January 19, 2025, Sunday
२०८१ माघ ६, आईतवार
दरबार हत्याकाण्डको २१ वर्ष पूरा, रहस्य गर्भमै

दरबार हत्याकाण्डको २१ वर्ष पूरा, रहस्य गर्भमै

जेठ १९, काठमाडौं।

नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २१ वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाहको वंश विनास भएको थियो ।

राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दिपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुतीसहितको हत्या भएको थियो ।

दिपेन्द्रले परिवारका सदस्यहरुलाई गोलीले उडाएको र पछि आफैलाई गोली हानेको भनेर छानविन प्रतिवेदन सार्वजनिक गरिएपनि नेपाली नागरिकहरुले त्यसको विश्वास गरेका छैनन् । उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ ।

जेठ १९ को त्यो कहालीलाग्दो रातले अहिले पनि हरेक नेपालीलाई झस्काउने गर्छ । राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थापना भइसके पनि तत्कालीन राजपरिवारको वंश नाश भएको जेठ १९ को नमिठो छाप अहिले पनि नेपालीको मनबाट मेटिएको छैन ।

पारिवारिक जमघटका बेला भएको घटनामा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरूको हत्या भएको थियो।

उदार राजाको छवि बनाएका वीरेन्द्रको बंश नाश भएपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । राजा वीरेन्द्रपछि उनका माइला भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भए । प्रत्यक्ष शासनसत्ता हातमा लिएर तानाशाही बन्न खोज्दा नेपालका राजनीतिक दलहरुले २०६२/६३ मा दोस्रो जनआन्दोलन चर्काएर र नेपाललाई गणतान्त्रिक मुलुक नै घोषणा गरे ।

नारायणहिटी दरबार हत्याकाण्डको ७ वर्षपछि अर्थात् २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्ति र गणतन्त्र स्थापनाको घोषणा भयो । ज्ञानेन्द्र शाह नै नेपालको इतिहासमा अन्तिम राजा बने ।

दरबार हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले जेठ १९ को घटनाका लागि युवराज दीपेन्द्रलाई दोषी देखाइएको प्रतिवेदन सार्वजनिक गरेको थियो । तत्कालीन सभामुख तारानाथ रानाभाटले छानविन प्रतिवेदन सार्बजनिक गरेका थिए ।

त्यसपछि यस घटनाको कुनै स्वतन्त्र अनुसन्धान भएको छैन । तत्कालीन माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको दोस्रो मन्त्रिपरिषदमा गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका विमलेन्द्र निधिले दरबार हत्याकाण्डको छानबिन गर्नुपर्ने कुरा उठाएका थिए । राजगद्दीबाट फालिएपछि पनि ज्ञानेन्द्रले राजनीतिक वक्तव्यबाजी गर्न नछाडेको प्रतिशोधमा निधिले छानबिनको कुरा उठाए पनि त्यो कुरा अगाडि बढेको छैन ।

अनेक आशंका र अनुमान गरिए पनि नारायणहिटी दरबार हत्याकाण्ड अहिले पनि रहस्यमय नै छ ।

हत्याकाण्डको २१ वर्ष बितिसक्दा पनि कुनै नयाँ रहस्य खुलेनन् । युवराज दीपेन्द्रले नै गोली चलाएका हुन् भन्ने तर्कलाई बल पुग्ने गरी मानिसहरुले नयाँनयाँ तथ्य खोले । ती तथ्य यस्ता छन्ः

गोरख शमशेरको बुढी औंला छैन : अधिराजकुमारी श्रुतीका पति कुमार गोरख शमशेरको एक हातको बुढी औंला छैन । यो विषय धेरै कमलाई मात्रै थाहा छ । जेठ १९ मा दीपेन्द्रले गोली हान्दा उनको बुढी औंलामा लागेको थियो । जसका कारण उनले बुढी औंला गुमाएका थिए ।

