April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
‘सक्किगोनी’ टिमले निर्माण गर्न लागेको चलचित्र ‘लाज शरणम्’मा बालेनको गीत

‘सक्किगोनी’ टिमले निर्माण गर्न लागेको चलचित्र ‘लाज शरणम्’मा बालेनको गीत

र्‍याप गायकको रुपमा पनि परिचित काठमाडौं महानगरपालिकाका मेयर समेत रहेका र्‍यापर बालेन शाहले प्रदर्शन तयारीमा रहेको फिल्म ‘लाज शरणम्’मा गीत गाउँदै पार्श्व गायनमा डेब्यु गरेका छन् । केही दिनअघि रेकर्ड भइसकेको गीतमा बालेन स्वयंको शब्द तथा संगीत छ । उक्त गीत फिल्म रिलिजअघि नै सार्वजनिक गर्ने तयारीमा निर्माता छन् ।

‘लाज शरणम्’का मुख्य कलाकार अर्जुन घिमिरे (पाँडे)सँग बालेनको घनिष्ट सम्बन्ध छ । उनलाई मेयरमा जिताउन अर्जुन अहोरात्र खटिएका पनि थिए । अर्जुनकै आग्रहमा बालेनले फिल्ममा गीत गाएको बताइन्छ । प्राप्त जानकारी अनुसार उनले तयार पारेको गीत फिल्ममा कथावाचनको रुपमा प्रयोग हुनेछ । उनको गीतले फिल्मको हाइप बढाउने निश्चित छ ।

‘लाज शरणम्’लाई हास्य सिरियल ‘सक्किगोनि’ समूहले निर्माण गरेको हो । कुमार कट्टेल (जिग्री ब्रो)को निर्देशनमा बनेको फिल्ममा अर्जुनसहित हरिस निरौला, विजय बराल, सागर लम्साल, प्रशान्त ताम्राकार, महेश त्रिपाठी, अर्पण थापा लगायतको अभिनय रहेको छ । फिल्मले वैदेशिक रोजगारीमा जानुपर्ने देशको स्थिति र त्यसले निम्त्याएको कहालीलाग्दो कहरको कथा बोल्ने जनाइएको छ ।