September 25, 2026, Friday
२०८३ आश्विन १०, शनिबार
उत्तर कोरियाले गर्याे अर्काे शक्तिशाली मिसाइलको सफल परिक्षण

उत्तर कोरियाले गर्याे अर्काे शक्तिशाली मिसाइलको सफल परिक्षण

असोज १३, काठ्माण्डौ । उत्तर कोरियाले नयाँ प्रकारको मिसाइलको मंगलबार सफल परीक्षण गरेको बताएको छ। मंगलबार जापानको समुद्रमा प्रहार भएको मिसाइल ह्वासोङ नाम गरेको नयाँ प्रकारको हाइपरसोनिक मिसाइल रहेको उत्तर कोरियाले बताएको हो।

सैन्य क्षमता विकाससम्बन्धी पाँचवर्षे योजनाअन्तर्गत विकास भएको वा गरिएका पाँच महत्वपूर्ण नयाँ हतियारमध्ये मंगलबार प्रक्षेपण गरिएको हाइपरसोनिक मिसाइल रहेको उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले उल्लेख गरेको छ।

उत्तर कोरियाले नयाँ मिसाइललाई ‘रणनीतिक हतियार’ भनेको छ, जसको सामान्य अर्थ परमाणु क्षमतायुक्त भन्ने हुन्छ।

कडा प्रतिबन्धका बाबजुद उत्तर कोरियाले परमाणु हतियारको निरन्तर विकास गरिरहेको छ।

पूर्वी समुद्रका रुपमा समेत चिनिने जापानको समुद्रमा उत्तर कोरियाले प्रहार गरेको मिसाइल मंगलबार बिहान खसेको थियो। केही समय पहिले उत्तर कोरियाले क्रुज मिसाइल र ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको थियो।

दक्षिण कोरियासँग वार्ताका लागि तयार रहेको बताएको केही दिनमै उत्तर कोरियाले मिसाइल प्रक्षेपण गरेको हो। संयुक्त राष्ट्रसंघको नियमअनुसार ब्यालेस्टिक मिसाइल प्रतिबन्धित छ।

मंगलबारको परीक्षणबारे उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसिएनएले भनेको छ, ‘यो हतियार प्रणालीको विकासले देशको आत्मरक्षाको क्षमता हरेक रुपमा बलियो बनाएको छ।’