सुदूरपश्चिममा बहुमतमा रहेको माधव समुह द्वारा केपी पक्षका ७ सांसद निलम्बित
जेठ ३१, काठमाडौं । सुदूरपश्चिम प्रदेशको संसदीय दलमा बहमुमतमा रहेको माधव नेपाल पक्षले ओली पक्षका सात सांसदमाथि कारवाही गरेका छ ।
उनीहरुमाथि ७ दिनदेखि १० दिनसम्म निलम्बन गर्ने निर्णय गरिएको प्रमुख सचेतक दुर्गा विकले बताइन् ।
विकका अनुसार पठानसिंह बोहरा र रतन थापालाई १५ दिनका लागि निलम्बन गरिएको हो । यस्तै बलदेव र रेग्मी लिलाधर भट्टराई १० दिन तथा गेल्बुसिंह बोहरा, माया तामाङ बोहरा र नेपाली चौधरीलाई ७ दिनका लागि निलम्बन गरिएको छ ।
संसदीय दलको ह्वीप नमानेर सरकारलाई विश्वासको मत नदिएको तथा नीति तथा कार्यक्रम पारित गर्ने बेलामा पनि ‘हुन्न’ भनेकाले कारवाही गरिएको विकले बताइन् ।
त्यस्तै कर्णालीका पुनर्वहाली एमाले सांसद कुर्मराज शाहीले आफूहरू अहिले स्वतन्त्र सांसदको रूपमा रहेको बताएका छन् । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीसमेत रहेका शाहीले पार्टीले कारवाही फिर्ता नगरेसम्म आफूहरू स्वतन्त्र सांसदको हैसियतमा रहने बताएका हुन् ।
‘एमाले संसदीय दलबाट हटाउने समयमा पत्र पठाइएको थियो । पुनर्वहाली भएको पत्र पनि हाम्रो हातमा आउला नि । अहिलेसम्म आइपुगेको छैन ’,उनले भने, ‘हामीलाई नेकपा एमालेले पार्टीको साधारण सदस्यबाट कारवाही गरेर हटाएको थियो । त्यो पनि अहिलेसम्म के भएको छ जानकारी भएको छैन । दलले पुनर्वहाली भएको सूचना प्रदेशसभालाई दिएपनि पार्टीले कारवाही लिएको सूचना हामीसँग आइपुगेको छैन । तसर्थ अहिले हामी नेकपा एमालेका तर स्वतन्त्र सांसदको हैसियतमा छौं । भोलिको बैठकमा स्वतन्त्र सांसदको हैसियतमा प्रदेश सभामा जान्छौं ।’
उनले संसदीय दलले मन्त्री अम्मर थापालाई अपराधी करार गरेको भन्दै शुरूमा त्यो कारवाही फिर्ता हुनुपर्ने माग गरे । शाहीले भने, ‘हाम्रा एक सांसद थापालाई अपराधी घोषणा गर्दै प्रदेशसभामा आउन रोक लगाएका छन् । हामी प्रदेशसभामा गएका छैनौं ।’
उनी भन्छन्, ‘एमालेबाट कारवाही गरिएको भनेपछि कारवाही फिर्ता लिनुपर्ने हो । अहिले हामी कुन आधारमा एमालेको रोमा बस्न जाने ?’ उनले आफूहरू नेकपा एमालेकै जिम्मेवार कार्यकर्ता भएको बताउँदै यसबारेमा पार्टी केन्द्रमा उच्च नेताबीच सहमति हुनुपर्नेमा जोड दिए ।
प्रतिकृया दिनुहोस्