June 23, 2025, Monday
२०८२ असार ९, सोमबार
जिल्ला अदालत सल्यान परिसरमा हनुमान मन्दिर र मेलमिलाप प्रतिक्षालय उद्घाटन

जिल्ला अदालत सल्यान परिसरमा हनुमान मन्दिर र मेलमिलाप प्रतिक्षालय उद्घाटन

 

 

फागुन २२ सल्यान । जिल्ला अदालत सल्यान परिसरमा हनुमान मन्दिर र मेलमिलाप प्रतिक्षालय उद्घाटन गरिएको छ । शनिबार बिहान एक कार्यक्रमका बिच उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश श्रीमान नहकुल सुवेदीले मन्दिर र प्रतिक्षालय उद्घाटन गर्नुभएको हो ।

मन्दिर उद्घाटन पछि छोटो मन्तव्य राख्दै मुख्य न्यायाधीश सुवेदीले बजरङ्गबली हनुमान सत्य, न्याय, निष्ठा, शक्ति र भक्तीको प्रतीक भएकाले न्याय सम्पादन तथा मेलमिलाप गर्न प्रेरणा मिल्ने बताउनु भयो । त्यस्तै औपचारिक न्याय प्रणालीका केही कमजोरी भएकाले मेलमिलाप बाट विवाद, समस्या समाधान गर्न पहल गर्नुपर्ने उहाँले बताउनु भयो ।

 

 

 

त्यस्तै कार्यक्रम बोल्दै जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले जिल्ला अदालतमा पहिले नै हनुमान ढोका रहेको तर द्वन्दको समयमा सर्वसाधारणको लागि बन्द गरिएकोले ओझेलमा परेकोले अहिले त्यस ऐतिहासिकता जोड्न पनि हनुमान मन्दिर स्थापना गरिएको बताउनु भयो । कानुनी प्रक्रिया लामो हुने र मुद्दा  मामिलामा धेरै समय र सम्पती खर्च हुने भएकाले फौजदारी बाहेक अन्य मुद्दामा मेलमिलाप गर्नुमा हित हुने हुने उहाँले बताउनु भयो । अहिले सल्यानमा पनि मेलमिलाप गर्ने चलन बढेको उहाँको भनाइ थियो ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि शारदा नगर प्रमुख सुरेश अधिकारीले हिन्दु धर्मप्रति चौतर्फी आक्रमण भएकाले धर्मको जगेर्न गर्नुपर्ने बताउनु भयो । मान्छेहरूलाई धर्मकर्ममा अझै पनि आस्था र विस्वास भएकाले हनुमानको मन्दिर अगाडि बसेर मिलमिलाप गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो ।

शारदा नगरपालिकाको आर्थिक सहयोग र सबुज गण सल्यानको प्राविधिक सहयोगमा मेलमिलाप प्रतिक्षालय र हनुमान मन्दिर निर्माण गरिएको हो । जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको उद्घोषण अधिवक्ता थलराज भण्डारीले गर्नुभएको थियो भने अधिवक्ता सिपि वलीले स्वागत मन्तव्यले स्वागत गर्नु भएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा जिल्ला स्थित कार्यालय प्रमुखहरूको सहभागीता भएको थियो ।