रसिद नदिएरै शुल्क लिदा आलोचना भएपछि धमाधम रसिद दिदै विद्यालयहरु, घटना प्रति अखिल ‘क्रान्तिकारी’को पनि ध्यानाकर्षण
कार्तिक २४, सल्यान । सल्यानका बिभिन्न विद्यालयहरुले कक्षा ११ को परिक्षा संचालनको लागी भन्दै बिल तथा रसिद नदिएरै विद्यार्थीहरु बाट शुल्क बापत लाखौं रकम लिएको विषयमा समाचार प्रकाशन र आलोचना भएपछि अहिले विद्यार्थीहरुलाई शुल्क तिरेको रसिद धमाधम वितरण गरिरहेको बुझिएको छ ।
परिक्षा संचालनको लागी शुल्क लिए बापत विद्यार्थीहरुलाई कुनै पनि विल तथा रसिद उपलब्ध नगराएका सल्यानका जनकल्यान नमुना माबि थारमारे, त्रिजमाबि माल्नेटा, र बालकन्या माबि कोटबाराले उक्त विषयमा समाचार प्रकाशन, प्रसारण र चौतर्फी आलोचना भएपछि अहिले विद्यार्थीहरुलाई शुल्क लिएको रसिद वितरण गर्न थालेको उक्त विद्यालयका प्रधानाध्यापकहरुले बताएका छन ।
परिक्षामा सहभागी हुन शुल्क तिरेको केहि दिन पछि शुल्क तिरेको रसिद आफुले पाएको जनकल्याण नमुना माबि थारमारे बाट परिक्षामा सहभागी भएका एक विद्यार्थीले नया ँदृष्टी डटकमलाई बताए ।
त्यस्तै सरस्वती माबि शिवरथले परिक्षा सकिए पछि सहभागी विद्यार्थीहरु बाट प्राप्त रकम एकैचोटी बैंकमा जम्मा गरिने प्रधानाध्यापक रामरोषनी बस्नेतले बताएका छन । भानुभक्त माबि दमाचौरका प्रधानाध्यापक टेकबहादुर पुनले भने भोली स्टाफ मिटिङ बसेर विद्यार्थीलाई शुल्क तिरेको रसिद उपलब्ध गराउने निर्णय गरिने बताए ।
सोहि बिषयमा बुझ्न खोज्दा दुर्गा सरस्वती माबि बाफुखोला, महेन्द्र माबि कुमाईगाउँ र महेन्द्र रत्न माबि पिपलनेटाका प्रधानाध्यपकहरु सँग भने फोन सम्पर्क हुन सकेन ।
घटना प्रति विप्लव निकट अखिल ‘क्रान्तिकारी’को पनि ध्यानाकर्षण
त्यस्तै रसिद नदिएर शुल्क लिएको बिषयमा समाचार प्रकाशन भएपछि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल ‘क्रान्तिकारी’ सल्यानले पनि घटना प्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।
जिल्ला अध्यक्ष गणेश क्षेत्री प्रभाकरले आईतबार एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो बताएका हुन । ‘जिल्लाका ८ बटा विद्यालयले कक्षा ११ को परिक्षा संचालनको लागी विद्यार्थीहरु बाट लाखौं रकम उठाए पनि शुल्क लिए पश्चात विद्यार्थीलाई दिनु पर्ने रसिद तथा विल मनोमानी गरेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तीमा भनिएको छ – ‘शिक्षा जस्तो क्षेत्रमा मनोमानी गर्ने, मुनाफा लिने, आर्थिक अपारदर्शिता गर्ने र विद्यार्थी अविभावकलाई मर्का पार्ने यस्तो घृणित कार्यप्रति घोर निन्दा प्रकट गर्दछौ ।’
साथै विद्यार्थीबाट लिएको शुल्क फिर्तागरि शिक्षालाई सर्वसुलभ र निशुल्क बनाउन पनि क्रान्तिकारीले आग्रह गरेको छ ।
र, यो पनि :सल्यानका ८ बिद्यालय : जस्ले परिक्षा शुल्क लिए, रसिद दिएनन्
प्रतिकृया दिनुहोस्