April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार
हप्तामा दुई दिन बिदा : सरकारको कच्चा निर्णय एक महिना नपुग्दै तुहियो

हप्तामा दुई दिन बिदा : सरकारको कच्चा निर्णय एक महिना नपुग्दै तुहियो

जेठ २४, काठमाडौं।
बिना अध्ययन र आवश्यकता विपरीत सरकारले ल्याएको हप्तामा २ दिने बिदा दिने निर्णय एक महिना नपुग्दै खारेज हुने भएको छ।

वैशाख १३ गते बसेको मन्त्रिपरिषद बैठकले जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको एक महिना पुग्न नपाउँदै सरकारको कच्चा निर्णय तुहिएको हो।

सरकारको निर्णयानुसार जेठ एक गतेदेखि शुरु भएको शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णयलाई तीन सातामै सच्च्याएको हो।

जेठ १ गतेको सरकारको निर्णयानुसार कार्यालयहरू हप्तामा पाँचदिन मात्रै खुलेका थिए। पेट्रोलियम पदार्थ महंगो हुँदा र विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि हप्तामा दुई दिन बिदा दिने आयल निगमको प्रस्ताव अनुसार सरकारले उक्त निर्णय गरेको थियो ।

उक्त प्रस्ताव अनुसार सरकारले जेठ एक गतेदेखि हप्तामा दुई दिन सार्वजनिक बिदा हुँदै आएको थियो।

तर, एक महिना पनि नबित्दै हप्तामा दुई दिन बिदा दिने निर्णय खारेज गर्न सरकार बाध्य भएको हो।

मन्त्रिपरिषदको पछिल्लो निर्णयअनुसार अब असार एक गतेदेखि शनिबार मात्र सार्वजनिक बिदा हुनेछ। सरकारको निर्णय व्यवहारिक नभएको भन्दै विभिन्न पक्षबाट आलोचना हुँदै आएको थियो । सरकारले यो निर्णय आवश्यक तयारीबिनै गरेकाले आफ्नै निर्णयबाट ब्याक हुनुपरेको जानकार बताउँछन् ।

हप्तामा दुई दिन सार्वजनिक बिदाको अभ्यास नेपालमा यसअघि पनि प्रचलनमा थियो। प्रधानमन्त्री शेरबहादुर देउवाले नै आफू दोस्रो पटक प्रधानमन्त्री हुँदा २०५९ सालबाट यो प्रचलन हटाएका थियो।

यसअघि देउवा नै प्रधानमन्त्री भएको समयमा हप्तामा दुई दिन बिदा दिने निर्णय उल्ट्याउनु भएको थियो।

सरकारले आवश्यक छलफल र तयारीबिना नै निर्णय गरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर भएको थियो।

संघीय सरकारले हप्तामा दुई दिन बिदा दिँदै आए पनि विभिन्न स्थानीय तहहरूले भने अवज्ञा गर्दै आएका थिए।

himalaya tv 

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज