सल्यानका भीम भारती काठमाडौँमा सम्मानित
पुस २०, सल्यान । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय प्रतिनिधि कमरेड भीम भारती राजधानी काठमाडौँमा सम्मानित हुनु भएको छ ।
देशको संघिय राजधानी काठमाडौँमा एक सामुदायिक विद्यालयमा दुई कार्यकाल प्रभावकारी समाजसेवा गरेको कारण भारती सम्मानित हुनुभएको हो । काठमाडौँको टोखा नगरपालिका वडा नबर ७ धापासी स्थित तितिङ्गाटार नमुना माध्यमिक विद्यालयमा २०७३ सालदेखि २०७८ सालसम्म दुई कार्यकाल विद्यालय व्यवस्थापन समितिको सदस्य तथा शिक्षक अभिभावक संघको अध्यक्ष भएर सो विद्यालयको उन्नयनमा महत्वपुर्ण भूमिका खेलेको कदर स्वरुप भारतीलाई विद्यालयले सम्मान गरेको हो।
विद्यालयको ६१ औं वार्षिकोत्सवको अवसरमा आयोजित एक भव्य समारोहमा कार्यक्रमका प्रमुख अतिथी काठमाडौँ क्षेत्र नम्बर ५ का संघिय प्रतिनिधि सभाका सदस्य प्रदिप पौडेलले सम्मान-पत्र प्रदान गरेर तथा विद्यालयका अध्यक्ष र प्रधानध्यापकले खादा ओढाएर उहाँलाई सम्मान गरेका थिए ।
कार्यक्रममा बागमती प्रदेश सभाका सदस्य ज्ञान बहादुर लामा, टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी,कृषि विकास बैंकका निमित्त कार्यकारी प्रमुख प्रताप सुवेदी लगायत विद्यालयका सयौं अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
वार्षिकोत्सव कार्यक्रममा सम्मान गरेर भारतीलाई बिदाई पनि गरिएको थियो । ६ वर्षभन्दा बढी समय विद्यालयको व्यवस्थापन तहमा रहेर सो विद्यालयको विकास तथा उन्नयनमा भारतीले खेलेको भूमिकाको कार्यक्रममा बोल्ने वक्ताहरुले उच्च प्रशंसा गरेका गरेका थिए ।
युवा अवस्थामै रहेर पनि समाजसेवामा काम गर्न चाहने भारतीको व्यक्तित्वलाई प्रयोग गरेर तिलिङ्गाटार माध्यमिक विद्यालय नमुना बन्न सकेको उल्लेख गर्दै विद्यालयका प्रधानध्यापक सरोज कुमार पाण्डेले सामुदायिक विद्यालयमा केहि गरौँ भन्ने भावना लिएर भारतीले योगदान गरेको बताए । उनले भने, ‘उहाँ जस्तो व्यक्तित्व पाउने कुनैपनि विद्यालयले पछि फर्केर हेर्नु पर्दैन।’
विद्यालयको वार्षिकोत्सवको अवसरमा आयोजित सो कार्यक्रममा स्वास्थ्य शिविर स्थापना गरेर अभिभावक तथा सहभागीहरुलाई बिभिन्न स्वास्थ्य परिक्षण गरिएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरोत्तम राना मगरको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको संचालन शिक्षक टेकराज गौतमले गर्नुभएको थियो ।
#तितिङ्गाटार नमुना मा.बि काठमाडौ #सम्मानित #भिम भारती
प्रतिकृया दिनुहोस्