प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विस्वासको मत किन लिदैछन ? यस्तो छ कारण
साउन ०३, काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवाले आजै विश्वासको मत लिने गरी संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता भएको छ । पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिएर देउवाले सरकारको आयु सुनिश्चित गर्न खोजेका हुन् ।
कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले आजै विश्वासको मत लिन सचिवालयमा प्रस्ताव दर्ता गराएको जानकारी दिइन् ।
सभामुख अग्निप्रसाद सापकाेटाले कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बोलाएका छन् । देउवालाई विश्वासका मतका लागि प्रतिनिधिसभामा तत्काल कायम रहेको २ सय ७१ सांसदमध्ये १ सय ३६ जनाको समर्थन चाहिन्छ ।
कांग्रेस र माओवादीसँग १ सय १० सांसद छन् । जसपाको उपेन्द्र यादव पक्षका १२ जनाले देउवाको पक्षमा हस्ताक्षर गरेका थिए । अहिले यो संख्या बढेर १७ पुगेको यादव पक्षले जनाएको छ । त्यसो हुँदा प्रस्तावको पक्षमा १२७ सांसद हुन्छन् ।
राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल गठबन्धनमै छन् । त्यो अवस्थामा एमालेको माधव नेपाल पक्षका ८ जना सांसदले विश्वासको मत दिए देउवाको सरकार जोगिन्छ । एमाले एकता प्रक्रिया सफल भएमा माधव पक्षको भोट नआउने भएकाले पनि प्रधानमन्त्रीले चलाखी गरेको हुनसक्ने अनुमान गरिएको छ ।
माधव नेपाल पक्षका २३ जना सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थिए । सर्वोच्च अदालतले प्रतिनिधि सभालाई पुनःस्थापना गरेपछि पहिलो बैठक आज अपरान्ह ४ बजे बस्दैछ ।
संसद सचिवालय स्रोतका अनुसार आजको बैठक दुई चरणमा बस्नेछ । पहिलो चरणको कार्यसूची सम्पन्न भएपछि दोस्रो चरणमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने गरी तयारी गरिएको छ ।
सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
बालुवाटार स्राेतका अनुसार विश्वासको मत लिने प्रस्ताव कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कार्यव्यवस्था समितिको बैठकमा लिएर जाँदैछन् । बैठकले प्रस्तावलाई बैठकमा टेबुल गर्ने निर्णय गरे आज नै प्रधानमन्त्री देउवाले विश्वासको मत लिनेछन् । केही बेरमा कार्यव्यवस्था समितिको बैठक बस्दैछ ।
देउवाले प्रधानमन्त्रीमा नियुक्त भएको हप्तादिन भित्रै विस्वासको मत लिने तयारी गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रतिकृया दिनुहोस्