आफन्तबाट लुटपाटको मनसायले यसरी गरेका थिए मुगु हत्या काण्ड
कार्तिक २४, मुगु ।
मुगुको छायाँनाथ रारा नगरपालिका-६, मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहरा आफ्ना तीन सन्तान एक्लै हुर्काउँदै थिइन् ।
एघार वर्षीय ७ वर्षीया अप्सरा र ५ महिने रहर उनीसँगै बस्थे। श्रीमान दीपक रोजगारी सिलसिलामा कतारमा थिए । दीपक गत मंसिरमा मात्रै कतार गएकाले यसपालि दसैंमा टीका थाप्न घर आएका थिएनन् ।
श्रीदेवी र उनका छोराछोरीले कात्तिक ७ गते मुन्दुकै घरमा दसैं मनाए। त्यसपछि उनीहरू टीका थाप्न माइती गए । श्रीदेवीको माइती मुन्दुबाट दुई घन्टा दुरीमा छ ।
उनी टीकाको दिन माइतीमै बसिन्। कात्तिक ८ गते साँझ ६ बजेतिर घर फर्किन् ।
कात्तिक ९ गते दिनभरजसो श्रीदेवीको घरआँगन शान्त नै थियो । अरू बेलाजस्तो बालबच्चाको हल्लाखल्ला केही सुनिएको थिएन । घरमा ताला पनि लगाइएको थियो । त्यसैले श्रीदेवी माइतीबाट फर्किएको/नफर्किएको कसैले चाल पाएनन् ।
कात्तिक १० गते बिहान भने छिमेकीलाई शंका लागेर ताला फोडे। घर पूरै रक्ताम्य थियो । श्रीदेवीको शव भान्सामा भेटियो भने अन्य बालबालिका पनि कोठामा मृत फेला परे । धारिलो हतियार प्रहार गरी उनीहरूको वीभत्स हत्या गरिएको थियो ।
गाउँमा एकै परिवारका चार जनाको हत्यापछि कर्णाली प्रदेश प्रहरी कार्यालयले प्राथमिकतासाथ अनुसन्धान बढायो ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापासँगै कर्णाली प्रदेश प्रहरी कार्यालयबाट वरिष्ठ सई नारायण शर्मा र नेपाल प्रहरी प्रदेश कार्यालय कर्णालीबाट प्रहरी निरीक्षक बुद्धि सुवेदीको छुट्टाछुट्टै टोली खटियो ।
अनुसन्धानको जटिलता देखेर कर्णाली प्रदेश प्रहरी प्रमुख डिआइजी भीमप्रसाद ढकाल आफैं मुगु पुगे ।
तर सातादिन बित्दा पनि घटना कसरी भयो, किन भयो, कसले गर्यो; त्यसको कुनै सुइँको प्रहरीले फेला पार्न सकिरहेको थिएन ।
प्रहरीले विभिन्न व्यक्तिसँग सोधपुछ गर्यो तर कसैलाई पक्राउ गरेन ।
यसबीच प्रहरी प्रधान कार्यालय नक्सालले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट प्रहरी नायब उपरीक्षक (डिएसपी) धर्मराज भण्डारीलाई घटनास्थलमा खटायो ।
प्रहरीले विभिन्न पाटोबाट अनुसन्धान गरिरहेको थियो । हत्या हुन सक्ने कारणहरू पनि केलाइरहेको थियो । विवाहेत्तर सम्बन्ध, लुटपाट, सम्पत्ति लगायतका कारण हुनसक्ने प्रहरीको अनुमान थियो ।
छरछिमेकसँग सोधपुछ गर्दा मृतक श्रीदेवीको श्रीमानसँग राम्रो सम्बन्ध रहेको थाहा भयो । यसले विवाहेत्तर सम्बन्धले हत्या निम्त्याएको हो भन्नेमा प्रहरीलाई त्यति शंका लागेको थिएन ।
घटनास्थलबाट केही सामान हराएको हुनसक्ने प्रहरीको शंका थियो । यसले कोही नजिककै व्यक्तिबाट हत्या भएको हो कि भन्ने अनुमान गरिएको थियो ।
यसरी अनुसन्धानको घेरा साँघुरो पार्दै जाँदा प्रहरीले त्यही गाउँबाट दुई जनालाई पक्राउ गर्यो ।
पक्राउ पर्नेहरू २६ वर्षीय गोपाल बोहरा र बाँके कोहलपुर बस्ने ३० वर्षीय गोरखबहादुर शाही छन् । गोपाल श्रीदेवीको आफ्नै मामाका छोरा हुन् भने गोरखबहादुर पनि नातेदार नै हुन् । गोपाल यसका मुख्य योजनाकार रहेको प्रहरीले जनाएको छ ।
प्रहरी स्रोतका अनुसार गाउँमा सम्पत्तिको हिसाबले मृतक परिवार अरूभन्दा धनी मानिन्थ्यो ।
‘श्रीमान कतार बस्थे । उनले त्यहाँ बसेर महिनामा लगभग डेढ लाख जति कमाउने रहेछन्,’ प्रहरी स्रोतले भन्यो, ‘गोपालसँग खासै सम्पत्ति केही थिएन । अल्लारे भएर हिँड्ने खालका व्यक्ति हुन् ।’
श्रीमान विदेशमा रहेकाले श्रीदेवीको घरमा ठूलो धनसम्पत्ति हुनुपर्ने गोपालको अनुमान थियो । उनी थुप्रै सुन र नगद पाउने आशामा थिए । यही लोभमा उनले गोरखबहादुरसँग मिलेर श्रीदेवीको हत्या गर्ने योजना बनाए ।
प्रहरीका अनुसार उनीहरूले पहिलोपटक हत्या गर्ने प्रयास गत जेठमै गरेका थिए । तर योजना बनाए पनि त्यस बेला हत्या र लुटपाट केही गरेनन् ।
‘योजना धेरै पहिले बनेको थियो । जेठमै मार्ने भनेका रहेछन् । तर त्यति बेला श्रीदेवी गर्भवती थिइन्,’ अनुसन्धानमा संलग्न प्रहरीले भने, ‘गर्भवती भएकाले उनीहरूले हत्या नगरेको भनेका छन् ।’
त्यसपछि गत असोजमा एकदिन भेटेर उनीहरूले फेरि हत्या गर्ने योजना बुने । त्यस बेला उनीहरूले कात्तिकमा दसैंपछि हत्या गर्ने योजना बनाएको प्रहरीले बताएको छ ।
योजनाअनुसार नै दसैंमा टीका थापेर फर्किएकी श्रीदेवी र तीन सन्तानलाई उनीहरूले पछ्याएका थिए । जसै उनीहरू घर पुगे, गोपाल र गोरखबहादुरले भित्र पसेर चारै जनाको वीभत्स हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्यापछि गोरखबहादुरले श्रीदेवीको मोबाइल फोन र कानका गहना लिए। घरमा अरू नगद र गहना भने फेला नपरेको प्रहरीको भनाइ छ ।
‘पैसा भेटिएको देखिएन । तर कानमा लगाएको अन्दाजी दुई तोलाको सुन लिएर गए । फोन र हत्यामा प्रयोग गरिएको हतियार पनि लिएर गए,’ अनुसन्धानमा संलग्न प्रहरीले भने, ‘सुन फेला परेको छैन ।’
हत्यापछि घरमा ताला लगाएर उनीहरू निस्किएका थिए ।
घटना बाहिरिइसक्दा पनि गोपाल त्यहीँ वरिपरि नै देखिएका थिए। कोहलपुरका गोरखबहादुर भने भागिसकेका थिए । श्रीदेवीको फोन उनकै साथमा थियो । त्यही फोनबाट उनले कतारमा रहेका दीपकलाई घटनास्थलका तस्बिरहरूसमेत पठाए ।
आफ्नो परिवार नै सखाप हुने गरी घटना भएको थाहा पाएपछि दीपक नेपाल फर्किएका छन् । उनी मानसिक रूपमा विक्षिप्त छन् ।
यता प्रहरीले दुई अभियुक्तविरूद्ध जिल्ला अदालत मुगुबाट कर्तव्यज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको छ ।
लेखकको सम्वन्धमा