January 19, 2025, Sunday
२०८१ माघ ६, आईतवार
सल्यानमा प्याज बिक्री नभए पछि धानसँग साटफेर

सल्यानमा प्याज बिक्री नभए पछि धानसँग साटफेर

दुर्गा विसि/ असार १९, बनगाड । सल्यानमा किसानहरूले उत्पादन गरेको प्याज बिक्री नभएपछि धानसँग सट्टा फेर हुने गरेको छ। यो वर्ष झन्डै ३०/३५ क्विन्टल प्याज उत्पादन भएको भए पनि अझै ८ क्विन्टल प्याज बिक्री हुन नसकेको बनगाड कुपिण्डे नगरपालिका १ नाम्राका किसान विरवल पोख्रेलको भनाइ रहेको छ ।

बिक्री पनि नहुने, राख्नलाई पनि ठाउँ नभएपछि धानसँग प्याज साट्दै आइरहेको उनको भनाइ छ। उनले भने, ‘पैसाले बिक्री हुँदैन, धान सस्तो भए पनि धानसँग प्याज साट्नु हामी नाम्रालिको वाध्यता हाे ।’

एक-दुई क्विन्टल मात्र प्रतिकिलो ५० का दरले प्याज बिक्री गरेको उनको भनाइ छ। घरमा राख्ने ठाउँ नहुने र राखेको प्याज पनि कुहिने भएकाले धानसँगै भए पनि साट्ने गरेको उनले बताए ।

धान र प्याज बराबर गरेर साटफेर गर्ने गरेको अर्का राम प्रसाद शर्माको भनाइ रहेको छ । उनले भने, ‘एकै पटक ३०-३५ क्विन्टल हुने भएकाले घरमा राख्ने ठाउँ पनि हुँदैन। घरमा राख्ने हो भने पनि कुहिएर फाल्नुपर्ने भएकाले धानसँगै साट्दै आइरहेका छौं ।’

४०-५० क्विन्टल प्याज उत्पादन गरेका शर्माले पनि बिक्री नभएपछि धानसँगै साटेको बताए। कोरोना भाइरसका कारण गाडी र बजार सबै बन्द भएपछि सस्तोमा प्याज बेच्नु परेको उनले गुनासो गरे । उनका अनुसार , ‘गाउँमा सबैभन्दा बढी मैले उत्पादन गरेकाे हुँ। १ सय बोरी प्याज भएको थियो, सबै धानसँग साटफेर गरे। अब १/२ क्विन्टल मात्र होला घरमा ।’

गत वर्ष प्याज कुहिएर आम्दानीशून्य भयो, यो वर्ष बिक्री नभएर समस्या भएको उलने बताए। नाम्राका अन्य किसान हरुले भने प्याजबाट जीविकोपार्जन गर्दै आए पनि हाल दैनिक गुजारा चलाउन समस्या भएको बताए । सडकले धान खेतीयोग्य हुने कुलाे परिदिए पछि हिउँदे सिजनमा प्याज र वर्षामा मकै लगाउने गरेका छन् ।

नाम्राका ५५ घरिवारले व्यवसायिक प्याज खेती गर्दै आइरहेका छन्। १ सय ५० रोपनीभन्दा बढी क्षेत्रफलमा नाम्राका किसानले व्यवसायिक प्याज खेती गर्दै आइरहेका छन्।तर स्थानीय सरकार,प्रदेश सरकारले भने कृषि उपज प्याज खेति प्रती कुनै वास्ता नदेखाएको स्थानीय पोख्रेलको भनाइ रहेको छ ।