गृहमन्त्री बादलले उपचुनाव नलड्ने अडान लिएपछि….
वैशाख २३, काठमाडौं । जेठ ६ गते वाग्मती प्रदेश अन्य समूहतर्फ रिक्त भएको राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन हुदैछ । उपचुनावको लागी शुक्रबार (वैशाख २४ गते) उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।
तर, सत्तारुढ दल नेकपा एमालेले आफ्नो उम्मेदवार बिहीबार साँझसम्म टुङ्ग्याएको छैन । २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट नेता रामबहादुर थापा ‘बादल’ निर्वाचित भएको क्षेत्र हो यो । माओवादी केन्द्रबाट निर्वाचित बादल एमाले प्रवेश गरेपछि रिक्त भएकोले उपचुनाव हुन लागेको हो ।
खाली भएको ठाउँमा एमालेले पुनः बादललाई निर्वाचन लडाउन चाहेको भन्ने चर्चा चलेको थियो । तर, स्वयं बादल भने उपचुनाव लड्न तयार नभएको नेताहरुले बताएका छन् ।
वालुवाटार स्रोतका अनुसार स्थायी कमिटी बैठकमा राष्ट्रियसभाको उपनिर्वाचनमा वाग्मती प्रदेशमा पुनः बादललाई उठाउने प्रस्ताव प्रस्तुत भएको थियो । तर, स्वयं बादलले आफू उपचुनावमा उठ्नका लागि चुनाव जित्ने निश्चित हुनुपर्ने बताए ।
‘बादल कमरेडले जित निश्चित हुनुपर्छ भनेर राख्नुभयो । नजित्ने चुनाव नलड्ने उहाँको अडान छ । त्यसकारण आज उम्मेदवारको टुङ्गो लाग्न सकेन’ एक स्थायी कमिटी सदस्यले भने ।
उपनिर्वाचनमा वाग्मती प्रदेशमा तपाईंहरुको उम्मेदवार को हो ? भन्ने प्रश्नमा एमाले राष्ट्रिय सभा संसदीय दलका नेता सुमनराज प्याकुरेल भन्छन्, ‘जो जो साथीहरु पूर्वमाओवादीबाट एमालेमा आउनुभएको थियो, एमालेमा आएबापत, प्रधानमन्त्रीको कदमलाई साथ दिएबापत ज–जसले पद छोड्नु परेको छ त्यस ठाउँमा हुने उपनिर्वाचनमा हाम्रो उम्मेदवार उहाँहरु नै हो । तर, उहाँहरुले आफैं चाहनु भएन भने अर्कै कुरा (उम्मेदवार) हुन्छ ।’
एमाले प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बिहीबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा राष्ट्रियसभाको उपनिर्वाचनबारे छलफल भएको थियो । तर, उम्मेदवारको टुङ्गो भने लाग्न सकेन ।
बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता ज्ञवालीले पार्टीले उठाएको उम्मेदवारको जीत सुनिश्चित हुने गरी जनप्रतिनिधि र मतदातासँग छलफल गर्ने निर्णय भएको जानकारी दिए ।
‘…जनप्रतिनिधिहरु मतदाताहरुसंग कुराकानी अगाडि बढाउने र जितलाई सुनिश्चित हुने गरी छलफल गर्ने निर्णय गरेका छौं । उम्मेदवारको बारेमा हामी छिट्टै निर्णय गर्छौं’ ज्ञवालीले भने ।
बादलले उपचुनाव लड्ने इच्छा नदेखाएपछि एमालेमा दोस्रो तहका नेताहरूलाई उम्मेदवार बनाउने चर्चा चलेको छ ।
राष्ट्रिय सभा सदस्यको लागि एमालेइतरका विपक्षी गठबन्धनले खिमलाल देवकोटालाई साझा उम्मेदवार बनाएपछि बादलले जित्ने सम्भावना कमजोर देखियो । एमाले सग्लो भइदिएको भए कांग्रेस, माओवादीसहित साना दलहरू मिल्दा पनि एमालेले उम्मेदवारकै मतभार धेरै हुन्थ्यो ।
तर, अहिले एमालेको असन्तुष्ट पक्ष माधव नेपाल पक्षका उम्मेदवारलाई माओवादी र कांग्रेसले समर्थन गरेपछि एमालेको मतभार झण्डै आधाले घट्नेछ । त्यसो हुनेबित्तिकै आफ्ना उम्मेदवार पराजित हुने आकलन गरेर एमालेले बादललाई उम्मेदवार नबनाउने लाइन लिएको छ । बादलनिकट स्रोतका अनुसार औपचारिक निर्णय त भइसकेको छैन तर बादलको उम्मेदवार हुने सम्भावना कम छ ।
सग्लो एमालेसँग प्रदेश र स्थानीय तहको मतभार जोड्दा एमालेको ५१३० हुन आउँछ । कांग्रेसको २२६२, माओवादी केन्द्रको १७००, विवेकशील साझाको १४४, राप्रपा र नेमकिपाको १३२-१३२ तथा जसपाको ६६ मतभार हुन्छ ।
त्यसरी हिसाब गर्दा एमाले उम्मेदवार बादलसँग ५१३० मतभार हुन्छ भने विपक्षी गठबन्धन कांग्रेस, माओवादी र जसपासँग ४०२८ मतभार मात्रै हुन्छ । विवेकशील साझा, राप्रपा र नेमकिपाको पनि विपक्षी गठबन्धनमा थपिएको अवस्थामा ४३८८ मतभार हुन्छ । तर, राप्रपा र नेमकिपा एमालेसँग निकट देखिएकाले त्यो मत एमालेमा थपिँदा ५३९४ मतभार हुन्छ । र, विपक्षी गबठन्धनको मतभार घट्छ ।
यद्यपि विवेकशील साझाको मत विपक्षी गठबन्धनमा कायम रहेको अवस्थामा ४१७० मतभार हुन्छ । यति हुँदा पनि एमाले उम्मेदवार बादल नै बलियो देखिन्छन् । तर, देवकोटाका लागि एमालेको नेपाल समूहका २२ जना प्रदेशसभाको मतभार १०५६ मात्रै थपिँदा पनि देवकोटाको पक्षमा ५२२६ मत हुन्छ । र, एमालेको मतभार घटेर ४३३८ मात्रै हुन्छ ।
त्यस्तो अवस्थामा एमालेभित्र नेपाल समूहका स्थानीय तहमा प्रमुख र उपप्रमुखले देवकोटाको पक्षमा मतदान नगर्दा पनि उनी बलियो देखिन्छन् । तर, नेता नेपालनिकट स्थानीय तहमा प्रमुख र उपप्रमुखले पनि देवकोटाको पक्षमा मतदान गर्ने भएकाले मतभार अझ बढ्नेछ । र, एमालेको मतभार घट्नेछ । यसले एमालेका उम्मेदवार बादललाई स्वतः पराजित गराउनेछ ।
यही मतभार विश्लेषण गरेर मात्रै एमालेले बादललाई उम्मेदवार बनाउनेछ । नत्र एमालेले दोस्रो तहको नेतालाई उम्मेदवार बनाउनेछ ।
प्रतिकृया दिनुहोस्