कविता:कुमाख
कविता
कुमाख
हेर्नुहोस आगन्तुक महानुभावहरू
फर्केर उत्तर तर्फ
तपाईहरूले कहिल्यै नसुन्नु भएको
तपाईहरूले कहिल्यै नदेख्नु भएको
तर एउटा अँध्यारो इतिहासको जिउदो साक्षी
त्यही हो कुमाख।
उ आरोह,अवरोह आफै भित्र लुकाउछ र
दुई हातले छड्के टोपी मिलाएर
हामि तिर मुसुमुसु मुस्कान फ्याकिरहन्छ
आफ्नो शीर सधै उचो नै राखेर
शतिसाल जस्तै बलियो
बनाएर आफूलाई
सधैं ठिङ्ग उभि नै रहन्छ।
कुमाख सधैं सपनामा आइरहने
मेरो शैसवको साथी
मैले पहिलो पटक आँखा खोल्दा
उ नै आएर उभिएको थियो मेरो सामु
उसकै हात पकडेर मैले ताते गर्न सिके
उसैले सुसाएको सुसेलीमा मैले स्वास फेर्न सिके
मलाई तोते बोल्न सिकाएको पनि उसैले हो
मेरी आमाले जीउभरी तेल लगाईदिदा
उसैले पठाएको हो मलाई
बिहानको न्यानो घाम र मन भरीको मिठो माया
हो उसैले पठाईदिएको हो।
डालो भरी काफल फलाइदिएको पनि उसैले हो
भीर पाखामा लटरम्म फलेका ऐसेलु टिप्न
सिकाएको पनि उसैले हो
छातीभरी लाली गुराँस राताम्मे फुलाएर
म भित्र खुसी फुलाइदिएको पनि उसैले हो
डाफे मुनाल र मैन सँग तालमा ताल मिलाएर
सोरठी,पैसरी र टप्पा छमछम नाच्न सिकाएको पनि उसैले हो
धुलेपाटिमा ढुङ्गाले अक्षर कोर्दै
क,ख,रा पढ्न सिकाएको पनि उसैले हो।
आगन्तुक महानुभावहरू
हो उसैले हो।
शान्ति सिकाएथ्यो मलाई कुमाखले
भाइचारामा बाँच्न सिकाएथ्यो
कहिले नबिराउनु,कहिले नडराउनु
हिडिरहनु अनवरत आफ्नो बाटोमा मात्र
दायाँबायाँ कसैको बाटो नटेक्नु
दिल ठूलो पार्नु,मन सफा राख्नु
अन्यायको अगाडी घुडा नटेक्नु
मलाई यो पाठ सिकाएको पनि उसैले हो।
हेर्नुहोस आगन्तुक महानुभावहरू
फर्केर उत्तर तर्फ
कति चौडा छ उस्को छाती
कति तेजस्वी छ उसको अनुहार
कति उचो छ उस्को शीर
बारुदी धुवाले निसासिरहेको
हाम्रो दारुण समयमा
पठाइरह्यो स्वच्छ प्राणवायु उस्ले
दनदनी हामी बलीरहेको बेला पनि
सिकाइ रह्यो धैर्य र संयमको पाठ
उ आफै आफै बलि रह्यो
उ आफै आफै जलि रह्यो
तर कहिल्यै बिचलित अनुहार देखाएन उसले हामीलाई
फकाइ रह्यो,फुल्याइ रह्यो
आफुले निराशा पिएर
हाम्रा लागी आशाको दियो जगाइ रह्यो।
भिष्मपितामह बनी रह्यो उ हाम्रो
कौरब र पाण्डबका रणसंग्रामहरू मौन बनेर हेर्दै
अर्जुनका बाणशैयामा सुतेर
खोकिलामा यत्नपुर्वक लुकाएर परेवाका बचेराहरू
हामी तिर फुरर फुरर उडाइरहने
त्यो कुमाख त्यही हो महानुभावहरू।
उसकै काखबाट ताते गर्दै उठेर राष्ट्रिय व्यक्तित्व बने पछि
फेरि उसलाई संझेर फर्की नगएको जेठो
उसकै काखबाट औधी रमाएर खेल्दै
हिड्न कुद्न सिके पछि देशै त्यागेर निस्केको कान्छो
कसलाई पो भेदभाव गर्यो र उसले ?
दुबै हातहरू फैलाएर
गाउँ पारी , सिमा पारी,गोलार्ध पारी
शुभ तरंगहरू सुनाइ रह्यो।
हेर्नुहोस आगन्तुक महानुभावहरू
फर्केर उत्तर तर्फ
निधारदेखी खुट्टासम्म
उसले बगाइ रहेका पसिनाका धाराहरू र
उसले आधा पेट हाड घोटेको परिश्रमको मुल्य कहाँ छ?
खै कहाँ छन उसका वैभवका चित्रहरू कोरिएका
यो देशको मानचित्रमा ?
खै कहाँ छन उसका वैभवका सपनाहरू कोरिएका
यो देशको रुप फेर्न लेखिएका दस्तावेजहरूमा ?
©उषा हमाल
(सल्यान जिल्लामा जन्मनु भएका उषा हमाल,हाल भाषा आयोगका माननीय सदस्य हुनुन्छ।)
#उषा हमाल












प्रतिकृया दिनुहोस्