प्रचण्ड – माधव र उपेन्द्र आकस्मिक छलफलमा, यी ३ बिषयमा बनाउदैछन् रणनीति
वैशाख २२, काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष उपेन्द्र यादवको हात्तीवनस्थित निवासमा यादवसहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल छलफलका लागि जुटेको बताइएको छ ।
तिन नेताले ३ बिषयमा रणनीति बनाउने छन । पहिलो – ओलीलाई अल्पमतमा पार्न एमालेका कति सांसदले राजीनामा दिने, दोस्रो – जसपाका कति सांसदलाई बाबुराम-उपेन्द्रको पक्षमा राख्न सकिन्छ भन्नेबारे र तेस्रो – जसपाको महन्थ ठाकुर पक्षलाई पार्टी र संसदीय दल दुवैतिर अल्पमतमा पार्ने ।
तीन नेताबीच एमाले र जसपाको आन्तरिक समीकरणकै विषयमा केन्द्रित रहेर छलफल भएको यादवनिकट स्रोतले बताएको छ । एमालेका कति सांसदले राजीनामा दिने र जसपाका कति सांसदलाई बाबुराम-उपेन्द्रको पक्षमा राख्न सकिन्छ भन्ने विषय केन्द्रित छलफल भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा विश्वासको मत लिनबाट असफल बनाउने र उनकै नेतृत्वमा चुनाव हुने संख्या नपुग्नेगरि राजिनामाको विषय छलफलमा रहेको छ । त्यस्तै जसपाको महन्थ ठाकुर पक्षलाई पार्टी र संसदीय दल दुवैतिर अल्पमतमा पार्ने उपायबारे समेत छलफल भएको छ ।
यसअघि हिजो साँझ महाराजगञ्जस्थित प्रमोद राणाको घरमा यी तीन नेता र कांग्रेस सभापति शेरबहादुर देउवाले छलफल गरेका थिए ।
प्रधानमन्त्रीले वैशाख २७ गते विश्वासको मत लिन संसद बैठक तय भएपछि त्यसलाई असफल बनाउन ओलीइतरका नेताहरूले भेटघाट र छलफललाई तीव्र बनाएका छन् । विपक्षी गठबन्धनका तीन शीर्ष नेताबीच अहिले छलफल जारी छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिने भएपछि सबैको ध्यान यति बेला संसद्को अंकगणितमा केन्द्रित भएको छ। प्रधानमन्त्री ओलीले विश्वासको मत लिन सांसदको कुल संख्याको बहुमत अर्थात् १ सय ३६ मत प्राप्त गर्नुपर्छ। माओवादी केन्द्रका चार सांसदको पद खारेज भएपछि २ सय ७५ सदस्यीय संसद्मा हाल २ सय ७१ सदस्य छन्।
संसद्मा एमालेको १२१ मत छ। ती सबै मत प्रधानमन्त्री ओलीले पाए पनि विश्वासको मत पुर्याउन थप १५ जनाको समर्थन चाहिन्छ। यसका लागि उनले अन्य दलबाट सहयोग पाउनुपर्छ। कुनै बेला झन्डै दुईतिहाइ बहुमतनजिक रहेका ओलीलाई अहिले विश्वासको मत जुटाउन चुनौतीपूर्ण देखिएको छ।
प्रतिकृया दिनुहोस्