अर्बपतिहरूको समूहले सधैं बाँच्ने औषधि बनाउदै ,यस्तो प्रविधिले मानव समाजमा कस्तो असमानता निम्त्याउला?

अर्बपतिहरूको समूहले सधैं बाँच्ने औषधि बनाउदै ,यस्तो प्रविधिले मानव समाजमा कस्तो असमानता निम्त्याउला?

आजको बिश्व समाजमा पैसासँगै मानिसको मनोकांक्षा तथा तिब्र महत्वकांक्षा पनि बढेर गएको छ ।
जहाँ धन सम्पत्ति धेरै हुन्छ, त्यहाँ जीवन र प्रेमको सपना पनि गहन बन्दछ । यसका अगाडि मानिसको उमेर चाहिं अपर्याप्त हुन्छ । त्यसैले होला मानिसले सदियौंदेखि अमरताको चाह राख्दै आएको छ र अबचाहिं यो सपना यथार्थताको निकै नजिक पुगेको छ ।

न्युयोर्क पोष्टमा प्रकाशित एक समाचार अनुसार विश्वका केही धनाढ्य व्यक्तिहरूले यस्तो प्रविधि तथा औषधिको विकासमा लगानी लगाइरहेका छन् जसले मानव जीवनलाई आफ्नो मनोइच्छा अनुसारको समयसम्म बढाउने क्षमता राख्दछ ।

न्युयोर्क पोष्को रिपोर्ट अनुसार उमेर बढाउने वा अझ मानिसलाई अमर बनाउने प्रविधिको विकासमा अर्बपतिहरूले लगानी गरिरहेका छन् । अमेजनका सीईओ जेफ बेजोसले आफ्नो कम्पनी Altos Lab मा ३ अर्ब अमेरिकी डलर लगानी गरेका छन् । यो अहिलेसम्मकै ठूलो बायोटेक कम्पनी हो । यसको उद्देश्य जैविक रिप्रोग्रामिंग प्रविधिको विकास गर्नु हो, जसले पुराना मानव कोशिकालाई प्रयोगशालामा पुनः जवान बनाउन सक्दछ ।

त्यस्तै पे-पलका सहसंस्थापक पिटर थीलले : Methuselah Foundation मा लगानी गरिसकेका छन् । यो फाउन्डेसनले नयाँ प्रविधिको माध्यमबाट रोगहरुको रोकथाम गर्नुका साथै मानिसको आयु बढाउनमा काम गरिरहेको छ । त्यसैगरी च्याट जिपिटीका संस्थापक साम अल्टम्यानले रेट्रो बायोसाइन्समा १८ करोड डलर लगानी गरेका छन् । आफ्नो प्रविधिले कुनै पनि मानिसको आयु १० वर्षसम्म बढाउन सकिने दाबी उनको छ ।

के प्रविधिको बलमा मृत्युलाई परास्त गर्न सकिन्छ ?

यी प्रविधिहरुमा बायोलोजिकल रिप्रोग्रामिंग, कोशिकाहरूलाई पुनर्जीवित गर्ने तथा जवान बनाइराख्ने विषयमा विविध अनुसन्धान भैरहेका छन् । हालै लण्डनको इम्पेरियल कलेज तथा सिंगापुरको ड्युक नस मेडिकल स्कुलले एउटा यस्ता औषधिको विकास गरेको छ जसले प्रयोगशालामा मुसाको आयुलाई २५ प्रतिशसम्म लम्ब्याउन सफल भएको छ । त्यसैले यो औषधिको थप आविस्कार तथा विकास गरेर मानिसको समेत आयुलाई बढाएर मृत्यु लाई जित्न सकिने विश्वास वैज्ञानिकहरुमा छ ।

विवादको घेरामा

तर, यी सपनाहरू विवादमा घेरिएका छन् । स्मार्ट वाटर ग्रुपका संस्थापक फिल क्लेरीले यस्तो औषधि वा प्रविधिका विषयमा गम्भीर सवाल उठाएका छन् । उनका अनुसार यो प्रविधि केवल धनीहरूसम्म मात्रै सीमित हुनेछ जसबाट सुदूर भविष्यमा एउटा यस्तो समाज बन्नेछ जहाँ केवल धनी तथा सामन्ती मानिसका भूतहरुले मात्रै दीर्घ जीवनको आनन्द लिनेछन् । त्यसैले अर्बपतिहरूले आफ्नो आयु बढाउने कोसिस गर्न छाडेर आफ्नो सम्पत्ति विश्वका गरीब बालबालिकाहरुको जीउ-ज्यानको सुरक्षामा लगाउनुपर्ने उनको तर्क छ । हरेक वर्ष विश्वमा भोकमरी तथा उपचारको अभावमा ५० लाख बालबालिकाको मृत्यु हुने गरेको तथ्यांक छ ।

आयु बढाउने औषधिले विश्वमा असमानता झनै बढ्ने क्लेरीको चेतावनी छ । उनी भन्छन्- एउटा यस्तो औषधि जसले धनी मानिसहरूको आयु केही दशकसम्म बढायो भने विश्व झनै धेरै अन्यायपूर्ण र असमान बन्नेछ । यो औषधि केवल धनीहरुसँग मात्रै हुनेछ जबकि गरीबहरू आफ्नो आधारभूत आवश्यकता परिपूर्तिकै लागि संघर्ष गरिरहनु पर्नेछ ।

क्लेरीका अनुसार जीवनको वास्तविक अर्थ भनेको बालबालिकाहरुलाई उनीहरुको १८औं जन्मदिनसम्म जीवित राख्नसक्नु हो न कि धनीहरूका लागि दीर्घ जीवनको मार्ग तयार गर्नु ।