शैक्षिक सुधारका लागि विद्यालयहरु समायोजन र शिक्षक दरबन्दी मिलान

शैक्षिक सुधारका लागि विद्यालयहरु समायोजन र शिक्षक दरबन्दी मिलान

सल्यान बैशाख १८।

सल्यानको कुमाख गाउँपालिकाले सामुदायिक विद्यालयहरूको तह घटुवा तथा समायोजन र शिक्षक दरबन्दी मिलान गरेको छ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (ज) तथा विद्यालय समायोजन एवं एकीकरण कार्यान्वयन कार्यविधि, २०८० अनुरुप तथा गाउँ शिक्षा समितिको २०८१ फागुन १५ गतेको निर्णयका आधारमा सामुदायिक विद्यालयहरूको तह घटुवा तथा समायोजन र शिक्षक दरबन्दी पुनः व्यवस्थापन गरिएको गाउँपालिकाले बताएको छ।

पालिकाले सार्वजनिक गरेको जानकारी र विवरण अनुसार करिब दुई दर्जन बढी विद्यालयमा तह परिवर्तन गरिएको भने कतिपय विद्यालयलाई कक्षा १–३ सम्म सीमित गरिएको छ र केहीलाई बालविकास केन्द्रमा रूपान्तरण गरिएको छ।
साथै केही विद्यालयलाई नजिकका अन्य विद्यालयमा समायोजन गरिएको पालिकाले जारी गरेको सार्वजनिक विवरणमा उल्लेख छ।

पालिकाले कक्षा १ देखि ३ सम्म सञ्चालन भएका ६ वटा स्कुलहरुलाई बालविकासमा झारेको छ भने १–५ सम्म सञ्चालन भएका ७ वटा विद्यालयलाई १–३ मा झारेको छ।

त्यस्तै कक्षा १ देखि ८ सम्म सन्चालन हुँदै आएका ४ विद्यालयलाई १–५ मा रुपान्तरण गरेको छ भने कक्षा १० सम्म रहेको १ विद्यालयलाई कक्षा ८ सम्म मात्र कायम रहने गरि घटुवा गरेको छ।
यसैगरी १–५ सम्मको एक विद्यालय र बालविकास सञ्चालन भएको अर्को एक विद्यालयलाई नजिकका विद्यालयमा गाभिएको उल्लेख गरिएको छ।

शिक्षक दरबन्दी मिलान:
पालिका भित्रका विभिन्न विद्यालयमा कार्यरत रहेका शिक्षकहरूलाई आवश्यकता र दरबन्दीका आधारमा अरु विद्यालयमा सरुवा गरिनुका साथै दरबन्दी मिलानपछि २४ जना शिक्षक तथा कार्यालय सहयोगीहरूको व्यवस्थापन गरिएको छ।

गाउँपालिकाले शैक्षिक गुणस्तरमा सुधार ल्यान र स्रोतको प्रभावकारी उपयोग तथा विद्यालय व्यवस्थापनलाई व्यवस्थित बनाउने उदेश्यका साथ यस्तो निर्णय गरिएको बताएको छ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज