सल्यानका भूमिहिनका समस्या : न हातमा लालपुर्जा छ, न छ – खुर्सानी रोप्ने खोचो (बारी )
फागुन २२ सल्यान । सल्यानका भूमिहीन दलित तथा सुकुम्बासीहरूले आफुहरूलाई आवास तथा आयआर्जनको लागि जग्गा र लालपुर्जा उपलब्ध गराइदिन सरकारलाई अनुरोध गरेका छन । शुक्रबार इन्सेक सल्यानले सदरमुकाम खलंगामा आयोजना गरेको आवासको अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रममा आफ्ना पिडाहरू दर्साउदै उनिहरूले यस्तो बताएका हुन ।
“जनता आवास कार्यक्रम अन्तरगत हाम्रो टोलमा १४ परिवारको लागि घर बनेको छ तर ५ परिवारको लागि घर बनाउन बाँकी छ ।” शारदा नगरपालिका २ खलंगा संगीत टोलका विश्वराम गन्दर्भले भने, ‘तर ती घरको हामी सँग लालपुर्जा छैन, ऐलानीमा छन ।”
कार्यक्रममा सहभागी श्रीनगर शान्तिनगरकी अर्को भुमिहिन सहभागीले आफुहरूलाई सरकारले २ कोठे घर बनाइदिएको तर आय आर्जनको लागि जग्गा नभएको बताइन । “एउटा कोठामा परिवार थन्किएका छौं र अर्को कोठामा आय आर्जनको लागि च्याउ खेती गरेका छौं ।” उनले भनिन – “खुर्सानी रोप्ने पनि ठाउँ छैन । सरकारले जग्गा उपलब्ध गराइदिए आय आर्जनमा लाग्ने थियौं ।”
त्यस्तै शानपा १५ स्यालपानीकी बालकुमारी बादीले पनि आफ्नो टोलमा ३ जना भुमी र आवासबिहिन र १० जना भुमिहिन भएको बताइन ।
यी केही प्रतिनिधि घटना भएपनि सल्यान अन्य ठाउँमा पनि यस्ता समस्या रहेको बुझिएको छ । जिल्लामा भूमिहिनको समस्या धेरै नभएको तर अव्यवस्थित बसोबासको समस्या धेरै रहेको भूमिसम्बन्धी समस्या समाधान आयोग सल्यानका अध्यक्ष लोकबहादुर डाँगीले बताउनु भयो । जिल्लामा भूमिहिन र अव्यवस्थित बसोबास गर्नेको तथ्यांक संकलन गरिने उहाँको भनाइ छ ।
सल्यान जिल्लाको सन्दर्भमा भूमिसम्बन्धी ऐन २०७६ को आठौं संसोधन बमोजिम आवास नहुनेलाई आवासको लागि ३४० बर्ग मिटर र खेतीपातीको लागि ३ हजार बर्ग मिटर जग्गा सरकारले उपलब्ध गराउने उहाँले बताउनु भयो । भूमि सम्बन्धि समस्या लगत संकलन गर्न स्थानीय तहलाई सम्पुर्ण अधिकार दिइएकोले जुन स्थानीय तह सक्रिय हुन्छ त्यहिको काम छिटो हुने उहाँको भनाइ थियो ।
आवास समस्या समाधानका लागि सरोकारवाला बिच भएको अन्तरक्रिया कार्यक्रमको अध्यक्षता इन्सेक अध्यक्ष रामचन्द्र रेग्म केसीले ग र्नुभएको थियो भने सहजीकरण इन्सेककी मिना बुढाथोकीले गर्नु भएको थियो ।
प्रतिकृया दिनुहोस्