February 7, 2025, Friday
२०८१ माघ २५, शुक्रबार
दाईको पर्खाइमा बितेका बेपत्ता विपिनकी बहिनी : पुष्पाका दुई तिहार

दाईको पर्खाइमा बितेका बेपत्ता विपिनकी बहिनी : पुष्पाका दुई तिहार

कञ्चनपुरका विपिन जोशी सम्पर्कविहीन बनेको १ वर्ष बढी भइसकेको छ । गत वर्षको असोज २० गतदेखि अर्न एन्ड लर्न कार्यक्रमका इजरायल पुगेका जोशी सम्पर्कविहीन बनेका थिए । अहिले सम्म परिवार न सरकार, कसैलाई पनि उनको अवस्था थाहा छैन । छोटो समय युद्धविराम हुँदा र त्यसअघि–पछि फाट्टफट्ट गरी केही बन्धकलाई हमासले रिहाइ गरिसक्दा विपिन पर्न सकेनन्  ।

दुइ तिहार बितिसक्दा पनि विपिन जोशीको केहि खबर आएको छैन । उनका परिवार अझै विपिन को पर्खाइमा छन्! यसपालि पनि तिहारको रङ्गिन उत्सवले भीमदत्त नगरपालिकालाई सिङारिरहेको छ । हरेक चोक, घर, आँगन झिलिमिली बत्ती र रंगोलीले उज्यालो बनेको छ । तर बिपिन जोशीको बहिनी पुष्पा लाई भने तिहारको कुनै उत्साह देखिँदैन ।

हरेक घरमा खुशीयाली र हर्षको बाढी छ, तर पुष्पा भने दाई आउने बाटो पर्खेर बसिरहेकी छिन् । उनको आँखामा झलझल्ती दाई विपिनको तस्बिर आइरहन्छ । पुष्पा सम्झिन्छिन् , ‘तिहारमा दाई संगै देउसी भैलो खेल्न गएको संगै रंगोली बनाएको ती दिनहरू ।’ अनि दाई संगै मनाएका पुराना तिहारको तस्बिर हेर्दै बसेकी छिन् पुष्पा । दाई फर्किएर आउने आशामा ।

गत वर्ष पनि उनले दाई आउने आसमा मखमलीको माला बनाएकी थिइन् । तर विपिनको कुनै अत्तोपत्तो लागेन । यसपाली पनि धेरै फूलहरू रोपेकी थिइन् । तर अझै पाई दाईको कुनै अत्तोपत्तो छैन । पुष्पा भन्छिन् , “दादा सकुशल फर्किनुहोला भन्ने आश छ । मलाई थाहा भएदेखि दादालाई टीका लगाउन छुटाएकी थिईन । अघिल्लो सालबाट तिहार छुट्यो ।अघिल्लो साल पनि दादालाई जतिबेला आएपनि लगाउला भनेर माला बनाएकी थिएँ, त्यो त्यतिकै सुकेर गयो, ‘यसपाली पनि धेरै फूल रोपेकी थिए, दाईको कुनै अत्तोपत्तो नै छैन । अहिले पनि बाटो हेर्दाहेर्दै भाइटिका सकियो ।”

 

 

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज