अमेरिकी डीभी चिठ्ठाको आवेदन खुल्यो : घरबाटै कसरी भर्ने ?
असोज १८, काठमाडौं ।
सन् २०२५ को अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (ईडीभी) कार्यक्रमको लागि बुधबारदेखि आवेदन खुलेको छ । नेपाली समय अनुसार असोज १७ गते राति ९:४५ बजेबाट आवेदन दर्ता सुरु भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।
यो कार्तिक २१ मा नेपालमा स्थानीय समय अनुसार १०:४५ बजे बन्द हुनेछ । डि.भी. चिट्ठामा प्रवेश गर्नका लागि कुनै पनि शुल्क लाग्दैन ।
अमेरिकी दूतावासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिएको छ । आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला, अमेरिकी दूताबासले विज्ञप्ती जारी गरी भनेको छ ।
घरबाटै मोबाइल वा ल्यापटपबाट कसरी आवेदन भर्ने ?
सन् २०२५ को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा आवेदकले मोबाइल वा ल्यापटपमा गुगल क्रोम वा फाररफक्स जस्ता माध्यमबाट www.dvlottery.state.gov मा गई त्यहा सोधिएका विवरण उल्लेख गरि इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डि.भी.) आवेदन फारम भर्नु पर्नेछ ।
दर्ता गर्दा आफ्ना पति/पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै आवेदन अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य छ । उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिनेछ । तपाईँले एउटा मात्र आवेदन बुझाउनु पर्नेछ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू चिट्ठाका लागि अयोग्य ठहरिनेछन् ।
अघिल्लो वर्षको डि.भी. आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गर्न मिल्दैन । फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ र प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नु पर्नेछ । र फोटो खिच्दा आवेदकहरूले चश्मा लगाउनु हुँदैन ।
डिभी भरेपछि आफ्नो कन्फर्मेसन नम्बरलाई सेभ वा प्रिन्ट गरेर राख्नुपर्नेछ । किनकी यो नम्बर नै स्टेटस चेक गर्ने एक मात्र तरिका हो ।
#Dv 2025
#डिभी आवेदन कसरी दिने
लेखकको सम्वन्धमा