June 19, 2026, Friday
२०८३ असार ६, शनिबार
खानी तथा भुगर्भ विभागले सल्यानको सहित नौ वटा खानीबाट खनिज उत्खननका लागि ठेक्का खुलायो

खानी तथा भुगर्भ विभागले सल्यानको सहित नौ वटा खानीबाट खनिज उत्खननका लागि ठेक्का खुलायो

 

चैत ०९, काठमाडौं । खानी तथा भुगर्भ विभागले महत्वपूर्ण नौं वटा खानीहरु ठेक्कामा लगाउने भएको छ ।

सार्वजनिक सूचना मार्फत इच्छुक उत्खनन् कर्ताहरुका लागि प्रकाशित गरिएको सूचनामा देशका विभिन्न भागमा रहेका चुन ढुंगा तामा, डोलोमाइट म्याग्नेसाइट, फस्पोरस, फस्फोराइट लगायतका खनिज पदार्थहरुको उत्खनन् गर्न पाउने भएका हुन् ।

विभागले चुन ढुंगाका दुईवटा, तामाका तीन वटा, फस्फोराइटका दुईवटा, म्याग्नेसाइटको एउटा र डोलोमाइटको एउटा खानी उत्खनन्का लागि ठेक्का दिन लागेको हो । जस अनुसार कर्णाली प्रदेशको सल्यान जिल्ला शारदा नगरपालिका ६ खामे लेकमा रहेको पाँच वर्ग किलोमिटर क्षेत्रफलबाट चुन ढुंगा उत्खनन् गर्नका लागि इच्छुक कम्पनीले कम्तिमा ९० लाख ८० हजार रुपैयाँबाट बोलपत्र पेश गर्न सक्नेछन् ।

त्यसैगरी, धादिङ र मकवानपुरमा रहेका १२/१२ वर्ग किलोमिटर क्षेत्रमा रहेका तामाखानीबाट तामा उत्खनन् गर्न चाहनेलाई क्रमशः ३९ लाख रुपैयाँ र १२ लाख ७० हजार रुपैयाँ न्युनतम दरभाउ गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

खोटाङको हलेसीमा रहेको ८.२५ वर्ष किलोमिटर क्षेत्रमा फैलिएको डोलोमाइटको खानीबाट सो खनिज पदार्थ उत्खनन् गर्न इच्छुकले भने कम्तिमा एक करोड ५५ लाख रुपैयाँमा बोलपत्र पेश गर्नुपर्छ ।

त्यसैगरी, उदयपुरको त्रियुगामा रहेको म्याग्नेसाइटको खानीबाट खनिज पदार्थ उत्खनन् गर्नेले न्युनतम ८७ लाख रुपैयाँ रकम कबोल गरी दरखास्त दिन सक्नेछन् भने, सर्खेतको चुनढुंगा खानीबाट सो खनिज उत्खनन् गर्न इच्छुकले कम्तिमा ९४ लाख रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।

बैतडीका दुई भिन्न भिन्न स्थानमा रहेका फस्फोराइट खानीबाट उत्खनन् गर्न चाहनेले ६७ लाख र २७ लाख रुपैयाँ न्युनतम रकममा ठेक्का लिनुपर्ने खानी विभागले जनाएको छ । त्यहाँ ८ वर्ग किलोमिटर र ५ वर्गकिलोमिटरमा फैलिएका दुई फस्फोराइट खानी रहेका छन् ।

२०७२ सालको भुकम्पको केन्द्रबिन्दु रहेको गोरखाको बारपाक स्थित लगभग ६ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको तामाखानीबाट तामा उत्खनन् गर्ने इच्छुक कम्पनीले भने न्युनतम १७ लाख ८० हजार रुपैयाँ कबोल गरेर बोलपत्र पेश गर्न सक्ने खानी विभागले जनाएको छ ।

इच्छुक कम्पनीहरुले सम्भाव्य अनुमति पत्रका लागि १५ हजार रुपैयाँ र उत्खनन् अनुमतिका लागि २५ हजार रुपैयाँ तिरेर यो प्रक्रियामा सामेल हुन सक्नेछन् भने प्रतिस्पर्धाका लागि सूचना प्रकाशित भएको ६० दिन भित्रमा आवेदन दिनुपर्ने गरी फागुन १४ गते सार्वजनिक सूचना विभागले प्रकाशित गरेको हो ।