नयाँ दृष्टि साहित्य विशेष : माघ महिना टप ३ कविता
माघ ०३, सल्यान । नयाँ दृष्टिको साहित्य विशेषमा महिनाको पहिलो हप्ता विभिन्न कविहरूका कविताहरू प्रस्तुत गर्ने छौं । प्रस्तुत छ, सामाजिक संजाल लगाएत विभिन्न स्रोत बाट नयाँ दृष्टिका साहित्य संयोजक डिल्ली राज केसीली संकलन र सम्पादन गरेका महिनाका टप ३ कविता ।
१. सङ्कल्प
– प्रज्वल अधिकारी
लमजुङ
श्रमलाई बादल बनाइदिन्छु
र, मेघसँग ठोक्काएर
बर्साइदिन्छु पसिनाको झरी
र, भिजाइदिन्छु—
कलेटी परेको धर्तीको ओठ।
निधारलाई फाँट बनाइदिन्छु
र, मेहनतकोे कलमले
देखिने गरी नै लेखिदिन्छु
कर्मका सुनौला अक्षरहरू।
दिमागको खोपिल्टोमा विचारको बीउ छर्छु
र, हराभरा बनाउँछु— बाँझो मगज
ओठको आँगनमा मुस्कानको फूल फुलाउँछु
र, खुसीको बगैंचा भएर मगमगाउँछु
हृदयको गरामा भावनाको खेती गर्छु
र, प्रेमको भकारीमा मायाले भरिन्छु।
आँखामा देश सजाइदिन्छु
आँखीभौं र परेलालाई
सुरक्षार्थ खटाइदिन्छु।
बोलीलाई मन्त्र बनाइदिन्छु
हातलाई यन्त्र बनाइदिन्छु
गोडालाई यात्री बनाइदिन्छु।
छातीलाई बनाएर पर्खाल
मुटुजस्तो कोमल देश
जोगाउन हरदम लागिपर्छु
र, धड्काइरहन्छु देशको ढुकढुकी।
नंग्रा खियाएर
उदास डाँडाहरूमा पोतिदिन्छु हरियो रङ
ढाडलाई बनाइदिन्छु— देशको मेरुदण्ड
र मजबुत काँधले जुरुक्कै उचालेर—
देशको स्वाभिमान
पूरा गरिदिन्छु— सन्तान हुनुको अभिभारा
यो मेरो कायालाई देश बनाइदिन्छु !
यति गर्दागर्दै सकिएछ भने मेरो देह
नि:सन्देह म माटो बनिदिन्छु।
नोट: यो राष्ट्रिय कविता महोत्सव 2077 मा द्वितय स्थान हाँसिल गरेको कविता हो।
२. सम्बोधन
– राबत
नुवाकोट
जसरी
छोडेर गएका थियौ
खाँदाखाँदैको आधा गाँस
गोड्दागोड्दैको आधा पाखो
रुँदारुँदैको आधा आँसु
हो त्यहीँबाट
सम्बोधन गरिरहेछु तिमीलाई ।
सायद
मेरो पत्र बोकी जाने विमान
हराई जाला धमिलो आकाशमा
मलाई छोएर जाने हावाहरु
थुनिएलान् नयाँ ग्याँस च्याम्बरमा
म समुद्र नदेखेको मान्छे
त्यता कतै
बालकको हातमा
कागजको जहाज देख्यौ भने
सम्झनू
पत्र सकुशल तिम्रो हातमा पर्यो
त्यता कोही
रोइहाल्यो भने मान्छेको मायाले
सम्झनू
त्यो आँसुको केही हिस्सा मेरो हो
त्यता कतै
आकाशमा चरा नाचेको देख्यौ भने
सम्झनू
म विलकुल सन्चो छु ।
जसरी
छोडेर गएका थियौ
हाँस्दाहाँस्दैको आधा मुस्कान
देख्दादेख्दैको आधा सपना
गाउँगाउँदैको आधा गीत
हो त्यहीँबाट
सम्बोधन गरिरहेछु तिमीलाई ।
सायद
मेरो प्रार्थना
बोकी जाने ईश्वरहरु
आत्मघाती दंगामा पर्लान्
मैले पुज्दै गरेका ढुंगाहरु
कुनै निधारको भागीदार बन्लान्
म ईश्वर नदेखेको मान्छे
त्यता कतै
भोकाको हातमा
रोटी देखिहाल्यौ भने
सम्झनू
मेरो ईश्वर खुसी छन्
जसरी
छोडेर गएका थियौ
झोलुंगोमा निदाइरहेको बच्चा
आधा मात्र उघ्रिएको हिमाल
हिंड्दाहिंड्दैको आधा बाटो
हो त्यहीँबाट
सम्बोधन गरिरहेछु तिमीलाई ।
सायद
यो आविष्कारको युगले
सात फन्को मारेर ब्रह्माण्ड
घोषणा गरिदेला रोबोटहरुको साम्राज्य
मेटाइदेला हरेक छातीबाट
पानको पात जस्तो मुटु हुनुको निशानी
म रकेट नदेखेको मान्छे
त्यता कतै धुलोमा
औंलाले
पृथ्वीको चित्र कोरिरहेको देख्यौ भने
सम्झनू
त्यही भूगोलको
सबभन्दा अग्लो चुचुरोमा बसेर
तिमीले छोडेको
बाँकी काम गरिरहेछु ।
३. सुनको पिँजडा
– यल्जी विवश
कोरिया
मलाई लाग्थ्यो-
त्यसपछी छल्किने प्रत्येक सुनामीले
मेट्नेछैन, हाम्रो तस्वीर !
मलाई लाग्थ्यो-
त्यसपछी सायद स्वतन्त्र हुनेछौं हामी
कुहिरो भन्दा माथिदेखी कता हो कता
बतास्सिरहेको चराजस्तै !!
जुन दिन,
मेरो आँखामा बन्दुक झुन्ड्याएर
तिमी निस्कियौ-परेवाको खोजिमा ;
जुन दिन,
तिमीमा हराउने मेरो चाहनाको
मृत्यूसभा गरि निस्कियौ-सपनाकै होस्- सुनको महल किन्न !!
त्यसपछिका प्रत्येक पलहरु-
पहिरोले बगाईलगेको बस्तीजस्तै भएको छ; सन्नाटा छ
तर-कालको दुत हो झै लाग्छ- सुसाउन नरोकिएको खहरे… !!
टिलपिल-टिलपिल तारामा हेर्छु-
तिमिलाई देख्दिन,
दौडिएर पँधेरो पुग्छु-
तिमिलाई भेट्दिन,
अधबेस्रो भइ देउराली पुग्छु-
सुकेका गुराँसका पातहरु मात्र भेटिन्छन्,
एक हिसाबले
खल्ट्याङ्खुल्टुङ बाटोमाथी
घिसारीरहेछु-श्वास जान मात्र बाँकी आफ्नै कुप्रीएको लास !!
झन् त्यो दिनदेखी त
लगभग अन्तिम घुट्को प्राण बोकेर
कता जाँदैछु-बिर्सिएको छु,
के खाँदैछु,के गर्दैछु-अन्जान छु-
शायद भर्खर बर्षदिन नपुग्दै आमाले छोडिगएको
अबोध बालक झै,
जुन दिन तिमिले महल भन्ने सुनको पिजडा लिएर
आउनुको बद्ला-
तिमी आफै काठ भएर काठकै बाकसमा फर्कियौ !!!
दुखान्त कथाले
किन पच्छ्याईरहेछ?
जसरी लासहरुको जुलुसपछि म दौडिरहेको छु..!







प्रतिकृया दिनुहोस्