डा. उपेन्द्र देवकोटाको कथनः डा. उपेन्द्र देवकोटाको क्यान्सरका कारण निधन भइसक्यो । जब गोलीले शाही परिवारका सदस्यहरुलाई ढेर बनाइदिएको थियो, त्यो बेला उपेन्द्र देवकोटा पनि अस्पताल पुगेका थिए । र उनले वीरेन्द्रको शवलाई चिनेनन् । कसको शव भन्ने थाहा नै नपाई उनले वीरेन्द्रको नारी छामेर ‘छैन ज्यान’ भनेका थिए । उनै देवकोटाले कसैले थाहा नै नपाई अचेत दीपेन्द्रको शरिरबाट रगत निकालेका थिए परीक्षणका लागि विदेश पठाउन । उनले नेपालमै पनि दीपेन्द्रको परीक्षण गरेका थिए ।

त्यो बेला नै उनले दीपेन्द्रले नशा सेवन गरे नगरेको थाहा पाएका थिए । र उनले आफ्नो निधन अघि भनेका थिए, ‘हेर्नुस्, दीपेन्द्रले रक्सी पनि खाएका थिएनन् । पूर्ण होसमा सबैलाई गोली प्रहार गरेका थिए । दीपेन्द्रले नशा सेवन गरेर हत्या गरेको भनियो भने जनतामा राजसंस्थाप्रति आस्था रहिरहन्छ भनेर त्यस्तो प्रचार गरियो । उनी पूर्ण होसमा थिए ।’

देवकोटालाई पनि यो चाहिँ थाहा थिएन कि दीपेन्द्रलाई चाहिँ कसले गोली प्रहार गरेको थियो ?

निराजनको हुँदै थियो बिहे पक्का : दीपेन्द्र देवयानीसँग विवाह गर्न चाहन्थे । राजी ऐश्वर्या कुनै पनि हालतमा त्यो बिहे हुन दिने अवस्थामा थिइनन् । दीपेन्द्रको अड्डीको सेखी झार्न ऐश्वर्यले निराजनको बिहे जेठ २६ गते घोषणा गर्ने तयारी गरेकी थिइन् । त्यो थाहा पाएपछि दीपेन्द्रको रिस उत्कर्षमा पुगेको थियो ।

डेढ मिनेट पनि लागेन सबैलाई सिध्याउनः बिलियार्ड हलमा दीपेन्द्र पसेर गोली भटट् पार्न थालेपछि डेढ मिनेट समय पनि लागेन सबैलाई सिध्याउन । त्यति छोटो समयमा एडिसीहरु विलियार्ड हलमा प्रवेश गर्ने मौका पनि पाएनन् । एडिसीहरु प्रवेश गर्ने बेलासम्म सबै तहस नहस भइसकेको थियो ।

दरबारले गरेको गम्भीर भूलः दरबार हत्यकाण्डपछि धेरैले शंका ज्ञानेन्द्र र उनका बिग्रेका पुत्र पारसमाथि शंका गरे । दरबारले पनि हत्याकाण्ड भइसकेपछि वास्तविक कुरा जनताले विश्वास गर्ने गरी सार्वजनिक गरेन । बचेका शाही सदस्यहरु हत्यकाण्ड दीपेन्द्रले मच्चाएको भन्नेमा सतप्रतिशत ढूक्क थिए ।

तर जनताले पत्याएनन् । त्यसमाथि करफ्यू लगाएर दीपेन्द्रको अन्त्येष्टि गरियो । राजीव शाहीले धेरै बाठो भएर अन्तर्राष्ट्रिय मिडियालाई खबर गरे । असोजमै प्रेक्षा शाह हेलिकोप्टरसहित रारामा डुबिन् । यी विषयहरु आगोमा घ्यू थप्ने प्रकृतिका थिए ।

दीपेन्द्र दाहिने हात चलाउँथेः दीपेन्द्र दाहिने हात चलाउँथे । तर उनको देब्रे कञ्चटबाट गोली लागेर देब्रेमा निस्केको थियो । त्यो गोली उनी आफैले चलाएका थिएनन् । कसले चलाए भन्ने अहिलेसम्म खुलेको छैन ।