गण्डकीका ‘सभामुखको राजीनामा माग्ने समय आयो’ : प्रदेश प्रमुख पौडेल
वैशाख २२, पोखरा । गण्डकी प्रदेशकी नवनियुक्त प्रदेश प्रमुख सीता पौडेलले सभामुख नेत्रनाथ अधिकारीको राजीनामा माग्नुपर्ने समय आएको बताएकी छन् ।
प्रदेशसभाले निरन्तरता पाउन नसक्नुको कारण सभामुख भएकाले सबै जिम्मेवारी उनैले लिनुपर्ने बताइन् । ‘कम्तीमा पनि मिलाउनुपर्यो । अहिलेलाई बैठक स्थगित गरौँ भनेर सल्लाह गरेको भए यो परिस्थिति आउने थिएन होला नि,’ पौडेलले बुधबार पदभारपछि पत्रकारहरूसँग भनिन्, ‘सभामुखको राजीनामा माग्ने घडी त आइसक्यो त । जिम्मेवारी सबै सभामुखले लिनुपर्छ । कसरी निकास दिने हो, त्यो सभामुखले नै ल्याउनुपर्यो ।’
सभामुखले कसैलाई जानकारी नदिई संसद् स्थगित गर्नुको कारणबारे पनि उनले प्रश्न गरिन् । ‘सरकारलाई थाहा नदिईकन के त्यस्तो घडी पर्यो कि सभामुखले अनिश्चितकालका लागि सूचना जारी गरेर लथालिङ्ग पार्ने काम गर्नुभयो ?,’ उनले सभामुखको कदमबारे प्रश्न गरिन् ।
एमाले नेतृ प्रदेश प्रमुख पौडेलले सत्तारुढ दलकै भाषा बोलेकी हुन् । सभामुखले ठूलो दलसँग छलफल नै नगरी बैठक स्थगित गरेको भन्दै एमालेका सांसदले राजीनामा माग्दै आएका छन् । सभामुख अधिकारीले भने निर्णायक सांसद ‘हराउनु’ संवेदनशील भएकाले आफूले उक्त कदम चालेको प्रतिक्रिया दिएका छन् ।
मुख्यमन्त्रीविरुद्ध संसदमा पेस अविश्वास प्रस्तावमाथि मतदान हुने दिन १५ वैशाखमै सांसद शाही सम्पर्कविहीन भएका थिए । सांसद शाही सम्पर्कविहीन भएपछि जनमोर्चा सचेतक पियारी थापाले अवस्था सार्वजनिक नहुँदासम्म संसद् रोक्न माग गरेकी थिइन् । त्यसपछि सभामुख नेत्रनाथ अधिकारीले संसद् स्थगित गरेका थिए ।
स्थगित संसद् कहिले बस्छ भन्ने टुंगो लागेको छैन । कार्यव्यवस्था परामर्श समिति र सर्वदलीय बैठकमा पनि यो विषयमा सहमति नजुट्दा अविश्वासमाथिको मतदान अनिश्चित बनेको छ ।
शिलापत्र बाट सभार ।
प्रतिकृया दिनुहोस्