June 16, 2026, Tuesday
२०८३ असार २, मंगलवार
राष्ट्रपति र प्रधानमन्त्रीको जोडीबारे डाक्टर बाबुराम  भट्टराईको पुनः कडा टिप्पणी

राष्ट्रपति र प्रधानमन्त्रीको जोडीबारे डाक्टर बाबुराम भट्टराईको पुनः कडा टिप्पणी

काठमाडौं, पुष ३ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीलाई कार्वाहीको माग गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीलाई महाअभियोग र ओलीलाई अविश्वास प्रस्ताव लगाएर हटाउनुपर्ने माग भट्टराईले गर्नुभएको हो ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको जोडी कायम रहेसम्म संविधान र लोकतन्त्रको शीरमाथि तरबार झुण्डिरहने आरोप भट्टराईले लगाउनुभएको छ ।

संविधानले व्यवस्था गरेको महाअभियोग र अविश्वास प्रस्तावमार्फत् हटाउन खुट्टा कपाए इतिहासले क्षमा नगर्ने पनि उहाँको भनाइ छ ।

सामाजिक सञ्जाल ट्वीटरमा भट्टराई लेख्नुहुन्छ, ‘वर्तमान राष्ट्रपति र प्रमको जोडी कायम रहेसम्म संविधान र लोकतन्त्रको शीरमाथि तरबार झुण्डिरहने कटुसत्य अहिलेसम्मका घटनाक्रमले पुष्टी गरिसके । अब पनि त्यस्तो अनिष्ट रोक्न संविधानले व्यवस्था गरेको महाभियोग, अविश्वासलगायतका हतियार प्रयोग गर्न खुट्टा कपाउनेलाई इतिहासले क्षमा गर्नेछैन है !’

प्रधानमन्त्री ओलीले आफूनुकूल ल्याएका अध्यादेश राष्ट्रपति भण्डारीले तत्कालै जारी गर्ने गरेको भन्दै भट्टराईले यस्तो माग गर्नुभएको हो ।

पछिल्लो समय संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन संशोधनका लागि अध्यादेश ल्याएपछि प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीको आलोचना भइरहेको छ ।

सत्तारुढ नेकपाभित्र अध्यक्ष पुष्पकमल दाहाल–नेता माधव नेपाल समूहले अध्यादेश फिर्ता नलिए संसदको विशेष महाधिवेशन बोलाउने चेतावनी दिएपछि ओलीले अध्यादेश फिर्ता लिने बताए पनि फिर्ता भने अझै लिनुभएको छैन ।