चुनढुङ्गा उत्खनन कार्य रोक्न सल्यानका ५ राजनीति दलहरुको ध्यानाकर्षण
बैशाख ३१, सल्यान ।
सल्यानको शारदा नगरपालिका ६ खामेलेखमा चुनढुङ्गा उत्खनन गर्ने प्रक्रिया तत्काल रोक्न सल्यानका ५ राजनीति दलहरुले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छन ।
आइतबार जिल्लामा क्रियासिल प्रमुख राजनीतिक दलहरू नेपाली काङ्ग्रेसका जिल्ला सभापति केश बहादुर बिष्ट, नेकपा एमालेका जिल्ला अध्यक्ष गोबिन्द पुन, नेकपा माओवादी केन्द्रका संयोजक कृति बहादुर पुन, राप्रपा सल्यानका अध्यक्ष नेत्रलाल श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष हरि केसीको संयुक्त हस्ताक्षरित प्रेस बिज्ञप्तिमा दीर्घकालीन योजना नबनाई चुन ढुङ्गा उत्खनन गरेर जिल्ला बाहिर लिने प्रक्रिया अगाडि नबढाउन आग्रह गरिएको छ ।
खनिज पदार्थको उत्खनन देशको अर्थतन्त्रसंग जोडिएको भएपनी त्यसलाई उत्खनन गर्दा समस्याको समाधानको कुनै योजना नबनाई सान्दर्भिक नहुने, चुनढुङ्गा उत्खनन गर्दा त्यस क्षेत्र आसपासका स्थायी वस्तीलाई कसरी ब्यबस्थापन गर्ने? भोलि आउने वातावरणीय नकारात्मक प्रभाव (धुवाँ, धुलो कोलाहल) कसरी रोक्ने ? भूक्षयलाई कसरी रोक्ने र कच्चापदार्थ लैजान प्रयोग हुने ठुला भारवहन क्षमताका गाडी चल्ने वैकल्पिक मार्ग नहुदा र त्यसलाई राप्ती राजमार्गले थेग्न सक्ने कि नसक्ने ? यी यावत बिषयको गम्भीर अध्यन नगरी हचुवाको भरमा चुनढुङ्गा निकाल्ने कुरा पुर्ण रुपमा अमान्य हुने बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
उद्योग धन्दा खनिज पदार्थ उत्खननमा स्थानीयबासीहरुको पहिलो सहभागिता हुन आवस्यक छ र यो विश्वब्यापी मान्यता भएपनी यो चुनढुङ्गा उत्खनन कार्यमा स्थानीयबासीहरुको सहभागिता कहि कतै सुनिश्चित नभएको, लगानी सहभागितामा स्थानीयको अग्रअधिकार र रोजगारीको शृजनामा उनिहरुको पहिलो प्राथमिकता हुनुपर्ने भएपनी त्यस अनुसार नदेखिएको हुनाले साथै चुनढुङ्गा निकाली सोही ठाउँ वा जिल्ला भित्र प्रशोधन गरि सिमेन्ट तयार गर्नेसम्मको काम हुदा केही हदसम्म स्थानीयहरुको रोजगारीको ग्यारेन्टी हुनसक्ने अवस्था आउन सक्ने तर कच्चापदार्थ निकाली जिल्ला बाहिर लैजाने कुराले जिलावासीलाई कुनैपनि हिसाबले हित हुन नसक्ने कुरा बिज्ञपतिमा उल्लेख गरिएको छ ।
चुनढुङ्गा उत्खननकोलागि कम्पनीले हाल शारदा नगरपालिका वडा न. ६ संग सिफारिसकोलागि प्रक्रिया अघि बढाइएको हुनाले यसले जनतालाई पार्ने नकारात्मक प्रभाव बारे स्थानीय सरकारले बुझ्ने कुरामा बिश्वस्त रहेको र यी सबै कुराको सुनिश्चितता नहुदासम्म तत्काल सो कार्य रोक्न सम्बन्धित सबै सरोकारवालाहरुलाइ आग्रहपनि गरिएको छ ।
यस्तो छ बिज्ञप्ति
प्रतिकृया दिनुहोस्