तै समिति गठनको वेला भेलामा उपस्थित नभएका चुडामनि आचार्य वडा महिला सदस्य हस्तकला आचार्यका भतिज रहेको र उनको नक्कली हस्ताक्षर गरेर समितिको सदस्यमा राखिएको आचार्यको भनाइ छ । यसरी एकाघरका परिवारका सदस्य, गैर उपभोक्ता र वृद्धावृद्धाहरुको नाम मात्रको समिति बनेको र उक्त समितिको सम्पूर्ण काम ठेकेदार केवल गिरीले गरेको आचार्यले बताए ।

कुनै उजुरी आएको छैन : कार्यालय प्रमुख

तर खानेपानी, सिचाई तथा उर्जा विकास कार्यालय सल्यानको प्रमुख पदम देवकोटाले भने कार्यालयले संझौता गरेको समितिका विरुद्ध कुनै उजुरी नपरेको र आचार्यले गाउँको व्यक्तीगत रिसिविमा कार्यालयलाई विवादमा ल्याउन खोजेको बताए ।

३ वटा समिति सम्झौताको लागि आएपछि विवाद समाधानको लागि कार्यालयमा छलफल भएको र अरु २ समिति पनि नारायन गिरी अध्यक्ष रहेको समितिमा मर्ज हुने सहमति भएको र गाउँपालिकाले पनि सोही समिति आधिकारीक हो भनेर पत्र पठाएपछि उक्त समिति संँग संझौता गरेको कार्यालय प्रमुख  देवकोटाले बताए ।

साथै को उपभोक्ता हो – होइन वा काम ठेकेदारले गरेकी अरुले भन्ने आफुलाई था नहुन तर वडा र पालिकाको सिपारिसको आधारमा आफुले उक्त समिति सँग सम्झौता गरेको देवकोटाको भनाई छ ।

तर सुरुको उपभोक्ता समितिका अध्यक्ष आचार्यले भने आफ्नो उपस्थितिमा समिति मर्ज गर्ने खालको कुनै लिखित- मौखिक सम्झौता नभएको बताउछन । बरु कार्यालय प्रमुख देवकोटाले उक्त ६० लाख मध्ये ३० लाखको काम गर्न वा अर्काे ठाउँमा सोही बजेट बराबरको काम गर, बिरोध नगर भनेको भए तापनि आफु नगर्ने जवाफ दिएको उनले बताए ।

ठेकेदार र कार्यालयले सेटिङ गरेको आरोप :

पहिलो उपभोक्ता समितिका अध्यक्ष आचार्यका अनुसार खानेपानी, सिचाई तथा उर्जा विकास कार्यालयले तटबन्ध आयोजनाको काम गर्न संझौता गरेको नारायन गिरी अध्यक्ष रहेको समिति अरु समिति भन्दा पछि बनेको समिति हो भने उक्त समितिको कोषाध्यक्ष भावना बुढाथोकी उक्त आयोजना क्षेत्रको उपभोक्ता होइनन ।

त्यस्तै समितिका अर्का सदस्य चुडामनि आचार्य पनि समिति गठन हुदा नेपालगंज रहेको र माइन्युटमा उनको नक्कली हस्तान्क्षर गरेर समिति गठन गरिएको उनको दावि छ । यस बिषयमा चुडामणि आचार्यको प्रतिक्रिया लिन पटकपटक फोन सम्पर्क गर्दा फोन उठेंन  भने समितिका ३ जना ६० बर्ष माथिका वृद्धवृद्धा सदस्य मध्ये उत्तमादेवि चन्द सामाजिक सुरक्षा भत्ता बुझ्ने वृद्ध तथा ठेकेदार केवल गिरीकै दिदिसासु हुन् भन्ने आचार्यको दावी छ ।

उक्त उपभोक्ता समितिका अध्यक्ष नारायन गिरी निर्माण व्यवसायि केवल गिरीका सहोदर भान्जा तथा उपभोक्ता नै नभएर कोषाध्यक्ष बनेकी भावना बुढाथोकी उनकै बुहारी भएको उनको भनाई छ । त्यस्तै समिति गठनको वेला भेलामा उपस्थित नभएका चुडामनि आचार्य वडा महिला सदस्य हस्तकला आचार्यका भतिज रहेको पनि उनले बताए ।

यसरी कार्यालय र ठेकेदारको सेटिङमा एकाघरका परिवारका सदस्य र वृद्धावृद्धाहरुको नाम मात्रको समिति बनाएर उक्त समितिको सम्पूर्ण काम ठेकेदार केवल गिरीले गरेको आचार्यको आरोप छ । खानेपानी, सिचाई तथा उर्जा विकास कार्यालय सल्यानले ठेकेदार मार्फत नाम मात्रका उपभोक्ता समिति बनाएर आयोजनाको काम ठेकेदारहरुलाई बाड्ने गरेको चौतर्फी आरोपका बिच सार्वजनिक भएको यस घटनाले पनि कार्यालयलाई लागेको आरोपमा बल पुर्याएको छ ।

त्यस्तै सोहि खोलाको त्रिबेणी देखि रागेचौर सम्मको अर्को ३० लाखको तटबन्ध आयोजनामा पनि उस्तै विवाद भएको बुझिएको छ । उक्त  आयोजानामा पनि भैरव शाह र रोशन कुमाई अध्यक्ष रहेको २ छुत्ताछुट्टै समिति बनेको र वडा र गापाको सिपारिस ल्याएर रोशन कुमाईको समिति सम्झौताको लागि आउदा कार्यालयले टेन्डर मार्फत काम गराउने भने पनि पछि आएर भैरव शाहको समिति संग सम्झौता गरेको बुझिएको छ । शाह पनि निर्माण व्यवसायी हुन् ।

काम पनि गुणस्तरहिन :

एउटै आयोजनाको लागि छुट्टाछुट्टै ३ वटा उपभोक्ता समिति बन्नु र सवै उपभोक्ता समितिलाई छुट्टाछ्ट्टै वडाध्यक्ष्य र २ वटा समितिलाई गाउँपालिकाले समेत संझौताको लागि २ वटा समितिलाई सिपारिस गर्नुले उक्त आयोजनामा राजिनितिक चलखेल भएको हुन सक्ने बताईएको छ ।

उपभोक्ताको समितिको नाममा ठेकेदारले गरेको उक्त काम पनि गुणस्तरहिन भएको पाईएको छ । खोलाको सतहबाट फाउन्डेसन खनेर तटबन्ध निर्माण गर्नुपर्नेमा फाउन्डेसन नै नखनेर बनाईएको तटबन्ध असारमा आएको बाढीले भत्काउन सुरु गरेको छ भने केही तटबन्धका तारजालीहरु खोला भन्दामाथि बगरमा हालिएकोछ । तर खोलाको सतहभन्दा माथिका र फाउन्डेसन नखनेर हालिएका उक्त जालीहरु हटाएर मापदण्ड अनुसार तटबन्ध बनाउन कार्यालयले निर्देशन दिईसकेको र सोही बमोजिम काम भैरहेको कार्यालय प्रमुख देवकोटाले बताए ।

हेनुहोस, भत्किएका र खोलाको सतह माथि बगरमा बनाइएका तटबन्धका केहि फोटोहरु :

पढ्नुहोस – आचार्यको  नभएको उजुरी पत्र 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज